newskoseli.Com

२ महिला नै हुन् किमका हत्यारा : अदालत

उत्तरी कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेला भाइ किम जोङ नामको हत्यामा दुई महिला संलग्न भन्दै मलेसियाको अदालतले उनीहरू नै हत्यारा भएको बताएको छ ।

बुधबार कडा सुरक्षाका बीच अदालतले छलफल चलाउँदै आरोप प्रमाणित भएको खण्डमा उनीहरूलाई फाँसीको (झुन्ड्याएर मार्ने) सजाय दिने चेतावनी दिएको छ ।

दुई हप्ता अगाडि पक्राउ परेका उनीहरूलाई अदालतबाट बाहिर निकाल्दा “बुलेटप्रुफ भेस्ट” लगाई दिइएको थियो । हत्यालगत्तै दुई हप्तासम्म गरिएको विस्तृत अनुसन्धानको नतिजापछि ती दुई महिलामाथि हत्याको आरोप लगाउँदै मलेसियाको महान्याधिवक्ताको कार्यालयले मुद्दा दायर गरेको थियो ।

ती महिलाहरूमाथि मलेसियाली फौजदारी ऐन (पेनाल कोड) को धारा ३०२ (हत्या) बमोजिम अदालतमा मुद्दा दायर गरिएको मलेसियाली महान्याधिवक्ता कार्यालयका अधिकारीले बताएका छन् ।

उत्तर कोरियाका नेता किम जोङ उनले किम जोङ नामलाई हत्या गर्न लगाएको दक्षिण कोरियाले बताएको छ । बाहिरबाट ल्याएर खटाइएका व्यक्तिहरूबाट नै नामको हत्या भएको दक्षिण कोरियाको भनाइ छ ।

इन्डोनेसियाकी २५ वर्षीया सिती एईस्याह र भियतनामकी २८ वर्षीया दोअन थी हौङलाई फेब्रुअरी १३ मा मलेसियाको क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

मकाउतर्फ उडानका लागि तयार भइरहेका बेला उनीहरूले नामलाई बेहोस पार्ने कडा खालको रासायनिक पदार्थ प्रयोग गरी विमानस्थलमै हत्या गरेको सीसीटीभीले खिँचेका दृश्यहरूमा देखाइएको बताइएको छ । उनीहरूले नामको अनुहारमा सो रासायनिक पदार्थ प्रहार गरेको दृश्यमा देखिएको छ ।

उनीहरूले आक्रमण गरेको २० मिनेटमै किमको मृत्यु भएको दृश्यहरूमा देखिएको अधिकारीहरूले बताएका छन् । घटनामा संलग्नमध्ये सितीले रातो टिसर्ट लगाएकी थिइन् भने हौङ पहेंलो पोशाकमा रहेकी थिइन् । अरु चार जनाले समेत उनीहरूलाई सघाएको बताइएको छ । ती चारै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर