newskoseli.Com

परदेशिएका युवाहरु गाउँ फर्कने वातावरण बनाउँदैछाैं : राजन ढुंगाना

स्थानीयदेखि प्रदेशसभा र प्रतिनिधिसभाको चुनावसम्म आइपुग्दासम्म राजनीतिक दलहरुले आ–आफ्ना चुनावी घोषणापत्रमा अनेकौं प्रतिबद्धता लिपिबद्ध गरी जनतामाझ पुर्‍याएका थिए । चाहे जित्ने हुन् वा हार्ने नै किन नहुन्, सबैले आफ्नो क्षेत्रलाई अरुले भन्दा बढ्ता विकास गर्ने दावीका साथ सुनाइएका र फिँजाइएका योजनाहरु पनि उस्तै–उस्तै थिए । यतिबेलासम्म आइपुग्दा भने प्रायः ‘जनप्रतिनिधि’ ले ती प्रतिबद्धता पूरा गरेनन् भनेर जनतामा निराशा पनि छाउँदै गएको छ । यसै सन्दर्भमा महोत्तरी जिल्लास्थित बर्दिवास नगरपालिका वडा– ३ का वडा अध्यक्ष राजन ढुंगानाले चाहिँ चुनावताका के–कस्ता प्रतिबद्धता जाहेर गरेका थिए त ? ती पूरा भए कि भएनन् या बाँकी प्रतिबद्धता कहिले र कसरी पूरा हुन्छन् भनी न्युजकोसेलीका लागि विशाल बस्नेतले केही प्रश्न सोधेका छन्–

कोरोनाले थलिइरहेका जनतालाई नैतिक र भौतिकरुपमा कसरी राहत प्रदान गरिरहनु भएको छ ?

नैतिकरुपमा हामीले जनतालाई हरतरहले सुसूचित गरिरहेका छौं । स्यानिटाइजर वितरणदेखि मुख्य बजारमा ड्रम समेत राखेर हात धुने व्यवस्था गरेका छौं । लकडाउनले गरिब, विपन्न र मजदुरहरुलाई असर गरेको पक्कै हो । हामीले उनीहरुका लागि घर–घरमै पुर्‍याएर राहत वितरण गरेका छौं । वडा नं. ३ कै कुरा गर्ने हो भने पाटु भन्ने ठाउँमा त जनताले प्रवेशद्वार नै बन्द गरेर लकडाउनको अचारसहितालाई पालना गरिरहेका छन् । त्यसैले अन्य स्थानीय निकायको तुलनामा हाम्रो वडा अझ बढी सचेत छ र उक्त सचेतना घर–घरसम्म सञ्चार भैइरहेको छ ।

हरेक प्रकोपले कुनै न कुनै सकारात्मक सन्देश पनि प्रवाह गर्छ भनिन्छ, जस्तो– महाभूकम्पले पनि घर बनाउने व्यवस्थापनदेखि कसरी तयार रहने भन्नेसम्मका पाठ सिकायो; कोरोनाभाइरसले चाहिँ कस्तो सन्देश प्रवाह गरेको ठान्नुहुन्छ ?

आत्मनिर्भर बन्नैपर्ने मुख्य पाठ सिकाएको छ । हामी यो महामारीसँग जुधिरहँदा स्वास्थ्य नै मानव जीवनको मुख्य पक्ष हो भन्नेमा थप झक्झक्याएको छ । यो महामारी नियन्त्रण गर्नका लागि विश्वमा अनेकौं विधि अपनाइए । लकडाउनको विधि नै सबैभन्दा बढी प्रभावकारी भैइरहेका बेला नेपालमा पनि यसैलाई मुख्यरुपमा प्रयोग गरिएको हो । लकडाउनकै कारण भोकमरी र बेरोजगारी मात्र होइन, पैसा भएकैहरुले खान समेत नपाइरहेका बेला कृषि र गाउँले नै हरेक मानिसलाई आत्मनिर्भर गराउँछ भन्ने पाठ सिकाएको छ । त्यसैले कोरोना महामारीले हाम्रो वडालाई मात्र होइन, हरेक ठाउँलाई उत्पादनमुखी बनेर गाउँकै बाँझा पाखा–पखेरामा पाखुरा बजार्नैपर्ने सन्देश प्रवाहित गरिरहेको छ ।

बर्दिवास नगरपालिकामा कोरोना सङक्रमित भेटिँदै गए भने के गर्नुहुन्छ ? अस्पताल र उपचारको के–कस्तो तयारी छ ?

हामीले दीर्घकालीनरुपमै सोचेर तयारी गरेका छौं । आइसोलेसन वार्डहरु तयार पारेका छौं । संभतः १५ दिनभित्र सबै काम पूरा भैसक्ने जानकारी मेयरसा’पले दिनुभएको छ । हामीकहाँ अस्थायी आइसोलेसन वार्ड र क्वारेन्टाइन हलहरु पनि पूर्ण तयारीकै अवस्थामा छन् ।

यस वडामा व्यक्तिको स्वामित्वमा नभएका कयौं हेक्टर जग्गामा घर बनाएर बसिरहेको र प्लटिङ गरेर किनबेच भैइरहेको सुनिन्छ, यथार्थता के हो ?

यो बर्दिवासको मात्र नभएर देशकै समस्या हो । अध्यक्ष हुनुभन्दा पहिलेदेखि नै यसलाई वैधानिकता प्रदान गर्न म सक्रिय छु । नगरपालिकाले पनि सबै मानिसलाई धनी पुर्जाको व्यवस्था गर्ने भनेर अभियान पनि थालेकै हो । तर, केन्द्र र प्रदेश सरकारले चासो नदेखाउँदा यो काम पेन्डिङ्गमा छ । अबको केही समयमै यो समस्या समाधान हुनेमा म विश्वस्त छु ।

वडा अध्यक्षज्यूले बोल्नुभयो भनेर जनताले ढुक्क हुँदा भयो ?

हजुर । अब धेरै समय कुर्नु नपर्ने जानकारी गराउँछु ।

जनप्रतिनिधि बन्नुभन्दा पहिले यहाँका हरेक जग्गालाई वैधानिक बनाउन लागिपर्नु भएका तपाईं बरु अहिले चाहिँ निष्क्रियजस्तो, शिथिलजस्तो देखिनुभयो भनिन्छ । ‘व्यस्त भएर समस्यालाई बिर्सनुभयो’ भन्दै जनताले व्यंग्यात्मक टिप्पणी गरेका छन् । जानी–जानी बुझ पचाउनुभएको हो ?

तपाईंले भनेजस्तै म यहाँको अध्यक्ष हुनुभन्दा पहिलै पनि यो विषयलाई मुख्य समस्याका रुपमा लिएर सक्रिय भएकै हुँ । अहिले, अध्यक्ष भएपछि पनि हरेक दिन यही विषयमा सम्बन्धित निकायसँग कुरा गरिरहेकै छु । केन्द्रमा नै उच्चस्तरीय समिति पनि बनेको छ र हरेक प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म प्रतिनिधि तोकिएका छन् । अब पक्कै पनि काम द्रुत गतिमा हुने नै छ । महोत्तरीलाई मुख्य प्राथमिकतामा राखिएको छ ।

सडक सञ्जाल र यातायात क्षेत्रमा चाहिँ के–कस्ता विकास भए, हुँदैछन् ?

विकासका विभिन्न पूर्वाधारहरुमध्ये सडक र यातायात एउटा ज्यादै नै महत्त्वपूर्ण पक्ष हो । यो विकास निर्माणको पुल समेत हो । अध्यक्ष भएपछि मैले यसमा पनि निकै जोड दिएको छु । पाटु, कालापानीजस्ता कृषिका हिसाबले महत्त्वपूर्ण ठाउँमा खेत–खेतमा कृषि सडक बिस्तार गरिएको छ । शाखा सडकहरु विस्तार गरेर आवत–जावतमा सुगमता ल्याइएको छ । मुख्य सडकलाई जोड्न गाउँ–गाउँबाट शाखा सडकहरु निकालिएका छन् । भौगोलिक अवस्थिति र भुबनावटलाई ध्यान दिएर पर्याप्त बजेट छुट्याएको छ । तल्लो पाटुलाई मुख्य सडक वा बीपी राजमार्गसम्म जोड्नका लागि गौरीडाँडाबाट निकालेर माथ्लो पाटुको मुख्य सडकसम्म जोडिसकिएको छ । यस्ता शाखा सडकहरुलाई छिटै कालोपत्रे गर्ने तयारी छ । तल्लो पाटुमा त यसै वर्ष पनि ५० लाख रुपैयाँ छुट्याइएको छ । लकडाउन हटेपछि तत्कालै कामको सुरु गरिनेछ ।

भनेपछि कृषि र शाखा सडकहरुको बिस्तारले गुनासो गर्ने ठाउँ नै जनतामा बाँकी नरहेको हो त ?

उहाँहरुलाई चित्त बुझेकै होला भन्नेमा विश्वस्त छु । सडककै विषयमा गुनासो गरिहाल्नुपर्ने ठाउँ चाहिँ छैन । तर, कतिपय ठाउँमा खोलाका कारण स्थायीरुपले शाखा सडकहरु सुचारु नभएको वास्तविकता उहाँहरुलाइ थाहा नै छ । उहाँहरुलाई यो पनि थाहा छ कि हरेक खोलाका कज–वेहरुमा बजेट छुट्याएर काम अगाडि बढाइएको छ । सडकको विषयमा धेरै बोलिरहनु नपर्ला ।

युवा स्वरोजगार वा रोजगारी सिर्जनाका हिसाबले चाहिँ के–कसो भैरहेको छ ?

तपाईंले महत्त्वपूर्ण प्रश्न गर्नुभयो । युवा स्वरोजगारीका लागि हामीले विभिन्न सिपमूलक तालिमहरुको व्यवस्था गरेका छौं । इलेक्ट्रीसियन, प्लम्बर इत्यादि काम सिकाइएपछि स्वदेशमा कुनै अवसर छैन भन्दै विदेश जानुपर्छ भन्ने मानसिकता क्रमशः घट्ने निश्चित छ । तालिम दिइएपछि स्वदेशमै पनि बेरोजगार भएर बस्नुपर्ने बाध्यता समाधानमा सघाउ पुग्छ । त्यसैले हामीले मुख्यतः सिपमूलक तालिमहरुको माध्यमबाट स्वरोजगार बन्ने कुरामै युवाहरुलाई प्रेरित गरिरहेका छा । बाटो देखाइदिने काम हामीबाट हुन्छ, बाँकी यात्रा तय गर्ने त उनीहरुले नै हो ।

परदेशमा श्रम गरिरहेका युवाहरुलाई स्वदेश फर्काउने पनि कुनै योजना छन् कि ?

हजुर, छन् । हामीले युवाहरुलाइ आत्मनिर्भर बनाउन अनेकौं कार्यक्रम ल्याएका छौं । कृषि क्षेत्रबाटै केही गर्नुपर्छ भन्ने युवाहरुलाई नगरपालिकामा कृषिसम्बन्धी धेरै प्याकेज छन् । कृषि तालिमहरु सञ्चालन गरिएका छन् ।

तपाईंहरुले सञ्चालन गरेका यस्ता कार्यक्रममा कति युवा सहभागी भए त ?

मलाइ अचम्म लाग्छ, युवाहरु विदेशमा भने जस्तासुकै काम गर्न तयार हुन्छन् तर स्वदेशमा आफ्नै बाँझा खेतबारीमा पाखुरा बजार्न भने लाज मान्छन् । मानिसहरुलाई कुरा काट्न र विरोध गर्न त आउँछ, काम गर्न चाहिँ अल्छी लाग्छ । परिणामस्वरूप विदेश पलायन र बेरोजगारी एकैसाथ मौलाएको छ । तपाईंलाई हाँसो लाग्ला तर विश्वास गर्नोस्, हामीले निःशुल्क तालिम दिन खोज्दा फर्म भर्ने मान्छे नै भेटिँदैन । यद्यपि पहिलेको तुलनामा अहिले बिस्तारै स्वदेशमै केही गर्नुपर्छ भन्ने चेतना युवाहरुमा फैंलँदै गएको छ ।

शिक्षा क्षेत्रको अवस्था चाहिँ कस्तो छ त ?

शिक्षा क्षेत्रमा पनि सन्तोषजनक विकास भएको छ । मैले सामुदायिक विद्यालयलाई नै मुख्य प्राथमिकता दिइरहेको छु । ठ्याक्कै घोषणा त गरेको छैन तर अप्रत्यक्षरुपमा चाहिँ यहाँ अब निजी विद्यालयको औचित्य छैन भन्ने बोध जनमानसमा गराइसकेको छु । सामुदायिक विद्यालयमा अध्यापन गराइरहेका शिक्षक–शिक्षिकादेखि व्यवस्थापन समितिका सदस्य र पदाधिकारीसम्मको निरन्तर अनुगमन गरिरहेको छु । फितलो अध्यापन गराइरहेका शिक्षकहरुलाई सरुवादेखि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने कामलाई अभियानकै रुपमा अगाडि बढाइएको छ ।

भनेपछि, तपाईंको वडामा निजी विद्यालयहरू विस्थापनकै अवस्थामा हो ?

अभ्यास जारी छ । परिणाम छिटै निक्लनेछ ।

सिँचाई र बाँधको क्षेत्रमा चाहिँ के–कसो छ त ?

ढुक्क हुने वातावरण बन्दैछ । किनभने, सम्भावित खतरा ठाउँमा हामीले स्थायी बन्देज लगाएका छौ । जहाँ लगाएका छौं, त्यहाँ बाढीको कुनै खतरा छैन । पाटुकै कुरा गर्ने हो भने बाँधको निर्माण तीब्र गतिमा भैइरहेको छ तल्लो पाटुको गौरीडाँडातिर पनि जाली र ढुङ्गा लगाएर हामी समस्या समाधानतिर लम्किरहेका छौं । पाटुको नहर निर्माणका लागि अस्ति मात्र ९० लाख रुपैयाँ छुट्ट्याइएको छ । लकडाउनले गर्दा काम गर्न सकेनौं नत्र माथ्लो पाटुदेखि तल्लो पाटुसम्म यही आर्थिक वर्षमा काम सक्ने योजना थियो । लकडाउन खुल्नासाथ कामको गति बढिहाल्छ । सिँचाई गर्ने उद्देश्यले कयौं ठाउँमा अस्थायी र स्थायी नहर निर्माण भएको कुरा जनमानसमा जगजाहेर नै छ ।

समय र जानकारीका लागि धेरै–धेरै धन्यवाद !

यहाँलाई पनि धन्यवाद । हाम्रा काम र विकासका गतिविधिबारे प्रकाश पार्ने अवसर प्रदान गरेकामा न्युजकोसेली परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर