newskoseli.Com

के हुँदैछ वैद्य माओवादीको राष्ट्रिय भेलामा ?

महासचिव रामबहादुर थापासहित पार्टीको ठूलो हिस्सा अलग्गिएर एकता प्रक्रियामा गएपछि बाँकी नेता–कार्यकर्तालाई सम्हाल्दै पार्टीलाई सुदृढ बनाउन अध्यक्ष मोहन वैद्यले राजधानीमा पार्टीको राष्ट्रिय भेला आह्वान गरेका छन् ।

सोमबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा अध्यक्ष मोहन वैद्यले भेलाको उद्घाटन गर्ने जानकारी सो पार्टीका केन्द्रीय सदस्य कुमार शाहले न्युजकोसेलीलाई दिएका छन् । उनका अनुसार मंगलबार र बुधबार पुरानो बानेश्वरस्थित ॐ साई पार्टी प्यालेसमा बन्दसत्र हुनेछ ।

नेता शाहका अनुसार उद्घाटन शत्रमा आतिथ्यका निम्ति कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, मसाल महामन्त्री मोहनविक्रम सिंहलगायत सबैजसो राजनीतिक पार्टीका प्रमुख नेताहरुलाई आमन्त्रण गरिएको छ ।

‘हामीलाई पार्टीभित्र रुपान्तरण चाहिएको छ । सुस्पष्ट क्रान्तिकारी कार्यदिशा, कार्यनीति र कार्यक्रम विकास गर्नुपरेको छ । गतिशील नेतृत्व, व्यवस्थित, सुदृढ र अनुशासित संगठन निर्माण गर्नुपरेको छ । राष्ट्रिय भेलाको सार्थकता यसैमा छ’–आफ्नो पार्टीको राष्ट्रिय भेलाप्रतिको अपेक्षा प्रकट गर्दै वैद्य माओवादीका युवानेता सुरेश गौतमले सामाजिक सञ्जालमा लेखेका छन् ।

‘जनयुद्धको जगमा जनविद्रोह’ भन्ने अमूर्त र अव्यावहारिक कार्यदिशा अँगाल्दै आएको वैद्य माओवादीको राष्ट्रिय भेलाले त्यसैलाई केही परिमार्जन गरेर संक्रमणकालीन कार्यनीति तय गर्ने एक शीर्षस्थ नेताले बताएका छन् । उनका अनुसार केही अगुवा कार्यकर्तालाई केन्द्रमा थप गरिनेछ भने तिथिमिति नतोकीकनै र केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समिति नभनीकनै एक वर्षभित्र महाधिवेशन आयोजना गर्नेगरी अध्यक्ष वैद्यले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दैछन् ।

भेला मूलतः महासचिव थापाहरुको बहिर्गमनपछिको परिस्थितिबारे कार्यकर्तालाई प्रशिक्षण दिने, देशभर पैदा भएको निराशाजनक स्थितिलाई चिर्दै नेता–कार्यकर्तामा नयाँ उत्साह पैदा गर्ने अनि पदाधिकारीसहित केन्द्रीय समितिमा रिक्त हुन गएका स्थानहरुको पूर्ति गर्ने कुरामा केन्द्रित रहने अर्का एक नेताले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर