बेल्हीचपेना गाउँपालिका– ५, मलेपुरकी दुखनीदेवी मण्डलले अनेक सपना सँगालेकी थिइन्, छोरालाई रोजगारीका लागि तीन वर्षअघि विदेश पठाउँदा ।
पैसा कमाउला भन्ने आशाले तीन कट्ठा जग्गा स्थानीय साहुकोमा धितो राखेर १ लाख ५० हजार रूपैयाँ ऋण लिई उनले छोरालाई मलेसिया पठाइन् । रोजगारीका लागि छोरो मलेसिया उडेपछि कमाउला र बूढेसकालमा आफूलाई पनि आर्थिक रुपमा केही सहज होला भन्ने उनको सपना धेरै दिन टिकेन ।
रोजगारीका लागि मलेसियाको केर ग्लोबल फट्युनमा पुगेका उनका छोरा मनोजकुमार मण्डल बिरामी भएर २२ दिनपछि नेपाल फर्किए । नौलो परिवेश, समाज र वातावरणमा मलेसियामा काम गर्दा उनका छोरामा कडाखाले मानसिक समस्या देखापर्यो ।
सोही कारण कम्पनीले उनलाई नेपाल फिर्ता पठाइदियो । तीन वर्षअघि त्यहाँबाट सुरु भएको दुखनीदेवीको दुःखका दिन अझै सकिएका छैनन् । छोरो पठाउँदा तीन कट्ठा जग्गा धितोमा राखेर स्थानीय खुरहुरीयाका विरजा यादवसँग लिएको १ लाख ५५ हजार रूपैयाँ ऋणले उनलाई अझै सताइरहेको छ ।
ऋणको ब्याज बढेर अहिले ४ लाख ५ हजार रूपैयाँ पुगेको छ । चक्रीय ब्याजले उनलाई थला पारेको छ । उनले भनिन्– “आम्दानीको स्रोत केही छैन, कमाउने छोरा नै बिरामी भयो, कसरी ऋण तिर्ने ?” बूढेसकाल लागेकाले श्रीमान् र आफूले खासै काम गर्न नसके पनि कहिलेकाहीं मजदुरी र खेतीकिसानी गरेर केही रकम जम्मा गर्ने गरेको उनले बताइन् ।
छोरो फर्किएर आएको धेरै समयपछि मलेसिया जाँदा लागेको पैसा एजेन्टले फिर्ता गर्यो । रकम पाएपछि उनले सुरुमै २ लाख रूपैयाँ साहुलाई तिरिन् । गत वैशाख र कात्तिकमा फेरि ५०–५० हजार रूपैयाँ तिरिन् । अझै १ लाख ५ हजार रूपैयाँ तिर्न बाँकी छ । धितो राखेको जग्गा अझै फिर्ता भएको छैन । १ लाख ५५ हजार रूपैयाँ ऋण लिए पनि साहुले ३ लाख रूपैयाँ ऋण लिएको भनी कागज गराएको दुखनीदेवीको भनाइ छ ।
मण्डलकी तीन वर्षकी नातिनी छन् । छोराले मानसिक समस्याका कारण बुहारीलाई दुःख दिने गरेपछि उनी धेरैजसो माइतीमै बस्ने गरेको दुखनदेवी बताउँछिन् । “नातिनीलाई पढाउने व्यवस्था गर्न सकिए हुन्थ्यो,” उनले भनिन्– “छोरो त निको हुने कहिले हो कहिले, कम्तिमा नातिनीलाई राम्ररी पढाउन पाए हुन्थ्यो ।”
दुखनीदेवी त एक प्रतिनिधि पात्र मात्रै हुन् । जिल्लाबाट वैदेशिक रोजगारीमा जाने अधिकांशले गाउँकै साहु–महाजन र पण्डितसँग चर्को ब्याजमा ऋण लिने गरेका छन् । रकम दिनेले कागज गर्दा ब्याज नलेखी लिएको रकमभन्दा दोब्बरको कागज पहिले नै गर्ने गरेका छन् । १ लाख रूपैयाँ ऋण लिए पहिले नै ब्याज जोडेर २ लाख रूपैयाँको कागज गर्ने परम्परा यहाँका लागि सामान्य भइसकेको छ ।
यसबारे जानकार रहे पनि यस्ता विकृति हटाउन स्थानीय प्रहरी प्रशासनले खासै पहल गरेको देखिँदैन । वित्तीय साक्षरताको अभाव, बैंकबाट ऋण लिँदा अाइपर्ने झन्झट र बैंक तथा वित्तीय संस्थाले पनि सहजै ऋण नदिनाले यस्तो प्रवृत्ति बढेको हो । (रासस)