ग्वाटेमालाको केन्द्रभागमा रहेको एउटा बालगृहमा भएको आगलागीमा परी बुधबार कम्तीमा २८ जना बालबालिकाहरुको मृत्यु भएको छ । आगलागीमा परी १९ जनाको घटनास्थलमा नै मृत्य भएको थियो भने केहीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । घटनामा परी घाइते भएका अन्य २३ जना किशोरकिशोरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये १४ जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले जनाएका छन् । ठुलो सुत्ने कोठाबाट आगलागी सुरु भएको घटनाका एक जना प्रत्यक्षदर्शीले जानकारी दिए ।
“उनीहरु सुत्ने ठुलो कोठामा म्याटरेसमा सुतिरहेका थिए, त्यहीबाट अगालागी सुरु भयो,” ती प्रत्यक्षदर्शीले बताए । घरायसी समस्यामा परेका र घरपरिबारबाट बाहिरिएका ६० जना किशोरकिशोरीहरु त्यस बालगृहमा बस्ने गरेका थिए । मृत्यु हुनेमध्ये केहीको आगोले जलेपछि स्थानीय अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।