सन् १८९१ मा इटालीको सार्डिनियामा जन्मेका हुन् एन्टोनियो ग्राम्सी । उनको बाल्यकालदेखि पूरा जीवन नै असाध्यै दयनीय किसिमले बित्यो ।
उनी तीन वर्षको उमेरमै मेरुदण्डसम्बन्धी रोगबाट पीडित भए । उक्त रोगको उपचारका क्रममा ग्राम्सीलाई काम्रो बाँधेर घरको छतस्थित सिलिङमा झुन्ड्याइन्थ्यो । उनी बाल्यकालमा यो हदसम्म बिरामी परिरहन्थे कि चिकित्सकले त उनी बाँच्छन् भन्ने आशा नै मारिसकेका थिए ।
उनकी आमाले समेत आफ्नो कोठामा एउटा कफन र एक जोर नयाँ लुगा ठीक पारेर राखेकी हुन्थिन् । उनको ढाड र छाती दुवैतिर कुम्लो निस्केको थियो । लगातारको उपचारका कारण ग्राम्सीको शरीर नै विकृत बनिसकेको थियो ।
ग्राम्सी जम्माजम्मी ४ फिट १० इञ्च उचाइका थिए । उनका बुबा फ्रान्सीको ग्राम्सी मध्यम तहका सरकारी कर्मचारी थिए । फ्रान्सीको राजनीतिक प्रतिशोधको शिकार बने र भ्रष्टाचारको आरोपमा साढे पाँच वर्ष जेल परे । यो घटनाले ग्राम्सी परिवारलाई आर्थिक रूपमा तहसनहस पारिदियो । पढाइमा अत्यन्त तेज हुँदाहुँदै पनि उनले एघार वर्षको उमेरमै स्कुल छाडेर काममा लाग्नुपर्याे ।
चरम शारीरिक दुर्बलताका बावजुद एन्टोनियो ग्राम्सी सरकारी पञ्जीकरण कार्यालयमा दैनिक दस घन्टासम्म काममा जोतिए । आफ्नो तौलभन्दा गह्रुँगा फाइल र रजिस्टरहरु बोकेर यताउता गरिरहे । करिव दुई वर्ष काम गरेपछि उनी फेरि स्कुलमा फर्के र माध्यमिक शिक्षा पूरा गरे ।
आफूले बाल्यकालदेखि नै भोग्नुपरेको शारीरिक अस्वस्थता, दुर्बलता, शारीरिक कुरुपपन र आर्थिक अभावका कारण ग्राम्सीमा निकै गहिरो मनोवैज्ञानिक प्रभाव पर्याे । उनमा समाजबाट अलग भएर बस्ने र अन्तर्मुखी स्वभाव विकसित भयो । उनमा यो प्रवृत्ति जीवनभर पटक–पटक देखा परिरह्यो ।
माध्यमिक शिक्षापछि ग्राम्सीले इटालीको ठूलो औद्योगिक सहर टुरिनस्थित ‘टुरिन विश्वविद्यालय’ मा छात्रवृत्ति पाए र त्यहीं अध्ययन गर्न थाले । तर, त्यसपछि पनि उनलाई आर्थिक अभाव र शारीरिक दुर्बलताले सताइरह्यो । उनले हात–मुख जोड्ने समस्याको समाधान र छात्रवृत्ति कायम राख्न हासिल गर्नुपर्ने शैक्षिक सफलताको दोहोरो बोझको भार थेगिरहे ।
चर्को समस्याका बावजुद उनले भाषाशास्त्र, साहित्य, दर्शनशास्त्र र कानुनको गहन अध्ययन गरे । यद्यपि आर्थिक, शारीरिक र मनोवैज्ञानिक समस्याकै कारण डिग्रीको अध्ययन भने अधुरै छाड्न उनी बाध्य भए ।
विश्वविद्यालय अध्ययनकै बेला ग्राम्सी समाजवादी पार्टीमा लागेका थिए । पढाइ छाडेपछि उनी पूर्णरूपमा राजनीति र पत्रकारितामा समर्पित भए । १९२१ मा स्थापित इटालियन कम्युनिस्ट पार्टीका संस्थापक सदस्यमध्ये ग्राम्सी पनि एक हुन् । इटालियन कम्युनिस्ट पार्टीको प्रतिनिधिका रूपमा ग्राम्सी १९२२ मा रुस पुगे । त्यहीं रुसी महिला जुलिया अप्लोनोवसँग उनको विवाह भयो । उनका दुई छोरा जन्मिए तर कान्छा छोरालाई भने ग्राम्सीले देख्न पनि पाएनन् ।
ग्राम्सी रुसबाट फर्केलगत्तै इटालियन कम्युनिस्ट पार्टीको प्रमुख बने । त्यसबेलासम्म इटालीमा मुसोलिनी फासीवादको जगजगी सुरु भैसकेको थियो । मुसोलिनी सत्ताले ग्राम्सीलाई गिरफ्तार गर्याे । अदालतमा सरकारी पक्षले जिकिर गर्याे– ‘ग्राम्सीको दिमागलाई बीस वर्षसम्म काम गर्नबाट रोक्नुपर्छ ।’
सुरुमा अदालतले ग्राम्सीलाई पाँचवर्षै जेल सजाय तोक्यो र अर्को वर्ष त्यसलाई बढाएर बीस वर्ष पुर्याइदियो । तैपनि मुसोलिनी फासिवादले ग्राम्सीको दिमागलाई काम गर्नबाटै रोक्न भने सकेन । ग्राम्सीले जेलजीवनका एघार वर्षबीच तेत्तीसवटा नोटबुक भरेर तीन हजारजति पेजमा आफ्ना विचारहरू लेखे, जो ‘प्रिजन नोटबुक’ का नामले विश्वभर प्रख्यात छ ।
उनले त्यसबाहेक पाँच सय वटाजति व्यक्तिगत पत्रहरू पनि लेखे । ग्राम्सीका लेखन र चिन्तन मूलतः क्रान्तिको स्वरूप, राज्य र नागरिक समाजको सम्बन्ध तथा सांस्कृतिक आधिपत्य र बुद्धिजीवीको भूमिकाका बारेमा केन्द्रित छन् ।
ग्राम्सी भन्ने गर्थे– ‘शासकवर्गले बलप्रयोगद्वारा मात्र होइन, शासितवर्गको ‘सहमति’ समेत लिएर शासन गर्छन् ।’ उनको विचारमा ‘समाजमा वर्चस्वको लडाइँ सधैं नै चलिरहन्छ ।’ उनको विचारमा शासकवर्गको वर्चस्व तोडने दुईवटा उपाय छन्– एउटा, चालको युद्ध र अर्को, स्थितिको युद्ध ।
ग्राम्सीको जेलजीवन अत्यन्त्यै कष्टकर थियो । जेलजीवनकै क्रममा उनका सबै दाँत झरे र पाचन प्रणालीले समेत काम गर्न छाड्यो । जेलभित्र उनी रगत बान्ता गर्थे, त्यतिबेला उनलाई यति चर्कोसँग टाउको दुख्थ्यो कि त्यो खप्न नसकेपछि उनी आफ्नो टाउको भित्तामा ठोक्काउँथे । ग्राम्सीकी श्रीमतीको अथक पहल र अन्तर्राष्ट्रिय अभियानको फलस्वरूप पक्राउ गरिएको आठ वर्षपछि उपचारका निम्ति उनलाई अस्पताल (जेलबाहिर) लगियो ।
उनको स्वास्थ्य धेरै नै बिग्रिसकेको थियो त्यसैले त्यसको दुई वर्षपछि थप उपचारका लागि इटालीबाट रोम लगियो । तैपनि उनी धेरै बाँच्न सकेनन् । ४७ वर्षको उमेरमा, २१ अप्रिल, १९३७ मा उनको निधन भयो । निधनको छ दिनपछि मात्र ग्राम्सीको काराबास अवधि समाप्त हुँदै थियो ।
ग्राम्सीको निधन भएको केही दशकपछि मात्र उनका ‘प्रिजन नोटबुक’ हरू बाहिर आए र इटालियन भाषाबाट अरु भाषामा अनुदित हुनथाले । त्यसपछि बल्ल उनको व्यक्तित्व उजेलिँदै र चर्चा चुलिँदै गयो । अचेल ग्राम्सीलाई मार्क्सवादी दर्शनका क्षेत्रमा मार्क्सपछिकै सर्वाधिक महत्त्वपूर्ण चिन्तक मानिन्छ । (लेखककाे सामाजिक सञ्जालबाट)