अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौँ ल्याइएको छ ।
दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
विमानस्थलमा मृतकका परिवार र आफन्तजनको घुइँचो लागेको थियो ।
शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई शव बुझाइने गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ ।
सो आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ ।