newskoseli.Com

भक्तजनको भीडयुक्त स्वर्गद्वारीको वृत्तान्त !

‘जे माग्यो, त्यही प्राप्त हुने’ जनविश्वासका कारण ले स्वर्गद्वारीमा भक्तजनको भीड लाग्ने गरेको छ । खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वासमा र जानी–नजानी गरेका ‘पाप’ पनि नष्ट हुने ‘विश्वास’ का कारण यहाँ आउने गरेका छन् ।

स्वर्गद्वारीमा फागुनदेखि असारसम्म नेपाली भक्तजन तथा वैशाख, साउन र माघमा भारतीय भक्तजनको भीड लाग्ने गरेको छ । नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको निकै घुइँचो लाग्छ । यहाँ ‘स्वर्ग’ जानुअघि पाण्डवहरु आएको विश्वास गरिन्छ । कविशिरोमणि लेखनाथ पौड्यालले पनि यहीं बसेर कविता रचना गरेका थिए ।

मन्दिरका सहायक कोठारी प्रेम न्यौपानेले भने– “नेपाली भक्तजनको तुलनामा भारतीय भक्तजनको धेरै भीड लाग्छ, नेपालीहरु दैनिक धेरै भए १ हजारदेखि १ हजार ५ सयसम्म हुन्छन् तर भारतीय भक्तजन दैनिक १० हजारदेखि १२ हजारसम्म आउँछन् ।”

भारतीय भक्तजन आउने समयमा त्यहाँ थाम्नै नसक्ने गरी पूरै मेला लाग्ने गरेको छ । “बालबच्चा नभएकालाई बालबच्चा, उपयुक्त वरबधु, सम्पत्ति र आफूले चाहेको इच्छा पूरा हुने विश्वासका साथ नेपाली र भारतीय भक्तजन आउने गरेका छन्, उनले थपे । भारतीय भक्तजन प्रत्येकले १ माना चामल, ११ रूपैयाँ र नरिवल लिएर ‘दर्शन’ गर्न आउँछन् ।

स्वर्गद्वारीमा वैशाख शुक्ल पूर्णिमा (स्वर्गद्वारीको स्थापना दिन/बुद्धजयन्ती), दसैंको कोजाग्रत पूर्णिमा, शिवरात्रि, स्वर्गद्वारी प्रभुको जन्मदिन (पुत्रदा एकादशी), मार्गशुक्ल चौथी र लक्ष्मीपूजाका दिन भक्तजनको बढी भीड र विशेष मेला लाग्ने गर्छ ।

स्वर्गद्वारी, ‘महाप्रभु’ ले वि.सं. १९५२ वैशाख शुक्ल पूर्णिमाका दिनदेखि ठूलो हवनकुण्ड आश्रय लिएको स्थान हो । स्वर्गद्वारीमा खासगरी यज्ञशाला, पाठशाला र गौशाला छन् । यहाँ यज्ञशालामा २४ पुजारी, गौशालामा ४ सय गाई र पाठशालामा १ सय विद्यार्थी छन् ।

यी सबैको सम्पूर्ण खर्च मन्दिरले व्यवस्थापन गर्नुपर्ने हुन्छ । स्वर्गद्वारीमा ‘महाप्रभु’ को पालादेखि नै गाई पाल्ने गरिएको र तिनै गाईका सन्तति नै अहिलेका गाई हुन् । खासगरी यज्ञले पूर्णता पाउनका लागि गाई पालिएको हो । यज्ञमा अर्घ्य र पञ्चामृतका लागि गाईको आवश्यकता पर्छ ।

२ हजार १ सय २१ मिटरको उचाइमा रहेको सो मन्दिरको आयस्रोतका रुपमा दाङ देउखुरीमा १ हजार ५० बिघा जग्गा छ तर स्थानीयवासीको अतिक्रमणका कारण प्रभावित भएको छ । “भक्तजनको भेटी र मन्दिरको जग्गा नै मन्दिरको आयस्रोत हो, सरकारले अतिक्रमण भएको जग्गाको संरक्षण गर्ने संयन्त्र बनाइदिए राम्रो हुने थियो” मन्दिरका सहायक कोठारी न्यौपानेले सरकारसँग आग्रह गरे ।

मन्दिरमा मुख्य पुजारी युवराज पोखरेलसहित २४ जना ब्राह्मणले पूजा गर्छन्  । मन्दिरको व्यवस्थापनका लागि १ सय ४१ जना कर्मचारी छन् । गाईलाई घाँस काट्ने आदि काम हुन्छ । मन्दिरमा हरेक दिन वैदिक अखण्ड महायज्ञ हुने गर्छ ।

मन्दिरमा भक्तजनको सहजताका लागि केवलकार लैजाने लक्ष्य छ तर पहिले पक्की सडक निर्माण गर्नुपर्नेमा मन्दिर व्यवस्थापनको चासो छ । मन्दिरको वार्षिक आम्दानी २ करोड २५ हजार रूपैयाँ छ भने वार्षिक खर्च २ करोड ९६ लाख रूपैयाँ छ । मन्दिर मुस्किले चलिरहेको अवस्थामा मन्दिरको जग्गा सदुपयोग भएमा राम्ररी चल्ने विश्वास मन्दिर व्यवस्थापनको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर