newskoseli.Com

यसरी बेचिन्छन् चेलीबेटी सीमानाकाबाट…

कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन) लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्‍याए ।

मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन् । अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्थामार्फत माइती नेपाल कञ्चनपुरलाई बुझायो । रामवती जस्तै यहाँका अन्य चेली पनि यसरी नै पश्चिमी नाका गड्डाचौकी भएर भारतका विभिन्न ठाउँमा बेचिने गरेका छन् ।

चालु आ.व. को आठ महिनामा कञ्चनपुरका विभिन्न सीमा क्षेत्रबाट भारतलगायत तेस्रो मुलुक जान लागेका १ सय ५ चेलीको उद्धार गरिएको छ । आ.व. २०७२/७३ मा १ सय ५६ जना तथा आ.व. २०७१/७२ मा प्रहरीले सीमा नाकाबाट ९८ चेलीलाई घर फर्काएको तथ्याङ्क छ । भूकम्पपछि रोजगारीको नाममा महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्‍याउने क्रम बढ्दै गएको छ ।

“रोजगारी छैन, भारतमा काम गर्न जान लागेका भन्छन्”, जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला सेलकी सपना ऐरी चौधरीले भनिन्– “खुला सीमा भएका कारण रोक्न गाह्रो हुने गरेको छ ।” पछिल्लो समय सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई रोजगारीका बहानामा भारत हुँदै तेस्रो मुलुक पुर्‍याउने दलाल सक्रिय भएका छन् ।

“हामीले शङ्कास्पद अवस्थामा भेटिएकालाई मात्रै सीमामा नियन्त्रणमा लिने हो,” उनले भनिन् । भारतका विभिन्न सहर जाने सवारी साधनमाथि समेत निगरानी बढाउँदै आएको उनले बताइन् । निगरानी र सुरक्षा सतर्कता बढाउन सके चेलीबेटी ओसारपसारमा केही मात्रामा कमी आउन सक्छ । “उद्धार गरिएका प्रायः भारत हुँदै पैसा कमाउने प्रलोभनमा परी तेस्रो मुलुकतर्फ जाने गरेका छन्”– ऐरीले भनिन् ।

वैदेशिक रोजगारीका नाउँमा चेलीलाई बेचबिखनका लागि लैजाने सञ्जाल मुलुकका दूरदराजका साथै भारतको राजधानी दिल्लीसम्म सक्रिय छन् । सीमा कटेपछि दलाललाई चाहेको ठाउँसम्म पुर्‍याउन कुनै कठिनाइ हुँदैन । माइती नेपाल कञ्चनपुरले सन् २०१६ मा पश्चिमी नाका गड्डाचौकी भएर लैजाँदै गरेको अवस्थामा ३ सय ३८ चेलीको उद्धार गरेको छ ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जिल्ला अदालतमा सात र चितवनमा एक गरी आठ वटा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका मुद्दा चलिरहेको जानकारी दिइन् । “भारतभन्दा पनि तेस्रो मुलुक जाने चेलीको बढी उद्धार गरिएको छ”, उनले भनिन्– “इजरायल, दुबर्इ, कुवेत, कतारलगायत मुलुक जानेको सङ्ख्या अत्यधिक छ ।” ३ सय ३८ जनामध्ये २१ जना दुबर्इ, १२ जना कुवेत, ११ जना किर्गिस्तान र १० जना इराक जान खोजेका पाइएको माइती नेपाल संयोजक भट्टले बताइन् ।

“मानव ओसारपसार रोक्न सुरक्षा सतर्कता बढाउनतर्फ सरकार गम्भीर हुनुपर्छ,” उनले भनिन् । सन् २०१६ को उद्धार तथ्याङ्क हालसम्मकै उच्च हो । माइती नेपालले सीमामा मात्रै नभएर भारतका विभिन्न सहरबाट समेत १३ जना चेलीको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “नेपाली चेलीलाई तेस्रो मुलुक पठाउन भारतमा दलाल बढी सक्रिय रहेका पाइन्छ”– भट्टले भनिन् ।

तेस्रो मुलुक जाने प्रायः चेलीसित कुनै कागजपत्र हुँदैन । “राहदानी समेत नरहेको पाइयो”, उनले भनिन्– “दलालले तेस्रो मुलुकमा बढी आम्दानी हुन्छ भनेर परामर्श गरेर लग्ने गरेका छन् ।” भारतीय सीमा सुरक्षा र अन्य निकायबाट पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सहयोग पाउने गरेको उनको भनाइ छ ।

“सीमामा प्रहरी मात्रै भएर पुग्दैन”, संयोजक भट्टले भनिन्– “राज्यले सीमामा चेलीबेटी बेचबिखन नियन्त्रण गर्न छुट्टै निकाय स्थापना गर्नुपर्छ ।” त्यसैगरी अहिले सञ्चालनमा आएका काठमाडौं–दिल्ली, पोखरा–दिल्लीजस्ता लामो दुरीका बसमार्फत दलाललाई झन् सहज भएको उनीबताउँछिन् ।

हाल कञ्चनपुरमा सुरक्षा संयन्त्रका साथै माइती नेपाल, थ्री एन्जेल, साना हातलगायतका संस्था मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रिय छन् । सीमामा उद्धार हुने र आफन्तको जिम्मा लगाउने काम भए पनि मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउनु निकै चुनौतीपूर्ण रहेको भट्ट बताउँछिन् । “मुख्य दलाल त भेट्टाउनै गाह्रो छ”, उनले भनिन्– “ओसारपसारको जिम्मा पाएका व्यक्ति मात्रै समातिएका घटना छन् ।”

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर