पछिल्लो समयमा नाथको चर्चा परिचर्चा एकदम कम भएको महशुस गरिएकाले यसको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।
आफ्नो परिचय दिँदा नाथ भन्यो भने त्यसपछि के हो भनेर जवाफ माग्नेको कमी छैन । त्यो पनि अहिलेका पढेलेखेका जनहरुबाट नै यो सवालले नाथबारेको ज्ञानको दरकार रहेको अवश्य रहेछ भन्ने स्पष्ट हुन्छ ।
सात नं. प्रदेशमा बसोवास गर्ने अधिकांश नाथ सम्प्रदायका मानिसहरुले आफ्नो थर नाथ लेख्ने गरेको पाइन्छ भने त्यस बाहेक अन्य स्थानमा अधिकांशले नाथपछि योगी लेख्ने गर्दछन् भने कति पयले जोगी र कमर लेख्ने गरेको पनि पाइन्छ । आफ्नो परिचय दिदा नबुझ्नेहरुलाई दशनामी ( गिरी, पुरी, भारती, सरस्वती, सागर, पर्वत, अरण्य, तिर्थ, वन र आश्रम ) खासगरी गिरी, पुरी, भारती जस्तै हो भनेर आफूलाई चिनाउनुपर्ने पीडा एकातिर छ भने जात सन्यासी लेख्दा त्यो पनि परिचित चार जातहरु (ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र ) अन्तर्गत नपर्ने देखिएकाले झनै गाह्रो परेको पाइन्छ । जातविभाजन राजाहरुले नै कामका आधारमा गरेको पाइन्छ ।
तत्कालीन राजाहरुले नाथ योगीहरुलाई आफ्नो गुरु भएकाले आफ्नो सम्माननीय व्यक्तित्व ठानेर चार जात भित्र राखेनन् । हाल आएर आफ्नो वास्तविक पहिचानले अपहेलना भोग्नु परेकोले कुरा ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपालिकामा बसोवास गर्दै आएका ३० देखि ४० जोगी समुदायका युवाहरु गिरी थर परिवर्तन गरीएका खवर राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित भैसक्दा समेत औपचारिक रुपमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको बाह्रपन्थी नाथ योगी संघ नेपालले समेत कुनै प्रतिकृया जनाउन सकेको पाइएन, जसको नेतृत्व वरिष्ठ चिकित्सक डा. करबीर नाथ योगीले गरिरहनु भएको छ ।
त्यसैगरी, योगी समुदायको संरक्षण, सम्बर्द्धन र विकासको लागि माथि उल्लेख भए जस्तै अन्य संस्थाहरु खुलेका समाचार सुन्न पाइन्छन् तर उद्देश्यअनुरुप काम गरेको पाइएको छैन । नेपाल राज्यभरिका सबै नाथ–योगीहरुलाई गोलबद्ध गर्ने एउटा सशक्त संगठनको आवश्यकता खड्किएको छ । इतिहासले निकै कोल्टे फेरिसकेको एवं परस्थिति निकै बदलिएको अवस्थामा यो कुराको पुनरावलोकन कसले गरिदिने हो ? जिम्मेवार कोही देखिएनन् ।
भगवान् शिवले योग बलका माध्यमबाट विभिन्न ज्ञान र विज्ञानको रहस्यात्मक तत्त्वलाई लोककल्याणका निम्ति सिंचित गराएर उपकारी, परोपकारी, शक्तिवान्, क्षमतावान्, बलवान् हुँदै शक्तिपुञ्जमा परिणत हुन सक्ने दिव्य स्वरुपका लागि नाथ परम्पराको सुरुआत भएको पाइन्छ ।
नाथ शब्दले दिने अर्थ अनेक छन् । नाथ शब्दको व्युत्पत्तिमूलक अर्थलाई हेर्दा यो शब्दले पुलिंग नामलाई संकेत गरेको पाइन्छ ।
यसलाई “नाथति ईश्वरः भक्तिति” भनिएको छ । जसमा नाथ + अच् भएर नाथ शब्द व्युतपत्ति भएको हुन्छ । यसले स्वामी, मालिक, पति, खसम, संरक्षक, प्रभु, प्रमुुख, ईश्वर, भगवान्, खानदानदेखि मान्दै आएका गुरु र गुरुजन, ऐश्वर्यशाली पुरुष, मायाजेता, कामजेता, सिद्ध, रक्षक, अधिपति हुँदै शिव तत्त्वलाई बाेध गराउँदछ ।
नाथ शब्दले सम्माननीय व्यक्तिको परिचय एवं क्षमतावान् व्यक्तिको उच्चताको झलकलाई पनि बुझाउँदछ । नाथमा आएको (ना) ले आदि रुप र (थ) ले भुवनत्रयमा स्थापित हुनुलाई संयोग गरेर नाथ शब्द प्रयोग हुँदै आएको छ ।
शक्तिसंग्राम यन्त्रमा नाथमा आएको (ना) ले नाद ब्रह्म र (थ) ले अज्ञानतालाई विनष्ट गर्नेले ब्रह्ममा साक्षात्कारको माध्यमबाट अज्ञानतालाई हटाई ज्ञान प्राप्त गर्दछ भन्ने अर्थ बाेध गराउँदछ ।
नाथ परम्परामा एउटा मात्र शक्तिलाई केन्द्रविन्दु बनाएको पाइँदैन । सर्वप्रथम नाथमा आदि नाथका रुपमा भगवान् शिवलाई मानिन्छ किनकि भगवान् शिव नै परमतत्त्व, शक्ति एवं योगका आदि स्रष्टा र प्रणेताका रुपमा मानिन्छन् ।
उनै आदिशक्ति शिवबाट योगको तत्त्व एवं गुह्य रहस्यलाई विस्तार गर्ने क्रममा गुरु–शिष्य परम्पराको थालनी भएको ठानिन्छ । यसै सन्दर्भमा नाथ परम्पराको विकास भएको मानिन्छ ।
नेपालमा नवनाथलाई विशेष महत्व दिइएको पाइन्छ, ती नवनाथहरु निम्नानुसार छन्ः
(१) आदिनाथ (मूलनाथ): भगवान शिव
(२) उदयनाथः माता पार्वती
(३) सत्यनाथः श्री ब्रह्मा
(४) सन्तोषनाथः श्री विष्णु
(५) अचल अचम्मनाथः वायु
(६) गजवेली गजकन्थनाथः श्री गणेश
(७) चौरागीनाथः चन्द्रमा
(८) मत्स्येन्द्रनाथ (९) गोरखनाथ
(मत्स्येन्द्रनाथ र गोरखनाथलाई नाथ परम्परामा शक्ति र सिद्धि दुवै रुपमा लिइएको पाइन्छ ।)
नवनाथ परम्परामा योगीलाई नाथका रुपमा लिईन्छ । यिनीहरुको सास्कृतिक पक्षमा शरिरमा भष्मलेप गर्ने, खराउ लगाउने, कानलाई चिर्ने (कन्फटा ) विभिन्न शक्ति स्वरुपका कुण्डल धारण गर्ने, त्रिशुल, डमरु आदि लिने सर्पको माला र रुद्राक्षको माला धारण गर्ने, जटाधारी हुने आदि रुपमा नाथ परम्परा रहदै आएको पाईन्छ । नाथ परम्परामा गुरुबाट विशेष पूजाका साथमा सावर मन्त्र धारण गरेपछि मात्र शिष्य बनाइन्छ ।
सन्दर्भ–ग्रन्थहरुः
(१) योगी, काशीनाथ– राष्ट्रिय जागरणका प्रतिक योगीनरहरि नाथ , शिव गोरक्षनाथ सेवा संघ समिति सुर्खेत, २०६७ माघ
(२) योगी, दिलिपनाथ विभिन्न लेखरचनाहरु
(३) नेपाल, विनयकुमार शर्मा, नेपाल, वसन्तकुमार शर्मा– संक्षिप्त नेपाली शब्दसागर, शब्दार्थ प्रकाशन चावहिल, काठमाडौं, २०६४ जेठ
(बासुदेव नाथ बैतडी जिल्ला डिलासैनी गाउँपालिका– ५, नगराउँ निवासी सत्यनाथी पन्थ नाथ सम्प्रदायका हुन् । यिनले कानुनमा स्नातक तथा जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालय, हरिहरभवनमा पशु विकास अधिकृत पदमा कार्यरत छन् ।)