आँधीबेहरी र पहिरोका कारण त्यहाँको मुख्य नदीहरु दूषित बनाएपछि अधिकारीहरुले चिलीको राजधानी सान्टीयागोमा दिइँदै आएकोे खानेपानी आपूर्ति बन्द गरेका छन् । ४०लाख व्यक्तिहरुले उपभोग गर्दै आएका सो खानेपानी आपूर्ति बन्द गरिएको छ ।
आँधीबेहरी र पहिरोको कारण चिलीमा ४ व्यक्तिले ज्यान समेत गुमाइसकेका छन् । शनिबारबाट सुरु भएको अबिरल वर्षा र पहिरोका कारण माटो ढुङ्गासहितको पहिरो गएपछि माइपो नदी दूषित भएको थियो ।
यस नदीबाट सान्टीयागो सहरमा रहेको घेरै आवासीय भवनमा खानेपानी आपूर्ति गरिन्छ । सो नदी सफा नहुदाँसम्म करिब ४० लाख व्यक्तिको खानेपानी आपूर्ति रोक्नु परेको अधिकारीहरुले बताएका छन् । तर सो नदी कहिलेसम्म सफा हुने सो भने तय नभएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । मानिस आपतकालिन धाराबाट बोतल र जारमा खानेपानी जम्मा गर्न लागेका छन् ।
बिना पानी नचल्ने रेष्टुरेन्ट जस्ता व्यापार बन्द गर्न अधिकारीहरुले निर्देशन दिएका छन् भने सोमबारबाट सुरु हुने नयाँ शैक्षिक सत्र पनि अनिश्चित समयको लागि बन्द गरिएको छ । यस प्रकार खानेपानी आपूर्ति बन्द गरिनाले १४ लाख ५० हजार घरपरिवार प्रभावित भएका छन् । खानेपानी आपूर्तिको अभावका कारण सान्टीयागो जिल्लाको ३० वटा जिल्ला प्रभावित भएका सो क्षेत्रका गभर्नर क्लाउडिओ आर्रेगोले एक पत्रकार सम्मेलनमा बताए ।