जन्म दिने बाबुको अकालमै मृत्यु भयो । आमा पनि दोस्रो विवाह गरी अन्तै गइन् । त्यसपछि कस्तो होला उनीहरूले जन्म दिएका बालबालिकाको अवस्था ? सहजै अनुमान गर्न सक्छौं– निकै दयनीय । पर्वतको एक दलित समुदायका तीन बालक यस्तै विचल्लीमा परेका छन् ।
कुश्मा नगरपालिका– ९, कटुवाचौपारीस्थित छेउखन्नाका धनबहादुर दमाइँका तीन छोरा विचल्लीमा परेका हुन् । २०७४ मङ्सिर १४ मा धनबहादुरको मृत्यु भयो ।
जन्माउने बेला दुइटी ‘आमा’, हेरचाह गर्ने बेलामा ‘टुहुरो’ जिन्दगी !
धनबहादुरका दुई श्रीमतीमध्ये जेठी (सावित्री) चार वर्षअघि र कान्छी (देवी) दुई वर्षअघि दोस्रो विवाह गरी छोराहरुलाई छाडेर गए । देवीतर्फका छोरा विवेक तथा सावित्रीतर्फबाट जन्मिएका विशाल र विश्वास अहिले सहाराविहीन बनेका छन् ।
उनीहरू वृद्ध हजुरबुबा र हजुरआमाको साथमा निकै कष्टकर जीवनयापन गर्दै आएका छन् । जग्गा–जमिनका नाममा सानो झुप्रो बाहेक केही नभएका उनीहरूको आम्दानीको स्रोत केही नहुँदा बिहान–बेलुकाको छाक टार्न र एकसरो लुगा लगाउन समेत धौ–धौ परेको हजुरआमा गौमतीले बताइन् ।
सत्तरी वर्षीय हजुबुबा केदार गाउँमै मजदुरी गर्दै आएका छन् । ‘उहाँले काम पाउँदाको दिन र कमाइ भएका दिन तीन नातिले पेट भरिञ्जेल खान पाउँछन् नत्र खान समेत पाउने अवस्था छैन,’ हजुरआमा गौमतीले रुँदै भनिन्– ‘मेरो परिवारमा त बज्रपात नै पर्यो बाबु !’
पन्ध्र वर्षीय विशाल कक्षा ९ मा, १४ वर्षीय विवेक कक्षा ७ मा र १२ वर्षीय विश्वास कक्षा १ मा अध्ययन गर्दै आएका छन् । स्थानीय सार्वजनिक माविमा अध्ययन गर्दै आएका उनीहरूलाई नियमित पठनपाठनमा समेत समस्या भएको छ । उनीहरूले अहिलेसम्म कुनै निकायबाट पनि सहयोग पाएका छैनन्, जाडो महिना, गतिलो कपडा समेत लगाउन नपाउँदा बालकहरू झन् समस्यामा परेका छन् ।
अहिलेको निकै जाडोमा गतिलो कपडा लगाउने र ओढ्ने–ओच्छ्याउने समेत नहुँदा निकै समस्यामा परेको गौमतीले बताइन् । ‘सहयोगको नाममा नगरपालिकाले १० हजार रूपैयाँ उपलब्ध गराएको थियो, सोही पैसाले छोराको मृत्यु हुँदा लागेको ऋण तिरियो । अहिले परिवारमा निकै ठूलो आर्थिक समस्या परेको छ’– उनले दुःखेसो पोखिन् ।
‘भगवान्’ बनेर आइदिए सीडीओ !
गुरुदत्त ढकाल प्रमुख जिल्ला अधिकारी बनी जिल्लामा सरुवा भएर आएपछि भने बालकहरूलाई भगवान नै आएजस्तो भएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले उक्त परिवारका निम्ति राहतका लागि पहल गर्दै आएका छन् । सरुवा भएर वैशाखमा आएका ढकालले जेठमै बालकहरूको हेरचाह, पालनपोषण र शिक्षादीक्षाका लागि पहल गरेपछि अहिले परिवारले नियमित रूपमा मासिक ६ हजार रूपैयाँ पाउने गरेको छ ।
वडाको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी ढकालले एसओएस सामाजिक सेवा केन्द्र गण्डकीलाई पत्राचार गरेपछि अहिले उक्त संस्थाले तीन बालकका लागि मासिक २–२ हजार रूपैयाँका दरले सहयोग गर्दै आएको छ । उक्त परिवारले असारदेखि नै मासिक ६ हजारका दरले हालसम्म ४२ हजार रूपैयाँ बुझिसकेको छ ।
रकम आउन थालेपछि भने नातिलाई नियमित रूपमा दाल र भात खुवाउन पुगेको गौमतीले बताइन् । गतिलो लुगा लगाउन र ओढ्ने–ओच्छ्याउने कपडा किन्न नपुगे पनि बिहान–बेलुकाको छाक टार्न तथा कलम–कापी किन्न निर्वाह भएको गौमतीले बताइन् । ‘बाबालिकालाई पढाउन कुनै संस्था वा निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर राम्रो मान्छे बन्ने थिए कि भन्ने आशा गरेका छौं’, जिल्ला प्रशासन कार्यालयमा आएकी गौमतीले भनिन्– ‘सीडीओ सरले यही सहयोग भए पनि मिलाइदिनुभयो, हामीलाई भगवान् आए झैं भएको छ ।’
बालबालिकाको भविष्य राम्रो बनाउन आफूले सहयोगी निकाय खोजी गरेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । उनीहरूलाई पठनपाठन गराउने र परिवारका लागि नियमित सहयोग गर्ने सहयोगी निकायको खोजी आफूले निरन्तर रूपमा गरिरहेको उनले बताए ।
आफूलाई जन्म दिने आमा–बाबु नहुँदा निकै असहज भएको गुनासो बालकहरूले गरेका छन् । ‘वृद्ध भएका हजुरबुबा–हजुरआमा हुनुहुन्छ,’ विवेकले भने– ‘उहाँहरू पनि बिरामी पर्दाको दिन भोकै सुत्नुपर्ने अवस्था छ ।’ कुनै सहयोगी निकायले सहयोग गरेमा उच्च शिक्षा हासिल गरेर शिक्षक र डाक्टर बन्ने आफूहरूको इच्छा रहेको उनीहरू बताउँछन् ।