अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ वटा मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई चार महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि परिमार्जित नयाँ आदेशमा सोमबार हस्ताक्षर गरेका छन । यसअघि मुस्लिम बाहुल्य मुलुकका शरणार्थी र अन्य नागरिकलाई ४ महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गर्ने सम्बन्धि राष्ट्रपति ट्रम्पले जारी गरेकाे आदेशमा ७ वटा देश रहेका र परिमार्जन गरिएको यस नयाँ आदेशमा इराकलाई भने हटाइएको छ ।
अमेरिका प्रवेश गर्नबाट निषेधित सूचिका मुस्लिम बाहुल्य अन्य ६ वटा मुलुकका इरान, सोमालिया, लिबिया, यमन, सुडान र सिरिया रहेका छन् । मुस्लिम बाहुल्य यी छ वटा मुलुकहरुका शरणार्थीलगायत अन्य यात्रुलाई १सय २० दिन प्रतिबन्ध लगाइने उक्त कार्यकारी आदेश मार्चको १६ तारिखबाट लागु हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ महिना अघि जारी गरेका कार्यकारी आदेशमा केही परिमार्जन गरी अर्को नयाँ आदेश आउन लागेको अमेरिकी अधिकारीले यस अघि नै जानकारी दिए।
परिमार्जन नयाँ आदेशमा अमेरिका प्रवेश गर्नबाट निषेधित मुलुकको सूचिबाट इराकलाई हटाइने जानकारी दिए। अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र विदेश मन्त्रालयले दबाब दिएका कारण ट्रम्प प्रशासन यस्तो नयाँ कार्यकारी आदेश जारी गर्ने मनस्थिति र निर्णयमा पुगेको ४ जना अमेरिकी उच्च अधिकारीले जनाएका छन ।
आतङ्ककारी इस्लामिक स्टेट्सका सशस्त्र लडाकू समूह विरुद्ध लड्न इराक सरकारले मुख्य भूमिका निर्बाह गर्दै अमेरिकी सेनालाई निरन्तर सहयोग गरिरहेका हुँदा उक्त दुबै मन्त्रालयले ह्वाइट हाउसलाई आफ्नो पूर्वनिर्णयमा पुनःबिचार गर्न निरन्तर दबाबमूलक अनुरोध गरि रहेका थिए । ट्रम्प प्रशासनका एक उच्च अधिकारीले मुस्लिम बाहुल्य मुलुकका नागरिकलाई ४ महिनासम्म अमेरिका प्रवेश गर्न निषेध गने नयाँ कार्यकारी आदेश एकदमै महत्वपूर्ण उपाय भएको भन्दै त्यसको बचाउ गरेका छन् ।