newskoseli.Com

यसकारण बढ्दैछ चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या

नेपालले अन्तर्राष्ट्रिय रुपमा प्रतिबद्धता जनाएअनुरुप चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भइरहेको छ । यहाँको उपयुक्त वासस्थान र चोरी सिकारी नियन्त्रण अभियान प्रभावकारी भएसँगै बाघको सङ्ख्यामा वृद्धि हुँदै गएको विज्ञहरुको भनाइ छ ।

सन् २०१० मा रसियाको सेन्ट पिटर्सवर्गमा भएको अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सन् २०२२ सम्ममा विश्वमा बाघको सङ्ख्या दोब्बर बनाउने बाघ पाइने राष्ट्रहरुले प्रतिबद्धता जनाएका थिए । त्यसैअनुरुप नेपालले पनि बाघको सङ्ख्या दोब्बर पार्ने प्रतिबद्धता जनाएको थियो ।

नेपालमा त्यतिबेलासम्मको तथ्याङ्कअनुसार १ सय २५ को हाराहारीमा बाघ रहेका थिए । विश्वमा ७० वर्षअघि १ लाखको हाराहारीमा रहेका बाघ सन् २०१० सम्म आइपुग्दा ३ हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको हो ।

बाघको सङ्ख्या नेपालमा सन् २०१३ मा आइपुग्दा १ सय ९८ पुगेको थियो । जसमध्ये सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्जमा ५०, बाँके राष्ट्रिय निकुञ्जमा ४, पर्सा वन्यजन्तु आरक्षमा ७ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा १७ बाघ रहेका थिए । त्यसपछिको ३ वर्षमा निकुञ्जले गरेकाे अनुगमनका क्रममा बाघको सङ्ख्या बढेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्जलाई विशिष्ट वासस्थानका रुपमा लिइन्छ । कँडेलले भने– “सबै खालको वातावरण भएको भू–भाग निकुञ्जमा छ । बाघका आहारा मुख्य रुपमा ठूला जनावर चित्तल, जरायो, गौरीगाई, नीलगाईलगायत हुन् ।” कँडेलका अनुसार भोकाएको बाघले करिब २२ पटकसम्मको प्रयासपछि जनावरको सिकार गर्ने गर्दछ, जसका कारण सानो जनावरले बाघलाई आहार पुग्दैन ।

कँडेलले भने– “८८ किलोसम्म बाघले एकै पटक खान्छ र ७ देखि १० दिनसम्म आराम गर्दछ ।” जसका लागि निकुञ्जमा प्रशस्त ठूला जनावर रहेका छन् । ३० हजार हाराहारी चित्तल, १० हजार हाराहारी जरायो, ३ सय ६८ वटा गौरीगाई, १ सय हाराहारी नीलगाई रहेको बताउँदै कँडेलले बाघका लागि पर्याप्त आहार निकुञ्जमा रहेको बताए ।

निकुञ्जमा रहेका प्रशस्त पानीका स्रोत बाघ र उसको आहारका लागि उपयुक्त छ । निकुञ्ज हुँदै बग्ने नदी, खोला, तालतलैया, सिमसार क्षेत्रसँगै १० हजार हेक्टर घाँसे मैदान बाघ र बाघका आहाराका लागि उपयुक्त बन्दै गएको उनले बताए ।

नदीतटीय वन, जहाँ बाघले गर्मीमा शीतलता पाउँछ भने जाडोमा न्यानोका लागि निकुञ्जका प्रशस्त झाडी बाघले उपयोग गर्छ । चुरे पहाडदेखि समथर तराई हुँदै नदीका तटीय क्षेत्र बाघका लागि उपयुक्त वासस्थान हुन् ।

चितवन राष्ट्रिय निकुञ्जमा प्रशस्त पानीसँगै पहारिलो घाम लाग्ने घाँसे मैदान छन् । एउटा भाले बाघका लागि १० देखि १२ वर्गकिलोमिटर क्षेत्रफल चाहिन्छ । १ क्षेत्रमा एउटा मात्रै भाले बाघ बस्ने गर्छ । चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९ सय ३२ वर्गकिलोमिटर रहेको छ भने आसपासका मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७ सय ५० वर्गकिलोमिटर रहेको छ । निकुञ्जमा मात्रै ७७ वटाभन्दा बढी भाले बाघ बस्न पुग्ने वासस्थान छ ।

चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत शिवराज भट्ट चितवन राष्ट्रिय निकुञ्ज बाघका लागि उपयुक्त वासस्थान भएको बताउँछन् । निकुञ्जसँगै जोडिएका भारतको वाल्मीकि टाइगर रिजर्भ सेन्टर र पर्सा वन्यजन्तु आरक्ष पनि बाघका लागि निकै उर्वर भूमि भएकाले यसको बीचमा रहेको चितवन राष्ट्रिय निकुञ्जले बाघको सङ्ख्या बढाउन र संरक्षणमा नयाँ रणनीतिका साथ जुट्नुपर्ने उनको सुझाव छ ।

चोरी सिकारी नियन्त्रण अभियानलाई निरन्तरता दिँदै मानव र बाघबीचको द्वन्द्व घटाउन सके बाघको सङ्ख्या अरु बढेर जाने भट्टको भनाइ छ ।

बाघको वासस्थान सङ्कुचन, वनको खण्डीकरण, चोरी सिकार, अवैध व्यापार, संस्थागत संरचनाको कमी, दक्ष जनशक्तिको अभाव, वैज्ञानिक खोज र अनुसन्धानको कमी, प्रभावकारी अनुगमनको कमी र अन्तरसीमासम्बन्धी समस्या पछिल्लो समय बाघ संरक्षणका चुनौतीका रुपमा देखिएका छन् ।

नेपालले सन् २०२२ सम्ममा २ सय ५० बाघ पुर्याउने प्रतिबद्धतासँगै लक्ष्य लिएको छ । जसका लागि चितवन राष्ट्रिय निकुञ्जमा १ सय ४० बाघ पुर्याउन सक्नुपर्ने र अन्य थोरै सङ्ख्या रहेका निकुञ्ज तथा आरक्षमा सङ्ख्या बढाउन सके लक्ष्यअनुरुप बाघको सङ्ख्या पुर्याउन कठिन नहुने विश्व वन्यजन्तु कोषमा कार्यरत पूर्वप्रमुख संरक्षण अधिकृत भट्टको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा रहेका सामुदायिक वनमा पछिल्लो समय गरिएको संरक्षणका कारण पनि बाघको सङ्ख्या वृद्धिमा सहयोग पुगेको विज्ञहरुको भनाइ छ । बाघका लागि देशकै नमुना निकुञ्जका रुपमा विकास हुँदै गएको चितवन राष्ट्रिय निकुञ्जलाई मध्यवर्ती क्षेत्रका बासिन्दाको सहयोग निरन्तर रहेमा बाघको सङ्ख्या बढाउन कुनै कठिनाइ नपर्ने देखिन्छ ।

यस निकुञ्जमा गैंडा, पाटेबाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लङ्गुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी जङ्गली जनावर पाइन्छन् । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गरलगायत सरिसृप तथा उभयचर, बसाइ सरी आएका र रैथाने गरी ५ सय ४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका किरा फट्याङ्ग्राहरू रहेका छन् ।

विसं २०३० मा यो निकुञ्ज स्थापना हुँदा नेपालमा वन क्षेत्र घटेर ३० प्रतिशतमा झरेको थियो । त्यसपछि क्रमशः वन क्षेत्र विस्तार अभियान सुरु भएपछि पुनः क्रमशः वन क्षेत्र बढ्दै गएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर