मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को हालै मात्र केन्द्रीय समितिको बैठक सकिएको छ । महासचिव किरणको अध्यक्षतामा ललितपुरमा सम्पन्न बैठकले सो पार्टीपंक्तिमा केही आशा र उत्साह तथा केही आक्रोश र निराशा समेत पैदा गरेको बताइएको छ । संघर्ष र संगठनसम्बन्धी महत्त्वपूर्ण निर्णय लिइएको भनिएको सो बैठकका निर्णय सार्वजनिक नहुँदै चलेका चर्चा–परिचर्चामा केन्द्रित रहेर वैचारिक अनलाइन ‘जनमेल’ ले सो पार्टीका स्थायी समिति सदस्य एवं प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ सँगको अन्तर्वार्ता प्रकाशित गरेको छ । यहाँ प्रस्तुत छ सोही अन्तर्वार्ता–
बैठक सम्पन्न भएको तीन दिन बित्दा पनि निर्णयहरू बाहिर आएका छैनन्, के कारणले होला ?
कारण त्यस्तो अरू केही होइन, वक्तव्य तयार हुँदैछ । अलि ढिलो त भयो, शायद आज बाहिर आउँछ होला ।
बैठकमा गरमागरम बहस भयो भन्ने छ नि ?
क्रान्तिकारी पार्टीमा क्रान्ति अगाडि बढाउने कुरामा बहस–छलफल हुन्छन्, सन्दर्भ हेरेर हुने गर्छ । बहस–छलफल हुनु नराम्रो होइन– भयो, खुलेरै भयो ।
बहस–छलफल विचार र कार्यदिशामा हो कि अन्य विषयमा ?
बहस–छलफल काम र मूल्याङ्कनका सन्दर्भमा पनि भए र आगामी सङ्घर्षका सन्दर्भमा पनि भए । खास गरेर पदोन्नति र जिम्मेवारी बहनका सन्दर्भमा बढी भए ।
सात जना केन्द्रीय सदस्यलाई पोलिटब्युरो सदस्य बनाउने र सात जनालाई केन्द्रीय सदस्य बनाउने कुरा निकै विवादको विषय बन्यो भन्ने छ । हिजो जनयुद्धदेखि निरन्तरतामा रहेका अनुभवी र प्रतिबद्ध कमरेडहरूलाई बेवास्ता गरेर जुनियर र नेताहरूको खर्चबर्च धान्नेहरूलाई पोलिटब्युरो सदस्य बनाइयो भन्ने छ नि त ?
अवश्य पनि यो विषय बैठकको सबैभन्दा तात्तातो विषय रह्यो । खुलेरै बहस भयो र कमरेडहरूले पनि मनमा लागेका सबै कुरा खुलेरै भन्नुभयो । मनमा लागेका कुरा बैठकमा भन्नु आपत्तिको विषय होइन । तर, सार्वजनिक रूपमा खुलेर कोही आउनु भएको छैन, यो राम्रो कुरा हो । विश्वास छ– आवेग र भावनामा केही भने पनि उहाँहरू पार्टी हितविपरीत जानुहुने छैन ।
१६ जनाले फरक मत जाहेर गरे भन्ने छ नि ? १, २ र ५ नम्बर प्रदेश बढी आक्रोशित देखिए भन्ने छ, कतिपय कमरेडले अब ‘यो पार्टीमा बसिँदैन, विकल्प तयार पारिन्छ’ पनि भन्नुभयो भन्ने छ त ?
१६ जना होइन, ९–१० जनाले असन्तुष्टि जाहेर गर्नुभएको हो । फरक मत राख्नु र असन्तुष्टि जाहेर गर्नु अनौठो कुरा होइन, बैठकमा त हुन्छ नै । आवेगमा कसले के भन्यो भन्दा पनि उहाँहरूले बिस्तारै स्थितिलाई बुझ्नुहुन्छ र पार्टी काममा लाग्नुहुन्छ ।
मूल असन्तुष्टि के मा हो ? विचार, कार्यदिशा अथवा पदोन्नति ?
वैचारिक पक्ष, कार्यदिशाका सन्दर्भमा त कुनै विवाद नै छैन, रहेन । केही परिमार्जन गर्ने भन्दै दस्तावेज पारित भएको हो । मूल विवाद पदोन्नतिलाई लिएर हो, आवश्यकता भन्दा पनि आफू र आफूले भनेकाको भएन भन्ने हो ।
जिन्दगीको ठूलो हिस्सा यही पार्टीमा लगानी गरेका, दुस्मनसितको भिडन्तका बीचबाट बचेर आएका पुराना र अहिले पनि निरन्तरतामा क्रियाशीलहरूलाई बेवास्ता गरेर ‘शान्ति प्रक्रिया’ पछि टुप्लुकिएका र एकदमै कनिष्ठहरूलाई पोलिटब्युरो सदस्य बनाएपछि विवाद हुँदैन त ? यसलाई सही मूल्याङ्कन भन्न मिल्ला र ?
हिजोको कुराले मात्रै हुँदैन, आज को पार्टीको नीति, योजना र कार्यक्रमलाई लागू गर्न इमानदारिताका साथ सक्रियतापूर्वक लागेको छ, को आफ्नो क्षेत्रमा क्रियाशील भएको छ भन्ने कुराका साथै ‘एकमा तीन’ र अन्य विविध पक्षलाई ध्यान दिएर पादोन्नति गरेका हौं । खास गरेर अनुभवी कमरेडहरू कुमार शाह, ज्ञवालीलगायतहरू योग्य छैनन् भनेको होइन, भनेका छैनौं । अहिलेको आवश्यकता र औचित्य हेर्दा ज–जसलाई पदोन्नति गर्नु उचित र आवश्यक देखियो– त्यही गरेका हौं । कमरेडहरूले आफ्नो मूल्याङ्कन भएन, पदोन्नति भएन भन्नुहुन्छ तर पार्टीको नीति, योजना, कार्यक्रम र दिएको जिम्मेवारी पूरा गर्ने कुरामा उहाँहरूको भूमिका के रह्यो भनेर आफूलाई पनि हेर्नुपर्यो नि । समय क्रममा उहाँहरूको पनि पालो आउँछ । अहिले यही नै सही हो र यसलाई दृढताका साथ लागू गर्ने हो ।
उसोभए यो ‘शुद्धीकरण अभियान’ हो ?
शुद्धीकरण नै त नभनौं, सुदृढीकरण चाहिँ हो ।
उहाँहरूले त ‘विकल्प’ को कुरा उठाउनुभएको छ त ?
यो आवेग र आक्रोशमा आएको कुरा हो । त्यसो गर्नुहुन्छ जस्तो लाग्दैन । उहाँहरूको स्थिति र सीमाबारे हामीलाई थाहा छ ।
अन्य पार्टीहरूसित एकताका कुरा पनि थिए, त्यसमा चाहिँ कस्तो निर्णय गर्नुभयो त ?
एकता र ध्रुवीकरणका कुरा चलिरहने प्रक्रिया हुन् । अहिले हामी आफ्नै पार्टीपङ्क्तिलाई व्यवस्थित र सुदृढ बनाउन चाहन्छौं । विचार मिल्नेसित बहस–छलफल र कुराकानीको प्रक्रिया रोकिने कुरा भएन तर यतिखेर आन्तरिक सुदृढीकरण प्रधान बनेको छ । हामी सङ्घर्षका कार्यक्रमसँगै सङ्गठन सुदृढीकरण र ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउँछौं ।
अबको विकल्प भनेको नेकपा (क्रान्तिकारी माओवादी) नै हो भन्ने विश्वास जगाउनु पर्नेमा एकातिर पार्टीका इमानदार र निष्ठावान नेता–कार्यकर्ताहरू एक–एक गरेर पार्टी छाडेर गइरहेको स्थिति छ भने अर्कातिर भएकाहरू पनि ‘पार्टी सिद्धियो, नेताहरूले सिध्याए, अब पार्टी अगाडि बढ्न सक्तैन, बस्नुको अर्थ छैन’… भनिरहेका छन् । यस्तो बेला कसरी होला सङ्गठन सुदृढीकरण ? जनयुद्ध र माओवादका पक्षधरहरू पार्टीबाट अलग्गिँदै जाँदा र निष्क्रिय हुँदा पार्टीले भनेको सुदृढीकरणको चरित्र कस्तो होला ? माथिल्लो नेतृत्वमा बसेकाले चाहिँ जिम्मेवारी लिनु नपर्ने ?
यो सबै हामी मिलाउँदै जान्छौं । साथीहरूले रियलाइज गर्नुहुन्छ भन्ने लाग्छ । हिजो मात्रै देखाएर भएन, वर्तमानको आवश्यकता पनि त हेर्नु पर्यो, वर्तमानमा आफ्नो भूमिका पनि हेर्नुपर्यो ।
सामान्यतः प्रवक्ता र प्रचार–प्रसार तथा प्रकाशन एक–अर्कासित सम्बद्ध पक्ष हुन् । तपाईंहरूको प्रकाशन पक्ष, त्यसमा पनि बाह्य प्रकाशन (साप्ताहिक तथा अनलाइन माध्यम) त्यति प्रभावशाली र प्रभावकारी हुन नसकेको, क्रान्तिकारी पार्टीको स्पिरिटलाई बहन गर्न नसकेको, ‘चलाउनका लागि चलाएजस्तो’ र ‘घिसेपिटे शैलीमा’ चलेको भनेर पाठकहरूबाट टिप्पणी हुने गरेको छ नि ?
ठीक हो । हामी घिसेपिटे शैलीमा छौं । यसमा जटिलता छन् । अब नयाँ टिमले काम गर्छ । हामी यसलाई गतिका साथ लैजान्छौं ।
(जनमेल डटकमबाट साभार)