अफगानिस्तानको दक्षिणी भागमा पर्ने जाबुल प्रान्तमा आइतबार बिहान एक यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर आपसमा ठक्कर खाँदा कम्तीमा ३५ व्यक्तिको मृत्युभएको अधिकारीहरूले बताएका छन् ।
जाबुलका प्रशासक बिस्मिल्लाह अफगानमलले कान्दाहारबाट काबुलतर्फ गइरहेको अवस्थामा यात्रुवाहक बस इन्धन ट्याङ्करसँग ठक्कर खाएको र दुर्घटनामा ३५ व्यक्तिको मृत्युभएको तथा अन्य २० घाइते भएको जानकारी दिए ।
दुर्घटनाका कारण आगो लागेको र महिला तथा बालबालिकासहित धेरै व्यक्तिको शरीर नचिनिने गरी जलेको बताइएको छ।
जाबुलका प्रहरी उपप्रंमुख गुलाम जिलानी फराहीले केही घाइतेलाई प्रान्तीय केन्द्र कलात तथा छिमेकी कान्दाहार प्रान्तका अस्पताल उपचार भइरहेको छ ।
काबुलदेखि कान्दाहारसम्मको राजमार्गका केही भाग लडाकूको बाहुल्य रहेको क्षेत्रमा पनि पर्छन् । यसैले विद्रोहीका क्रियाकलापबाट जोगिन बस चालक असावधान भएरै उच्च गतिमा गाडी चलाउने गर्छन् ।
अफगानिस्तानमा विश्वकै सबैभन्दा डरलाग्दो भनी चिनिएका सडकखण्ड पनि छन् । ती सडकखण्डको अवस्था निकै खराब हुने गर्छ र यहाँ यातायातका नियम पनि पालना गरिन्न ।
यस मुलुकमा सञ्चालनमा आएका धेरै यात्रुवाहक गाडी थोत्रा छन् र यातायात दुर्घटनामा उच्च क्षति हुनु यहाँ सामान्य मानिन्छ ।
मे महिनामा गजनी प्रान्तमा दुई यात्रुवाहक बस तथा एक इन्धन ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा ७३ व्यक्तिको मृत्यु भएको थियो । युद्धग्रस्त मुलुकमा यो सबैभन्दा नराम्रो दुर्घटनामध्ये एक थियो ।
सन् २०१३ को अप्रिलमा दक्षिणी भागमा पर्ने कान्दाहार प्रान्तमा एक बसले पुरानो इन्धन ट्याङ्करलाई ठक्कर दिँदा ४५ व्यक्तिको मृत्युभएको थियो ।
गत नोभेम्बरमा विश्व बैङ्कले अफगानिस्तानको हिन्दकुश हिमाली भाग भएर जाने मार्ग सुधार गर्न २५ करोड अमेरिकी डलर बराबर रकम अनुदान दिने सम्झौतामा हस्ताक्षर गरेको थियो । यो महत्वपूर्ण व्यापार मार्ग पनि हिउँदको समयमा बन्द रहने गर्छ । रासस/एएफपी