newskoseli.Com

सरकार नढाल, खुनको बदला गुन तिर प्रचण्ड !

एमाले नेतृत्वको सरकार ढल्न नदेऊ है प्रचण्ड ! किनकि यो त्यही एमाले हो, जसले विश्वासघात गरेर तिम्रै नेतृत्वको ९ महिने कलिलो सरकार ढालेको थियो । अब खुनको बदला गुनले दिनुपर्छ तिमीले ।

रुक्मांगद कटवाललाई ‘कारबाही’ गर्ने सुझाव दिएर चाइना जाने तिनै झलनाथ खनाल हुन्, जसले त्यही ‘कारबाही’ लाई निहुँ बनाएर माओवादीको प्रथम सरकार अल्पायुमै ढालेका थिए । यो पनि त्यही माओवादी हो, जसले तिनै झलनाथलाई समर्थन गरेर प्रधानमन्त्री बनाएको थियो ।

उनीहरुले पो बिर्सिए होलान्, हामीले बिर्सिएका छैनौं । गुन भनेको कुन चराको नाम हो, एमालेहरुलाई के थाहा ?!

माधवकुमार नेपालले दुई–दुई ठाउँबाट चुनाव हार्दा पनि उनीविना संविधान निर्माण कार्यमा असर पर्छ भनेर उनलाई संविधानसभामा ल्याउन माओवादीले के–कस्तो भूमिका खेल्यो ? यो कुरा त एमालेका मित्रहरुले बिर्सिए होलान् । केही छैन । तर, माओवादीको त्यही लचकताले गर्दा पछि माधव नेपाल प्रधानमन्त्री भएको कुरा चाहिँ हामीलाई याद छ।

बहुत लामो इतिहास छ हजुर, बहुत लामो इतिहास छ । यी माधव नेपाल पनि तिनै हुन्, जसले प्रचण्डको ढाडमा चढेर प्रधानमन्त्री भइसक्दा पनि ‘जालझेलको अर्को नाम प्रचण्ड’ भनेर माओवादी र प्रचण्डले आफूलाई लगाएको गुन बिर्सिएका थिए । हुन त एमालेलाई गुन लगाउनु र बालुवामा पानी खन्याउनु उस्तै हो, तैपनि राष्ट्रिय हितका लागि त्यही बालुवामा पानी खन्याइराख है प्रचण्ड ।

हुन त केपी ओलीको हाईहाई गर्नेहरुले यो पनि बिर्से होलान् कि केपी ओली प्रचण्डको बुर्इ चढेर प्रधानमन्त्री भएका हुन् । प्रचण्डले साथ छाडे यो सरकार ढल्न कसैले ‘फु…’ गरिराख्नु पर्दैन । तर, प्रचण्ड कमरेड ! त्यसो नगर है । अहिले देशलाई सामाजिक न्यायमा उभिएको विकास चाहिएको छ । विकासका लागि राजनीतिक स्थिरता चाहिएको छ । त्यसैले यो सरकार ढल्न नदेऊ है प्रचण्ड ।

उता केपी ओली, ‘अझै मेरो काँध थाकेको छैन’ भन्दैछ्न् । तर, काँध त ओलीलाई बोक्नेको पो थाक्छ त, किन थाक्नु ओलीकै ? एमाले नेतृत्वको यो सरकार टिकाइदेऊ है प्रचण्ड ।

हुन त एमालेले माओवादीलाई सहयोग गरेको इतिहास नै भेट्न गाह्रो छ । तर, राष्ट्रिय स्वार्थका लागि पत्थरले हान्नेहरुलाई पनि फूलको बिछ्यौनामा सुताउन पछि पर्न हुँदैन । उदाहरण हो यो ।

(फेरि प्रचण्डको गुणगान गायो भन्नुहोला । तर, भारत र चीनबीचको शक्ति सन्तुलनमा आउँछ कि भनेर यो सरकारको मुख्य मेरुदण्डलाई सम्बोधन गर्दै यी पंक्ति कोरेको हुँ ।)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर