newskoseli.Com

रीति/संस्कृतिः ‘रामको धनु खसेको’ धनुषाधाममा मकर मेला

धनुषाको पूर्वी–उत्तरी क्षेत्रस्थित धनुषाधाममा माघको प्रत्येक आइतबार लाग्ने मकर मेलाको आइतबार दोस्रो मेला भर्न श्रद्धालु भक्तजनको भीड लागेको छ ।

श्रद्धालु भक्तजनले धनुषा मन्दिरमा दर्शन–पूजा गरेका छन् । ऐतिहासिक, धार्मिक एवं पौराणिक महत्त्वको धनुषाधाममा मकर मेला भर्न आउने श्रद्धालु भक्तजनको संख्या प्रत्येक वर्ष बढ्दै गएको अनुमान गरिन्छ । मिथिला महात्म्यका अनुसार पाँच मकर स्नान गरेर धनुषाको दर्शन गरेपछि एक सय रामेश्वरको दर्शन गरेसरह हुन्छ । परम्परागत हिसाबले पनि वर्षभरि गरिएको आकल–भाकल माघभरि चढाउने गरिन्छ ।

त्रेतायुगमा राजा जनकले छोरी जानकीको विवाहका लागि आयोजना गरेको सीता स्वयम्बरमा श्रीरामले भाँचेको धनुषको एक टुक्रा आकाश, अर्को पाताल र मध्य टुक्रा धनुषाधाममा झरेको किंवदन्ती छ ।

‘विष्णु पुराण’ का अनुसार त्रिपुरासुर संग्राम भएपछि दधिचि मुनिको हाडबाट बनेको धनुष धनुषशंकर परशुरामलाई दिइएको थियो । परशुरामले उक्त धनुष राजा जनकलाई दिएका थिए । रामले उक्त धनुषमा वाण चढाउन खाेज्दा भाँचिएर तीन टुक्रा भएको थियो । एक टुक्रा आकाश हुँदै भारतको दक्षिण प्रान्त रामेश्वर, दोस्रो टुक्रा पाताल र तेस्रो जनकपुरको धनुषा क्षेत्रमा रहेकाे विश्वास गरिन्छ । धनु खसेको जनकपुरको पोखरी धनुषसागरले चिनिन्छ । मध्यभाग आएर खसेको ठाउँ धनुषाधाम रहेको मन्दिरका महन्थ भरत दास बताउँछन् ।

धनुषाधाममा खसेको धनुषको कालो रङको शिलामाथि अहिले पीपलको रुख छ । उक्त रुख पाँच सय वर्ष पुरानो रहेको विश्वास गरिन्छ । पीपलको बोटमुनि नागको बास रहेको बताइन्छ । अमावश्या तिथिका दिन मध्यरातमा मणिसहितको नाग देखिने र पूरै मन्दिर हरियो रङले रंगिने जनविश्वास छ ।

धनुषको मध्यटुक्रा झरेको स्थानमा धनुषबाबाको मन्दिर निर्माणपछि माघमा मकर मेला लाग्ने गरेको छ । भक्तजनले धनुषको टुक्रामा पुष्पजल अर्पण गर्छन् । जनकपुरदेखि करिव १९ किमी उत्तर–पूर्वमा रहेको धनुषाधाममा धनुषको पूजाअर्चना गर्न वर्षेनि लाखौं स्वदेशी तथा विदेशी (विशेषगरी भारतीय) पर्यटक आउँछन् । यहाँ अमेरिका, थाइल्याण्ड, सिंगापुरलगायतबाट पनि पर्यटक आउँछन् । वर्षेनि धनुषको आकार बढ्दै गएको मन्दिरका महन्थ दासले बताए ।

यहाँ मंसिरमा रामजानकी विवाहपञ्चमी महोत्सव, फागुनमा मध्यमा परिक्रमा र चैतमा रामनवमीका दिन मेला लाग्छ । स्थानीय उच्च माविअन्तर्गत मेला रहेकाले हरेक वर्ष मेला ठेक्का लाग्ने गरेको छ । मेला व्यवस्थापनका लागि विद्यालयले प्रधानाध्यापकको संयोजकत्वमा मेला समिति गठन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष ५० लाख श्रद्धालु भक्तजन धनुषा मन्दिरमा दर्शन–पूजा गर्न आउने जिकिर धनुष मेला सेवा समितिका सदस्य हेमनारायण साहले गरे ।

मेलाभर धनुषाधाममा करोडाैंको तेजपात, फलामको सामग्री र फलफूल बिक्री हुने गरेको धनुषाधाम वडा नं. २ का श्रीनारायण साहले बताए ।

आमा–छोरीको मिलन

मकर मेला केही वर्षयता आमाछोरीको मिलनस्थलका रुपमा समेत विकसित हुँदैछ । विवाहपछि पतिको घर गएकी छोरी लामो समयसम्म माइती आउने साइत नजुरेपछि एकार्काको खबर लिन मकर मेलामा आई भलाकुसारी गर्ने धनुषा गोविन्दपुर– ६ का सतीशलाल कर्ण बताउँछन् ।

मेलाभर करिव पाँच हजार आमा–छोरीको मिलन हुने र मेला भर्न आउने युवक–युवतीबीच प्रेम भएपछि त्यही धनुषलाई साक्षी राखी विवाह गर्ने परम्परा रहिआएको मन्दिरका महन्थ दासको भनाइ छ । शरीरमा मुसा पलाउँदा भन्टा चढाउनेको संख्या पनि बाक्लो हुन्छ ।

यस पवित्र स्थललार्इ सरकारले पर्यटनस्थलका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने दासको भनाइ छ । धनुष मन्दिरका नाउँमा आफ्नो कुनै सम्पत्ति छैन । अहिले यस मन्दिर जानकी मन्दिरको स्वामित्वमा छ । दास भन्छन्– “नेपालमा म नै यस्तो पुजारी हुँला, जो दुई पुस्तादेखि ६० वर्षसम्म विनातलब भगवानको सेवा गर्दै आएको छ । म आफैंले यो मन्दिरको घन्टी समातेको २८ वर्ष भइसक्यो । ०४२ देखि मैले पूजा गरिरहेको छु, मेरा बुबा रामदेव दासले पनि ३२ वर्ष जति पूजा गर्नुभयो ।”

लाेडसेडिङका कारण राति मन्दिर अँध्यारो रहन्छ । एउटा ल्याम्प जलाइएको हुन्छ । पुसदेखि पर्यटकको भीड बढ्न थालेपछि ग्यासलाइट बालिन्छ । पुजारीका अनुसार पहिले उनको मात्र आश्रम र राम मन्दिर थियो । प्रहरी दिनमा काम गर्थे र राति गइहाल्थे । यातायातको असुविधा र राति बस्नका लागि सुविधासम्पन्न होटलको अभाव आदि कारणले गर्दा पर्यटक आएर पनि टिक्ने गरेका छैनन् ।

यहाँ बस्नका लागि पटनाका ताराचन्दले बनाएको ३४ कोठाको धर्मशाला त छ तर अव्यवस्थित रहेका कारण पर्यटक बास बस्दैनन् । धनुषाधामलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सरकारले विशेष पहल गर्नुपर्ने धनुषावासीकाे माग छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर