newskoseli.Com

‘न घरमा भएको अन्न सुखले खान पाइन्छ न त आननदले सुत्न’

चारैतिर नदीले घेरिएको कैलाली जिल्ला वर्षेनि आउने बाढी तथा डुबानका कारण आक्रान्त छ । वर्षायाम आयो कि यहाँका जनताहरुको दुःखका दिन सुरु हुन्छन् ।

न घरमा भएको अन्न सुखले खान पाउँछन् न त आननदले सुत्न नै । वर्षायामका ४ महिना जेठ, असार, साउन र भदौमा जिल्लाका कर्णाली, मोहना, कान्द्रा, काँडा, गोदावरी, खुटिया, मछेली, मनहरा र कटेनीलगायतका नदीमा जति खहरे बग्छ, त्योभन्दा बढी यहाँका जनताहरुको आँसु बगिरहेको छ ।

उर्बर जमिन बगाएर नदीले वर्षेनि दिने पीडा त छँदैछ, वस्ती नै डुबान हुनेगरी आउने बाढीका कारण यहाँका जनताको पीडा अझ बढी भयावह छ । ‘नदीले जमिन, घर, ज्यान मात्रै कहाँ बगाउने हो र’ लालबोझीका देशराज चौधरी भन्छन्–‘वस्तीमा छोडेर जाने दुर्गन्छ र फोहोरले बचेका ज्यानलाई पनि ज्युँदै मारिरहेको छ ।’

‘वस्ती डुबानमा पर्छ, घरभित्रको खाद्यान्न, लुगाकपडा सके लिएर जान्छ, नसके भिजाएर छोड्छ’ उदासीपुर– ६ निवासी पार्वती ढुंगाना भन्छिन्–‘शौचालयमा पानी पसेर न व्यवस्थित दिशापिसाब न त धारा डुबेर स्वच्छ पानी पिउँन मिल्छ ।’ उनले अव्यवस्थित दिशापिसाब र ढल मिसिएको पानी पिउनाले विभिन्न रोगको सिकार हुनुपरेको गुनासो गरिन् ।

भजनी– ३ कि जोगादेवी कुँवरले पनि आफ्नाे क्षेत्रका धेरै जनताले समेत निकै दुःख भोगेको बताइन् । ‘धैरैका माटोले बनेका घर छन्, आँगनमा भएका संरचनाहरु दुई फिट पनि अग्ला छैनन्’ कुवँरले भनिन्–‘यिनै संरचनाले पुस्तौं धानियो तर अहिले भने डुबानमा पर्छन्, कसरी अनुकूलित हुने ? समस्या देखिएको छ ।’

भजनी, लालबोझी र उदासीपुरमा मात्रै होइन, जिल्लाका अधिकांश वस्तीमा जनताले यस्तै समस्या भोग्नुपरेको छ । पवेरा गाविसका सचिव बलराम चौधरीले ३–४ फिटसम्म आउने पानीलाई सामना गर्ने संरचना नभएका कारण जिल्लामा यस्तो समस्या देखिएको बताए ।

‘पहिले यी संरचनाहरु काम लागेकै थिए’ चौधरीको भनाइ छ–‘तर, समय बदलियो, प्रकोपको आकार र शैली बदलियो तर संरचना पहिलेकै भएकाले जोखिम बहन गर्न नसकिएको हो ।’

कर्णाली नदी छेउको टिकापुर नगरपालिका, धनसिंहपुर र नारायणपुर गाविसमा त परम्परागत संरचनाका कारण अझ बढि पीडा छ । ‘नेपालकै लामो नदी कर्णालीको बाढीले यहाँका अधिकांश वस्ती डुबानमा पर्छन्’ धनसिंहपुरका रतन टमटाले भने–‘डुबानका कारण न स्वच्छ पानी खान पाइन्छ न शौचालयमा दिशापिसाब, ढल पसेर हैरान बनाउँछ ।’

समस्या जिल्लाभरि छ तर वर्षौंदेखि भोगिरहनुपरेका समस्या समाधानका लागि पहल हुन सकेको छैन । जिल्ला विकास समिति कैलालीका कार्यक्रम अधिकृत योगेन्द्र ओझा भने व्यक्तिगत वा संस्थागत रुपमा भए पनि अनुकूलनका उपाय अवलम्बन गर्नुको विकल्प नभएको बताउँछन् ।

ओझाले पछिल्लो समय नमूनाका रुपमा भए पनि जिल्लाका २ नगरपालिका र ६ गाविसमा बाढी तथा डुबानको जोखिम आँकलन गरेर उच्च शौचालय र उच्च धारा निर्माण गर्न सुरु गरिएको जानकारी दिए । ‘अनुकूलनको उपाय सिकाउन उच्च संकटासन्न वस्तीमा एक–एकवटा उच्च शौचालय र धारा निर्माण गरेका छौं’ ओझाले भने–‘त्यसको सिको अरुले पनि गर्न सके जोखिमको सामना गर्न सकिन्छ ।’

स्थानीय अनुकूलन कार्ययोजना लापा कार्यान्वयन भइरहेका क्षेत्रहरुमा यस्तो अभ्यास आर्थिक वर्ष २०७०–७१ बाटै सुरु गरिसकेको ओझाले जानकारी दिए । गएको आर्थिक वर्षमा मात्रै जिल्लामा १२ वटा उच्च धारा र १३ वटा उच्च शौचालय निर्माण भएको जिविसका जलवायु परिवर्तन अधिकृत सन्तोष खनालले जनाएका छन् ।

आर्थिक वर्ष २०७०–७१ देखि हालसम्म ३९ वटा उच्च धारा र २९ वटा उच्च शौचालय निर्माण गरिसकेको खनालको भनाइ छ । उनले धारा तथा शौचालय निर्माणपछि डुबान तथा बाढीमा असुरक्षित रुपमा पानी पिउँने र दिशापिसाब गर्ने समस्या समाधान भएको बताए ।

भजनीका लापा सहजकर्ता प्रतीक्षा आचार्यले ५ फिटभन्दा उच्च संरचना बनाइएकाले डुबानको समस्या सामना गर्न केही सघाउ पुगेको धारणा राखिन् । उच्च शौचालय र धारा प्रयोगकर्ता उदासीपुरका ५५ वर्षिय गगनलाल चौधरीले बाढीमा पनि स्वच्छ पानी र सफा शौचालय प्रयोग गर्न पाइएला भनेर सोच्दै नसोचेको भन्दै आर्थिक वर्ष २०७१–७२ मा आफूले नसोचेको काम भएको बताए । उनले डुबानका बेला जथाभावी गरिने दिसापिसाब र ढल मिसिएको पानी पिउनाले लाग्ने रोग र चिन्ताबाट मुक्ति मिलको भन्दै खुशी व्यक्त गरे ।

उदासीपुर निवासी उपभोक्ता सुनीतादेवी चौधरीले डुबानबाट सबैभन्दा बढी समस्या बालबालिका र महिलालाई हुने गरेको स्मरण गर्दै अहिले उच्च संरचनाबाट सबैभन्दा बढी आफूहरु लाभान्वित भएको उल्लेख गरिन् । वातावरण संरक्षणकर्मी तथा सामुदायिक वन उपभोक्ता महासंघ कैलालीका अध्यक्ष तुल्सी देवकोटाले जोखिममा अनुकूलन हुन सक्ने संरचना निर्माणका लागि स्थानीय अनुकूलन कार्ययोजनाबाट ठूलो सिकाइ भएको धारणा राखिन् ।

उनले सरकार वा संघसंस्थाले गरिदेला भनेर पर्खनुभन्दा समुदाय मिलेर भए पनि जिल्लाका अन्य क्षेत्रमा पनि जोखिममा समानुकूलन हुने संरचना निर्माण गर्न अपरिहार्य भएको बताइन् ।

कार्यक्रमका प्राविधिक नवीन पनेरुका अनुसार उच्च शौचालय डेढ लाख र धारा १ लाखको लागतमा निर्माण गर्न सकिन्छ । उनले समुदाय जागरुक भएमा कैलालीको डुबान हुने सबै क्षेत्रमा यसको निर्माण तथा प्रयोगबाट लाभ लिन सकिने बताए । अहिले जलवायु परिवर्तन र त्यसले निम्त्याएका असरहरु विकास तथा सहज जीवनयापनका लागि सबैभन्दा समस्याका रुपमा देखिएका छन् ।

उल्लेखित अनुकूलनका उपायजस्तै अन्य उपाय अवलम्बन गर्न सरकारी तथा गैरसरकारी संस्थाहरुले सहयोग तथा सहुलियत प्रदान गर्न सके डुबानका बेला हुने जोखिम कम गर्न सकिने जानकारहरु बताउँछन् । यस्ता असल अभ्यासहरुको सिको अन्य क्षेत्रका जनताले समेत गर्नु जरुरी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर