कमरेडहरू,
हिजो राति, त्यस्तै ११ बजेको हुँदो हो । सुत्ने तरखर गर्दैथें, फेसबुक फ्रेन्ड एउटी युवतीको स्टाटस आयो– ‘मलाई निद्रा लागिरहेको छैन… ।’
उनको स्टाटसमा मैले ‘लभ–रियाक्ट’ गरें र एउटा छोटो कमेन्ट पनि लेखिदिएँ– ‘पहिले सुत न… ! अनि पो निद्रा लाग्छ प्रिये !’
त्यसपछि म पनि सुतें ।
राति पिसाबले च्यापेजस्तो भयो, उठें । चार बजेको रहेछ, यस्सो फेसबुक खोलिहेरेको त ती नानीको ‘स्ट्याटस’ मा ५ सय ५० जति युवाहरूले सुत्ने तरिका, निद्रा कसरी आउँछ, गुगल र युट्युबका रेफरेन्सहरू… आदि–आदि ‘कमेन्ट’ लेखिरहेका थिए । एक–दोडा ‘कमेन्ट’ पढेर म फेरि सुतें ।
भनेपछि, हाम्रो देशका युवाहरूले कुनै पनि चिजलाई कति ‘सिरियस्ली’ लिन्छन् ! कसैलाई सानो समस्या पर्यो भने पनि ‘हेल्प’ गर्न तँछाडमछाड गर्छन्, यसैबाट थाहा हुन्छ कि ती नानीले निद्रा लागेन मात्रै के भनेकी थिइन्, सयौं युवाहरूले उनका लागि आफ्नो निद्रा समेत ‘स्याक्रिफाइस’ गर्न तयार भए ! रातभरि ‘कमेन्ट’ लेखेर बसे… !
समृद्धि त आउँछ, आउँछ ! त्यै हो, समय चाहिँ लाग्छ… ।
––––––––––––––––––––––––
स्कुल विभागद्वारा आयोजित युवा प्रशिक्षणमा कमरेड छद्मलालको सारगर्भित मन्तव्य…