डोटीमा काफल बेची पढाइ खर्च चलाउने बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । बाह्रै महिना खेती किसानी गरेर पेट पाल्ने यस क्षेत्रका बासिन्दा र स्कुले बालबालिका यो याममा काफल बेची कापी, डट्पेन, लुगाफाटोको जोहो गर्दैआएका छन् ।
डोटीका छिमेकी जिल्ला डडेल्धुरा, अछाम लगायतका बजारमा काफल बेच्नेको लहर देख्न पाइन्छ । डोटीको खातिवडा–९ बस्ने १२ वर्षीय बालक दशरथ साउदले सिलगढीमा काफल बेचेर घरखर्च जुटाउने गरेको बताए । जिल्लाका महत्वपूर्ण स्थल र व्यापारिक केन्द्रमा काफल बोकेर दशरथ पुग्ने गरेका छन् ।
दैनिकजसो उनी सदरमुकाम नजिकैको जङ्गलमा गई काफल टिपेर सिलगढी बजारमा बेच्ने गर्दछन् । सिलगढीमा रहेको लक्ष्मी होटेलमा समेत काम गर्दै आएका १२ वर्षीय बालक दशरथ साउदले फुर्सद मिलाएर काफल बेच्ने गरेका छन् ।
राससको प्रश्नमा दशरथले भने, “घरमा काम गर्ने कोही छैनन्, बुबा आमा काम गर्न सक्दैनन्, आफूले नै विभिन्न काम गरी खर्च जुटाउने गर्छु र पढाइ खर्च पनि निकाल्छु ।” कक्षा ४ मा अध्ययन गर्दै आएका दशरथको दैनिकी विद्यालय बाहेकको समय काममा नै बित्ने गरेको छ । अरू बालबालिका जस्तो हाँस्ने, खेल्ने, रमाउने फुर्सद दशरथलाई छैन । “धेरै साथीले घुम्न जाउँ, खेलाँै भन्छन्, मनले त सोच्छु, तर घरपरिवारको याद आउँछ र कामतिर जान्छु”, भावुक हुँदै दशरथले भने ।
दशरथ जस्तै डोटीमा धेरै बालबालिका श्रम गर्ने बाध्यतामा परेका छन् । काफल मात्रै बेच्ने होइन, दीपायलमा रहेका विभिन्न होटेल, मिष्ठान्न भण्डारमा १५ वर्ष मुनिका धेरै बालबालिका श्रममा पेलिएका छन् । डोटी जिल्लाको स्थानीय प्रशासनले यसलाई नियन्त्रण गर्न प्रयास गरेता पनि बालबालिकाको बाध्यताका कारण केही गर्न नसकेको महिला तथा बालबालिका कार्यालयका प्रमुख निर्मला दाहालले बताए ।
दाहालका अनुसार जिल्ला प्रशासन कार्यालय डोटीको अगुवाइमा अनुगमनसमेत गरियो तर समस्या जस्ताको तस्तै रहेको छ । विद्यालय जाने उमेरमा डोटीका धेरै बालबालिका बालश्रमको भागिदार बनेका छन् । राज्यका महत्वपूर्ण प्रशासनिक केन्द्र अगाडि रहेका होटेल र प्राइभेट फर्ममा बालबालिकाले नै पकाएको चिया खान जाने कर्मचारी यस विषयमा अनभिज्ञ बनेका छन् ।
होटेलमा काम गर्नु, काफल बेच्नु कसैको रहर नभएर बाध्यता भएकाले यसतर्फ राज्यका निकायको ध्यान नजानु गम्भीर विषय बनेको छ । डोटीमा के कति बालबालिका श्रममा रहेका छन् कसैसँग पनि वास्तविक तथ्याङ्क भने रहेको छैन । रासस (फोटो संलग्न छ)