“धेरै पढेर ठूलो मान्छे बन्ने रहर थियो तर भाग्यले साथ दिएन, अब श्रीमतीलाई पढाएर मनको धोको पूरा गर्ने सोचमा छु”– नुवागाउँ– ६ का २४ वर्षीय घनश्याम बुढाको भनाइ छ ।
बुढाले ३ कक्षा मात्रै उत्तीर्ण गरेका छन् । उनकी श्रीमती जिल्ला बाहिरबाट सीएमएको परीक्षा दिएर अहिले लिबाङस्थित विद्यालयमा प्लस टु मा अध्ययनरत छिन् । श्रीमतीले पढ्ने आँट गर्दासम्म पढाउने उनको धोको छ । यो जोडीको विवाह भएको दुई वर्ष बितिसकेको छ । तर, उनीहरुले सन्तानको बारेमा सोचेका छैनन् । आफूले एक छाक मात्रै खाएर वा एकसरो मात्रै लगाएर भए पनि श्रीमतीलाई उच्च शिक्षा दिलाउने बुढाको धोको छ । “अहिले सन्तानका बारेमा सोचेका छैनौं, उनले पढेर कुनै जागिरमा जोडिएपछि मात्रै सन्तानको रहर पूरा गर्ने निधो गरेका छौं”– उनले भने ।
आफू दुई वर्षको नाबालक हुँदा झाडापखालाका कारण घनश्यामका बुबाको मृत्यु भएको थियो । त्यसको ६ महिना पुग्न नपाउँदै दूधे बालकसहित चार नाबालक छोराछोरीलाई घरमै छोडेर उनकी आमा अन्तरजातीय विवाह गरेर गएको सुनेका उनलाई बुबाआमाको मुहार त के, झझल्को समेत छैन । बुढाका अनुसार घरमा भएकी ठूलीआमाले दुःख–सुख गरेर हुर्काएपछि उनको संसार देख्ने सपना त पूरा भयो तर पढेर केही गर्ने रहर भने अधूरो नै छ । त्यसैले उनी श्रीमतीलाई पढाएर आफ्नो धोको पूरा गर्ने रहरमा लागिपरेका छन् ।
जन्म दिने अनि कर्म दिने अभिभावकले छाडेपछि बाल्यकाल निकै कष्टकर बन्दै गएको सुनेका भए पनि उनी आफ्नो बाल्यकालका बारेमा समेत अनभिज्ञ छन् । त्यसैले विद्यालय जाने र उच्च शिक्षा हासिल गर्ने अवसरबाट उनी वञ्चित हुनुपरेको छ। घनश्याम अहिले लिबाङको एक ग्रिल उद्योगमा मिस्त्री काम गर्छन् । करिव दुई वर्ष पहिले विवाहबन्धनमा बाँधिएको यो जोडी समाजमै उदाहरणीय बन्दैछ ।
उनकी श्रीमतीको पनि उस्तै दर्दनाक कथा छ । गरिबीकै कारण उनी पनि नियमित विद्यालय जान सकिनन् । ८ कक्षा उत्तीर्ण भएसँगै खुला विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि उनको पढाइले विश्राम पाउँदै थियो । तर, घनश्यामसँग विवाहबन्धनमा बाँधिएपछि आफूले जोखिमयुक्त काम गरेर भए पनि श्रीमतीलाई पढ्ने वातावारण मिलाउँदै आएको उनले बताइन् ।
“पितृसत्तात्मक सोच र चिन्तनमा जेलिएको हाम्रो समाजमा महिला घरकै काममा जोतिइरहँदा पनि पुरुष कुलतमा फसेका प्रशस्तै उदाहरण देख्न पाइन्छन् । तर, घनश्याम बुढाले भने आफू मिस्त्री काममा खटेर पनि श्रीमतीलाई पढ्ने अवसर जुटाइरहेका छन्, यो एकदमै सराहनीय काम हो”– उनका एक सहकर्मीले भने ।
दस वर्षको उमेरमा श्री जनता प्राथमिक विद्यालय नुवागाउँमा १ कक्षामा भर्ना भएका बुढाले कहिल्यै विद्यालय पोसाक लगाएनन् । उनले आधा दर्जन कापी र करिव आधा दर्जन डटपेनका भरमा ३ कक्षा उत्तीर्ण गरे । तर, साँझ–बिहानको समस्या हल गर्न गाह्रो भएपछि ४ कक्षाको पढाइलाई बीचमै रोकेर उनी कामको खोजीमा काठमाडाैंका इँट्टाभट्टामा पुगे । त्यहाँबाट फर्केर पटक–पटक वैदेशिक रोजगारीका लागि कहिले मलेसिया त कहिले कतार पुगेका बुढा अब भने स्वेदशमै केही गर्ने सोचमा छन् ।
हातमा सीप र मनमा आँट भए स्वदेशमै प्रशस्तै काम पाइने उनको भनाइ छ । एकबारको जीवनमा श्रीमान्–श्रीमती एकले अर्कालाई बुझ्न सके, दुःख–सुख साटेर सँगै बाँच्न पाए जीवनमा त्योभन्दा ठूलो सुख अरु केही नहुने बुढाको भनाइ छ ।