सन् २०१३ को राष्ट्रिय तथ्यांक अनुसार नेपालमा रहेका १ सय ९८ बाघमध्ये सबैभन्दा बढी (१ सय २०) बाघ चितवन निकुञ्जमा छन् । बाँकेमा ४, पर्सामा ७, शुक्लाफाँटामा १७ र बर्दिया राष्ट्रिय निकुञ्जमा ५० बाघ रहकामा अहिले बढेर ६२ पुगेका छन् ।
चितवनमा शनिबार बाघ दिवस मनाइयाे । चितवनको सौराहामा भजन–चुड्कासहित बाघ संरक्षण कार्यक्रम गरियो । मृगकुञ्ज उपभोक्ता समिति अन्तर्गत बाघ संरक्षण उपसमितिले सौराहामा चेतनामूलक र्यालीसहित कार्यक्रम गरेको हाे । बाघ पाइने ठाउँमा अरु प्रजाति सजिलै पाइन्छन् । बाघ जहाँ छ, त्यो वातावरण स्वस्थ हुन्छ त्यसैले शनिबारको सातौं विश्व बाघ दिवसमा ‘स्वस्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित देशैभरका संरक्षणकर्मी केन्द्रित भए ।
सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाए अनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने नेपालको लक्ष्य छ । २००९ मा १ सय २१ रहेका बाघ सन् २०१३ को गणनामा १ सय ९८ पुगे । अहिले बाघ पाइने हरेक निकुञ्ज र आरक्षमा बाघको संख्या बढेको अनुमान विभागको छ । अब लक्ष्य पूरा गर्न नेपालमा २ सय ४२ बाघ बनाउनुपर्ने चुनौती छ ।
यही वर्ष नेपाल र भारत दुवै देशले एकैसाथ बाघको गणना गरेर तथ्यांक निकाल्दैछन् । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको संख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । बाघको संख्या बढाउन उसको बासस्थानसँगै आहारा प्रजाति समेत जोगाउन कार्यक्रम केन्द्रित हुनुपर्छ ।
बाघ जोगाउनका लागि मुख्य समस्या चोरी शिकार हो । त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या छन् । जलवायु परिवर्तनका कारणले पनि अहिले बाघले बासस्थान परिवर्तन गर्ने अवस्था देखिएकाले चुरे क्षेत्रको संरक्षणतर्फ पनि विभागले कदम चालेको बताउँछन् निकुञ्ज विभागका संरक्षण शिक्षा अधिकृत विष्णु श्रेष्ठ ।
सबैभन्दा बढी बाघ पाइएको चितवन निकुञ्जले अघिल्लो वर्ष विश्वमै बाघ संरक्षणका लागि उत्कृष्ट ‘क्याट अवार्ड’ समेत पाएको छ । मुख्य गरी वासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसे मैदान, पानी पोखरी व्यवस्थापन तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी संरक्षण अभियान चलाएकाले यो सफलता पाएको हो । चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल सीमित स्रोत–साधनलाई अधिकतम प्रयोग गरेर सबैको हातेमालोबाट यो सफलता प्राप्त भएको उल्लेख गर्छन् ।
पछिल्लो समयमा वन्यजन्तु र मानिसबीचको द्वन्द्व पनि समस्याको रुपमा आएको छ । हालै एउटा विज्ञ समूहले गरेको अध्ययनमा चितवन निकुञ्जका पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ । मुख्य कारण भने आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघ भएकाले तिनीहरुका लागि जाने मार्ग खुला गर्नुपर्ने अवस्था आएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख तथा बाघविज्ञ डा. चिरञ्जीवी पोखरेल बताउँछन् ।
बाघ आफैंमा लज्जालु र मानिस देखे भाग्ने प्रजाति हो । “उसले आफ्नो क्षेत्र बनाउनका लागि जाने क्रममा वस्ती आइपुग्छ र जम्काभेट हुँदा मानिसमाथि आक्रमण गर्छ”, बाघको आनिवानीबारे डा. पोखरेलले भने– “मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो ।” अब हामीले नै बाघ हिँड्ने बाटोलाई सहज पार्नुपर्ने डा. पोखरेलको तर्क छ ।
बाघ हाम्रो सम्पत्ति भएकाले यसको संरक्षण हामी सबैको कर्तव्य भएको बाघ संरक्षण उपसमितिका संयोजक जितु तामाङ बताउँछन् । चितवनमा समुदायसँगकै हातेमालोमा बाघ र गैंडाको संरक्षण प्रभावकारी भइरहेको छ । मृगकुञ्ज उपभोक्ता समितिका सचिव तथा क्षेत्रीय होटल संघ चितवनका महासचिव राममणि खनाल संरक्षणले नै पर्यटन जोगाउने बताउँछन् ।
चराविज्ञ टीका गिरी बाघ संरक्षण हुँदा हरेक प्रजाति संरक्षण हुने बताउँछन् । समुदाय अहोरात्र संरक्षणमा जुटेको भन्दै उनले बासस्थान र आहारा प्रजाति जोगाउनु आजको चुनौती भएको उल्लेख गरे ।