कारागारभित्रको कठोर जीवन, गन्तव्यतर्फ नियाल्दै थाकेका आँखा, मुहारभरि चिन्ताका रेखा कोरिएका र जीवन जिउने आशा मारिसकेकी चमेली विकका हातभरि हरिया चुरा र मेहन्दी सजिएको छ ।
मानव बेचबिखन मुद्दामा १४ वर्षको सजाय पाएकी विक अहिले ‘अटल सौभाग्य’ र ‘सन्तानको दीर्घायु’ का लागि ‘साउने ब्रत’ बसेकी छन् । सिन्धुली घर भएकी विक अहिले कारागारभित्र रहेको मन्दिरमा कैदी–बन्दीकै रुपमा साउने ब्रत बसेकी हुन् ।
विभिन्न मुद्दामा वीरगञ्ज कारागारभित्र सजाय काटिरहेका १ सय ३ जना महिलामध्ये करिव २५ जना सोह्रशृङ्गार गरी ‘साउने ब्रत’ बसेको जानकारी महिला कैदी चौकीदार जमुना कुँवरले दिइन् । साउन महिना सुरु हुने बित्तिकै कारागारभित्र रहेका कैदी ‘हिन्दू महिला’ आफ्नो गच्छेअनुसार कारागारभित्रकै मन्दिरमा ‘अटल सौभाग्यवती’ हुन र ‘सन्तानको दीर्घायु’ का लागि ब्रत बस्ने गरेका छन् ।
मानव बेचबिखन मुद्दामा पाँच वर्षअघिदेखि नै १४ वर्षको सजाय काट्दै आएकी काठमाडौंकी लक्ष्मी पुरीको दिनचर्या पनि विकको जस्तै रहेको छ । पुरीले पनि दुबै हातमा हरिया चुरा र मेहेन्दी लगाएकी छन् । ‘आफूले कारागारभित्र कठोर जीवनयापन गरिरहेको भए पनि घरमा रहेका श्रीमान् र छोराको सुस्वास्थ्यको लागि यो ब्रत बसेकी छु’– पुरीको भनाइ उद्धृत गर्दै महिला चौकीदार कुँवरले भनिन् ।
‘हिन्दू परम्परा’ अनुसार विवाहित महिलाले साउन महिनामा हरिया चुरा र मेहन्दी लगाएमा आफ्ना श्रीमानको ‘आयु’ लामो हुने जनविश्वास रहेकाले म पनि साउन महिनाभरका सोमबार ब्रत बस्ने गरेकी छु,’ मानव बेचबिखन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेकी हेटौंडा– ११, मकवानपुरकी सुस्मिता विन्दुले भनिन्– ‘साउन महिनाभरि आराध्यदेव महादेवको ब्रत बस्ने प्रचलन पौराणिककालदेखि नै चलिआएकाले म पनि हरिया चुरा र मेहेन्दी लगाएर ब्रत बसेकी छु ।’
लागूऔषधको आरोपमा कारागारमा बसेकी अर्की महिला कैदी काभ्रेपलाञ्चोक– ३ की आशा विकले भनिन्– ‘हरिया चुरा र मेहेन्दी लगाउँदा भगवान् महादेव प्रशन्न हुने भएकाले कारागारभित्रै भए पनि पति र सन्तानको दीर्घायुका लागि नियमित ब्रत बसेकी छु ।’
ज्योतिषशास्त्र अनुसार हरियो रङ्ग बुध ग्रहको प्रतीक भएकाले हरियो रङ्ग लगाउँदा बुध बलियो भएर सन्तानसुख प्राप्ति हुन्छ । यस रङ्गले वुद्धि र समृद्धि प्राप्त हुने भएकाले साउन महिनामा महिलाहरू यो ब्रत बस्ने गर्दछन् । हत्केलामा जति गाढा मेहेन्दीको रङ्ग लगाइन्छ, त्यति नै श्रीमानको माया पाइने भएकाले पनि महिलाहरूले यो ब्रत बस्ने गरेको धार्मिक विश्वास छ ।
एक हजार मान्छे अट्ने क्षमता रहेको सो कारागारमा हाल १ सय ३ जना महिलासहित १ हजार २ सय ७० कैदी–बन्दी छन् । तीमध्ये ५ जना आश्रित बालबालिका छन् । कारागारभित्र २ सय १५ भारतीय, १ बङ्गलादेशी र २ पाकिस्तानी गरी कूल २ सय १८ विदेशी कैदी–बन्दी रहेको कारागार प्रशासनले जनाएको छ ।
राणाकालीन संरचना भएको सो कारागार हाल जीर्ण अवस्थामा रहेको छ । ‘क्षमताभन्दा बढी कैदी–बन्दी रहेकाले एकै ठाउँमा बस्दा होहल्ला गरेकाले नियन्त्रण गर्न समस्या भएको छ,’ जेलर श्रवणकुमार पोखरेलले भने– ‘कारागारभित्रको पर्खाल पनि पुरानो भएकाले मर्मत–सम्भार गर्नुपर्ने आवश्यकता देखिन्छ ।’
महिला तथा पुरुष कैदी–बन्दीलाई एक–अर्कासँग सम्पर्क नहुने गरी छुट्टाछुट्टै कोठामा राखिने गरेको र उनीहरुको सुरक्षाका लागि ४२ सशस्त्र प्रहरी र २३ जनपद प्रहरी कार्यरत रहेको जानकारी उनले दिए । २ विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो कारागारको जग्गा अतिक्रमणको चपेटामा परेको खबर राससले प्रेषित गरेको छ ।