मकवानपुरकी रश्मि (नाम परिवर्तन) विश्वकर्माको १६ वर्षको उमेरमा प्रेम विवाह भयो । विवाहको एक वर्षपछि रश्मिका श्रीमान् रमेश पैसा कमाउन कुबेत गए । श्रीमतीलाई पैसा पनि पठाउन थाले । रश्मिका दिनहरु राम्रैसँग बित्दै गए ।
समय बित्दै जाँदा अर्को केटासँग निकटता बढ्दै गयो रश्मिको । तीन वर्षपछि श्रीमान् खाडीबाट नेपाल फर्किए । विमानस्थलमा रश्मिको प्रतीक्षामा बसिरहेका रमेशले थाहा पाए कि त्यही दिन रश्मि अर्कै केटासँग गइन् । रमेशले कमाएको पैसा अनि सम्बन्ध पनि त्यही दिनदेखि सकियो । रमेश एक्ला भए ।
वैदेशिक रोजगारीका क्रममा पुरुषकै कारण पनि धेरै घरबार उजाडिएका छन् । झापा धरमपुरकी मनमाया (नाम परिवर्तन) लिम्बू घरमा आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीमा गइन् । दुई सन्तानकी आमा मनमायाको कमाइबाट परिवार राम्रै चल्दै थियो ।
पैसा कमाएर उनले आफ्ना पति मोहनलाई विदेश पठाइन् । पाँच वर्षपछि श्रीमान् फर्के तर साथमा थिइन् एक महिला । मनमायाका श्रीमानले दिदी भनेर मनमायालाई चिनाए । ती महिलाले भने मोहन आफ्ना पति भएको जानकारी दिइन् । परिवारका लागि खाडीमा गरेको मनमायाको संघर्ष व्यर्थमा गयो ।
वैदेशिक रोजगारी मात्र होइन पारिवारिक विखण्डनको कारण । अरु पनि धेरै कारण छन् । कामकाजी महिला आफ्नै कार्यालयमा असुरक्षित हुँदा पनि घरबार बिग्रिएको छ । भक्तपुरकी मीरा श्रेष्ठ (नाम परिवर्तन) काठमाडौंको एक प्रसिद्ध संस्थामा सरसफाइको काम गर्थिन् ।
दुई सन्तानकी आमा मीरा एक दिन कार्यालय समय सकिएपछि हाकिमबाट बलात्कृत भइन् । गुहार मागे पनि कार्यालयमा सुन्ने कोही थिएन । केही दिनपछि कार्यालयमा हल्ला भयो । कार्यालयबाट हाकिम र मीरा दुवैलाई निकालियो । मीरालाई परिवार र माइती दुवैले तिरस्कार गरे । मीरा मानसिक रुपमा विक्षिप्त भइन् ।
पछिल्लो समयमा सामाजिक सञ्जाल (खास गरी फेसबुक) का कारण पनि धेरैको परिवारमा संकट निम्तिएको छ । काठमाडौंको कपनमा बस्ने कमला गुरुङ (नाम परिवर्तन) को प्रेम गुरुङसँग विवाह भएको एक वर्ष मात्र भएको थियो । कुनै समस्या थिएन । गत महिना कमलाले फेसबुकमा आफ्नो पति अर्कै केटीसँग बसेको फोटो देखिन् तर वास्ता गरिनन् । त्यसको एक हप्तामै प्रेमिकालाई लिएर विवाह गर्न प्रेमले पोखरा गएको खबर आयो ।
उल्लेखित सम्बन्ध–विच्छेदका घटना त केही उदाहरण मात्र हुन् । वैदेशिक रोजगारी, अन्तर्जातीय विवाह, घरेलु हिंसा, बालविवाह, कुटपिट, देखासिकी, पश्चिमी कुसंस्कृतिको प्रभाव, लिभिङ टुगेदर, व्यभिचार र सामाजिक सञ्जाल अादि देखिएका छन् सम्बन्ध–विच्छेदका कारण ।
अदालती अभ्यासलाई हेर्दा अधिकांश सम्बन्ध–विच्छेदका मुद्दा घरेलु हिंसासँग जोडिएर आएका देखिन्छन् । पुरुष तथा परिवारद्वारा महिलामाथिको दुर्व्यवहार, शारीरिक हिंसा, मानसिक तनाव, आर्थिक समस्या, हेलाँ, व्यभिचारजस्ता समस्याले उग्र रूप लिएर सम्बन्ध–विच्छेदसम्म आइपुगेका थुप्रै मुद्दा अदालतमा दर्ता छन् ।
सर्वोच्च अदालतको २०७२–७३ को वार्षिक प्रतिवेदन अनुसार वर्षभर कूल १३ हजार ७ सय ४५ वटा सम्बन्ध–विच्छेदका घटना भए । तीमध्ये सबैभन्दा बढी मुद्दा काठमाडौं अदालतमा परेका देखिन्छन् भने खोटाङ र अर्घाखाँचीमा यस सम्बन्धी कुनै मुद्दा नै परेनन् । मनाङ, मुस्ताङ र सोलुखुम्बुमा अत्यन्तै नगन्य रुपमा मुद्दा परेका छन् । मनाङमा एक, मुस्ताङमा पाँच र सोलुखुम्बुमा सात उजुरी परेका छन् ।
तथ्यांक अनुसार नेपालका सहरी क्षेत्रमा बढी मात्रामा सम्बन्ध–विच्छेदका घटना भएका देखिएका छन् । राजधानी काठमाडौंमा सबैभन्दा बढी २ हजार ४ सय ५१, मोरङमा ९ सय ८, झापामा ८ सय ३३, कास्कीमा ६ सय ९७, चितवनमा ५ सय ७५ र सुनसरीमा ५ सय ८ यस्ता घटना भए ।
सम्बन्ध–विच्छेदका धेरैजसो मुद्दा जिल्लामा नै फछर्यौट हुने गर्छन् । सो आ.व. मा सर्वोच्च अदालतमा ५५ वटा मात्र मुद्दा परेका देखिन्छन् । समाजशास्त्री डा. शोभा ढुङ्गानाका अनुसार पति–पत्नीबीचको कमजोर सम्बन्ध नै सम्बन्ध–विच्छेदको प्रमुख कारण हो । गाउँमाभन्दा सहरमा यो समस्या टड्कारो छ । सामान्य परिवारमा भन्दा सम्पन्न परिवारमा यो समस्या बढी देखिन्छ ।
उनी भन्छिन्– “विवाहपछि पति र पत्नीको मात्र सम्बन्ध गाँसिएको हुँदैन, बालबच्चासहित संस्कार, संस्कृति, मूल्य–मान्यता, दृृष्टिकोण पनि जोडिएको हुन्छ । सम्बन्ध कमजोर हुनेबित्तिकै परिवारमा विखण्डन आउँछ ।” विवाहलाई एक पवित्र बन्धन र परिवार तथा समाज निर्माणको बलियो आधारमा रूपमा लिइनुपर्ने हो तर यो मान्यतामा ह्रास आउँदैछ ।
अधिवक्ता प्रवीण प्रधान सम्बन्ध–विच्छेदले पुरुष र महिलालाई भन्दा पनि बच्चाको विचल्ली हुने गरेको र बाबुआमा छुट्टिँदा धेरै बालबच्चामा मानसिक पीडा हुने गरेको बताउँछन् । उनका अनुसार सम्बन्ध–विच्छेद देखासिकी, आडम्बरीपना, विदेशमोह, पश्चिमा संस्कृतिको अनुशरण र बढी स्वतन्त्रताको चाहनाले बढ्दै गएको छ, यसलाई रोक्नु जरुरी छ ।
महिला हक–अधिकारका लागि काम गर्न सरकारी तथा गैरसरकारी निकायका साथै थुप्रै सङ्घ–संस्था स्थापना भएका छन् । पहिलेभन्दा हिजोआज महिलाका लागि सामाजिक, आर्थिक, कानुनीलगायतका कुरामा धेरै सजिलो भएको छ । स्वतन्त्रता र कानुनी सहायताले पनि सम्बन्ध–विच्छेदलाई प्रोत्साहन गरेको जस्तो देखिएको छ तर महिला अधिकारकर्मी यसलाई मान्न तयार छैनन् ।
महिला अधिकारकर्मी शर्मिला कार्कीका अनुसार महिला पनि सशक्त हुँदै गएकाले हिंसा सहेर बस्दैनन् र पतिप्रति बढी निर्भर हुन पनि चाहँदैनन् । पहिले महिला घरबाहिर आउन सक्दैनथे, पीडा सहेर बस्थे । अहिले पढेका छन्, आफ्नो खुट्टामा उभिएका छन् त्यसैले दमन र शोषण सहँदैनन् ।
श्रीमानको अंश पाउने भएका कारण पनि महिलाले सम्बन्ध–विच्छेदलाई बढावा दिएको टिप्पणी पनि सुनिन थालेको छ । अधिकारकर्मी डा. रेणु राजभण्डारी भन्छिन्– “महिलाले समान अस्तित्व चाहेका छन् । सम्बन्ध–विच्छेद समाज विकासको लक्षण पनि हो । सम्बन्ध–विच्छेद हुँदैमा सबै सकिन्छ भन्ने होइन, सहेर बस्ने समयको अन्त्य हुँदैछ ।”
समाजशास्त्री डा. ढुंगानाका अनुसार सकारात्मक सोच नै समस्या समाधानको उपाय हो, जसले परिवारलाई बाँधेर राख्छ । सकारात्मक सोच र विश्वास नै सम्बन्धको बलियो कडी हो । पारिवारिक मनमुटावको अन्तिम उपचार सम्बन्ध–विच्छेद होइन ।