newskoseli.Com

माओवादी आन्दोलन विचलित र विघटित भएकै हो

विभाजित अरु घटकहरुभन्दा निकै पहिले, अरुभन्दा नितान्त फरक ढंगले अलग्गिनु भएका तपाईंहरुलाई एमाओवादीमा जोडिन अहिले चाहिँ किन यस्तो हतार ?

तपाईंको कुरा साँचो हो । तपाईंले प्रश्न गरे झैं हामी तत्कालीन माओवादी पार्टीबाट विद्रोह गरेर जनयुद्धकालमै बाहिरिएका थियौं । तर, समय र परिस्थिति यति बलियो हुन्छ कि कुशल राजनीतिज्ञहरुले समयको चापलाई बुझ्नु पर्दछ ।  हामीले विद्रोह गरेको पनि ११ वर्ष भयो । ११ वर्षमा विश्व राजनीति र नेपालको राजनीतिक शक्तिसन्तुलनमा काफी फेरबदल आएको छ । माओवादी आन्दोलनको आन्तरिक र बाह्य परिस्थितिमा पनि फरक आएको छ । यो फरक परिस्थितिलाई बुझेर हामीले एकताको हात बढाएका हौं । यो एकता कुनै पार्टीसँगको एकताको प्रश्न मात्र होइन, माओवादी आन्दोलनको क्रान्तिकारी ध्रुवीकरणको प्रक्रिया हो ।

नामै तोकेर फलाना–फलाना नेताहरु स्खलित र विचलित भए, अब यिनको नेतृत्वमा क्रान्ति सम्भव छैन भन्नुभएको थियो, अहिले उनीहरु ‘सप्रेको’ कि तपाईंहरु ‘बिग्रेको’ ?

कोही सप्रेको वा कोही बिग्रेको कुरा होइन । समयको चाप र परिस्थितिलाई बुझ्ने सवालमा हामीबीच समान धारणा बन्न पुगेकाले एकताको वातावरण बनेको हो ।

जनयुद्ध थाल्नुअघि तपाईंहरुले जनता र कार्यकर्तामा जे–जस्ता सपनाहरु बाँड्नुभएको थियो, अहिलेका एमाओवादी गतिविधि अनि मूलभूत रुपमा सोही पार्टीका नीति–सिद्धान्तकै आधारमा एकीकृत हुने तपाईंहरुको स्वीकारोक्ति त ती सपनाहरुको विपरीत भयो भन्नेहरु पनि छन् नि ?

जनयुद्धका सपना महान् थिए, यसमा विवाद छैन । तर, बदलिँदो विश्व, बदलिँदो नेपालमा ती सपना पूराका पूरा साकार हुन सक्ने अवस्था आज छैन । आज जनताका नयाँ सपना छन्, तिनै सपना पूरा गर्ने उद्देश्यका साथ ध्रुवीकरणको प्रक्रिया सुरु भएको छ । राजनीतिमा सम्झौता हुन्छ, अगाडि–पछाडि सर्नुपर्ने हुन्छ । परिस्थिति यही हो ।

जे–जसो भने पनि यतिबेलाको माओवादी आन्दोलन जनयुद्ध, जनवाद र समाजवादको मान्यताभन्दा धेरै पर पुगिसकेको कुरा त साँचो नै हो नि, होइन र ?

माओवादी आन्दोलन विचलित, विघटित भएको कुरा साँचो हो । यसको स्वीकारोक्तिसहित पुनर्निर्माणको प्रक्रिया सुरु भएको छ । हामीले अँध्यारोमा ढुङ्गा हानेको चाहिँ होइन ।

नढाँटीकन भन्नोस् त, यतिबेला नेपालमा नयाँ जनवादी गणतन्त्र बहाल छ ? होइन भने जनवाद आइसक्यो अब समाजवादी क्रान्ति गरिन्छ भन्ने एमाओवादी कार्यनीतिलाई नै स्वीकारेर कसरी एकतामा सामेल हुन सक्नु भो ?

तपाईंले प्रश्न गरे झैं यतिबेला नेपालमा जनवादी गणतन्त्र बहाल छैन, यहाँ जनवादी क्रान्ति सम्पन्न भइसकेको छैन । अझ, हामीकहाँ पुँजीवादी गणतन्त्र समेत पूर्ण भइसकेको छैन । अबको विश्व र नेपाली क्रान्तिको चरित्र हामीले पढेको जनवाद र समाजवादको जस्तो पनि छैन । अतः हामी जनवाद र समाजवादको मोडलमा पनि नयाँपन ल्याउनुपर्छ भन्ने मान्यता राख्दछौं ।

हिजोको माओवादी आन्दोलनका मान्छे अब मुख्यतः ३ कित्तामा केन्द्रित हुने भए– पुष्पकमल दाहाल नेतृत्वको माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको माओवादी र बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ । तपाईंहरु केन्द्रित हुने दाहाल नेतृत्वको माओवादीबाहेक अरु दुई प्रवृत्तिप्रति तपाईंको विश्लेषण र दृष्टिकोण के छ ?

चन्द र भट्टराई नेतृत्वका दुई प्रवृत्तिले इतिहासमा भूल गरेका छन्, इतिहासले उनीहरुलाई पाठ सिकाउन बाँकी नै छ । ढिलोचाँडो उहाँहरुले पनि हामीले जस्तैगरी पाठ सिक्नुहुनेछ भन्ने हामीलाई लागेको छ । उहाँहरु पनि हाम्रै मित्रहरु हुनुहुन्छ त्यसैले धेरै भन्न चाहन्नँ ।

रामबहादुर थापाहरुले छाडेपछि मोहन वैद्य र सीपी गजुरेलहरुको राजनीतिक भविष्य र सम्भावनाबारे तपाईंको आँकलन के छ त ?

समग्र माओवादी आन्दोलनकै भविष्य कमजोर भएको अवस्थामा मोहन वैद्य र सीपी गजुरेलहरुको चाहिँ सुन्दर भविष्य हुने कुरा गर्न सकिँदैन ।

छिट्टै एमाओवादी नेतृत्वमा सरकार बन्ने चर्चा छ, अध्यक्ष दाहाल प्रधानमन्त्री बन्दैछन् भनिन्छ, त्यही ‘लोभ’ ले पनि पुष्पकमल–रामबहादुर–मणिहरुबीच एकताको गति यतिविघ्न तेज भयो भन्नेहरु पनि छन् नि ?

सदन, सरकार र सडकको मोर्चालाई उपयोग गर्ने कार्यनीति बनाएपछि सरकारमा जानु ‘पाप’ होइन । तर, सरकारमा गएर के गर्ने भन्ने विवाद हुन सक्दछ । माओवादी पार्टी ‘संसद पुनर्स्थापना’ को बाटोबाटै प्रवेश गरेकाले त्यो इतिहासलाई पनि त विश्लेषण गर्नुपर्ला । तर, अहिलेको ध्रुवीकरणको उद्देश्य ‘सरकारमा जाने भएकाले त्यसबाट लाभ लिन सकिन्छ’ भन्ने होइन । माओवादी आन्दोलनका मुद्धालाई नयाँ परिस्थितिमा राष्ट्रिय मुद्धा बनाउने प्रश्न नै अहिलेको एकताको मूल आधार हो ।

अब बन्ने एकीकृत पार्टीका सामु सरकारमा जाने, प्रधानमन्त्री–मन्त्री बन्ने, स्थानीय–संसदीय चुनाव लड्ने, राजनीतिक नियुक्ति र राजदूतजस्ता ओहोदा प्राप्त गर्नेबाहेक जनवाद–समाजवाद–साम्यवादका कुरा त ‘हात्तीका देखाउने दाँत’ मात्रै हुन्छन् भन्ने पनि आक्षेप मात्रै हो र ?

बल्ल माओवादी आन्दोलनको ध्रुवीकरण प्रक्रिया सुरु भएको अवस्थामा ठूलठूला कुरा गर्न सुहाउँदैन । जनता र कार्यकर्तामा अनावश्यक महत्वाकांक्षा बढाउनु पनि हुँदैन । र, सपना मर्न पनि दिनु हुँदैन । जनवाद–समाजवादको आदर्शलाई भुल्नु पनि हुँदैन । तर, कहिलेकाहीं आदर्श र व्यवहारमा फरक आउन सक्दछ, त्यसको व्यावहारिक उत्तर दिन पनि सक्नु पर्दछ । हाम्रो ध्रुवीकरणले सपना (रणनीति) को रक्षा गर्दै कार्यनीतिमा आवश्यकताअनुरुप फेरबदल गर्दै जनतालाई तत्काल के दिन सकिन्छ, राष्ट्रमा तत्काल आइपरेका चुनौतीको कसरी सामना गर्न सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेको छ र राख्नेछ ।

अहिले जति नै ‘लोलोपोतो’ गरे पनि एकतापछि अध्यक्ष दाहाल र उनी पक्षधरहरुले एकतामा आउने तपाईं, रामबहादुरलगायतलाई फेरि पनि मज्जैले पेल्छन् र बिस्तारै किनारा लगाइदिन्छन् भन्ने टिप्पणी पनि व्यापक छ नि ?

एकतामा जोडिने विभिन्न पक्षका नेता–कार्यकर्ताहरुलाई पहिलेको एमाओवादीवाला नेता–कार्यकर्ताहरुले पेल्छन्, धकेल्छन् भनेर तपाईंहरुजस्ता साथीहरुले गरेको वा गर्ने शंकाको परिस्थिति अब रहनुहुन्न । हामीमध्ये सबैभन्दा बढी हन्डर र ठक्कर एमाओवादीले नै खाएको छ । अहिलेको एकताको एउटा आधार एमाओवादीको त्यही ‘रियलाइजेसन’ पनि हो । ठूलो र मूल पार्टी भएकाले एकतालाई बचाउने आधार र नेतृत्व पनि उहाँहरु नै हो । अब शंका गरेर होइन, विश्वासबाट काम गर्नु पर्दछ । एकतापछि हुन सक्ने सम्भावित दुर्घटनाबाट पार्टीलाई जोगाउन हामी सचेत रहनु पर्दछ ।

प्रस्तुति : केदार गौतम/विदुर ढुङ्गेल

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर