तपाईंहरुसँगै जनयुद्ध लडेका साथी सत्ता र सरकारमा छन्, तपाईंहरुमाथि भने प्रतिबन्ध लगाइएको छ, के भन्नुहुन्छ ?
क्रान्तिकारी आन्दोलनको इतिहासमा कहिलेकहीं मजाक पनि हुने गर्छ । यो नेपाली क्रान्तिको इतिहासमा एउटा मजाक हो । कुनै बेला बर्नस्टिन, हिर्योख बेर्ग र श्राम पनि मार्क्सका सहयात्री थिए । पछि मार्क्सले ‘चुरीखतीर्की’ बारे संश्लेषण गरी सार्वजनिक हमला गर्नुपर्यो । बाकुननि पनि सहयात्री थिए, हेग महाधिवेशनमा अन्तर्राष्ट्रियबाट निष्काशन गर्नुभयो । प्लेखानोब र ट्राटस्की पनि लेनिनका सहयात्री थिए, पछि दुईजिब्रे फटाहा घोषणा गरेर लेनिनले संघर्ष गर्नुपर्यो । लिलिसान, छनतुस्यु र वाङमिङ माओका नेता तथा सहयोद्धा थिए, उनीहरुका विरुद्ध माओले नेतृत्व लिएपछि सच्चा कम्युनिस्ट पार्टी बन्यो र क्रान्तिले गुणात्मकता हासिल गर्यो । विश्व कम्युनिस्ट आन्दोलनको जीवन्त पाटो यस्तो छ ।
हाम्रो सन्दर्भमा विगतमा जनयुद्ध लडेका मात्र होइन, त्यसको नेतृत्व गरेका प्रचण्ड र उनको समूह नै सत्ता र सरकारमा छ । अहिलेको प्रचण्ड, उनको समूह, सत्ता र व्यवस्था जनयुद्धको परिकल्पना र उद्देश्यको ठीक विपरीत छ । जनयुद्धको मान्यता र मालेमावादी विचार, क्रान्तिकारी कम्युनिस्ट पार्टी, क्रान्तिकारी नेतृत्व, सशस्त्र क्रान्ति, नेपाली समाजको आमूल परिवर्तन, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने नयाँ जनवादी राज्यव्यवस्था र राष्ट्रिय मुक्ति हो । नेपालको अहिलेको सत्तासीन वर्ग त बुर्जुवा प्रतिक्रियावादबाट पनि पतीत भएर दलाल पुँजीपतिवर्ग बन्न गएको छ । यो सत्ता असली दलाल पुँजीपति वर्गको हो । व्यवस्था दलाल, संसदीय व्यवस्था हो । संघीय लोकतान्त्रिक, गणतन्त्र त दलाल, पुँजीपति वर्ग, त्यसको राज्यसत्ता र दलाल संसदीय व्यवस्थाको ‘रङरोगन’ मात्र हो, जसले जनतालाई ‘नयाँ परिस्थितिमा नयाँ भ्रम’ सिर्जना गरोस् । क्रान्तिले सिर्जना गरेको नयाँ परिस्थितिमा पुँजीपति वर्गलाई मृत्युबाट बचाउन ‘आईसीयू’ का रुपमा प्रयोग गरिएको ‘ठर्रा रक्सीका निम्ति नयाँ बोतल’ मात्र हो । यसको नेतृत्व एमालेमा बिलय भएर ‘प्रचण्ड समूह’ बन्न पुगेको छ ।
२०४६ को आन्दोलनपछि राजतन्त्रले बहुदलवादीहरुको लाज छोपिदिन राजतन्त्रात्मक संसदीय व्यवस्था भनिदिएजस्तो मात्र हो किनभने सत्ताको बागडोर राजाकै हातमा थियो । अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र भनेको क्रान्तिकारी माओवादी पार्टी, १० वर्षसम्म सञ्चालित सशस्त्र जनयुद्ध, जनमुक्ति सेना, जनसत्ता, मालेमावादी विचार र नयाँ जनवादी व्यवस्था स्थापना गरी राष्ट्रको स्वाधीनतालाई सुनिश्चित गर्ने कार्यदिशाबाट विचलित भएका प्रचण्ड र उनको समूहको लाज छोप्ने ‘रंगरोगन’ मात्र हो, सत्ता दलाल पुँजीपति वर्गको छ, व्यवस्था संसदीय हो । प्रचण्ड र उनको समूह त्यसमा समाहित भएको मात्र हो । प्रचण्ड समूहको विभाजनयुक्त व्यवहार, आत्मसर्मपण र पतनका विरुद्ध भीषण संघर्षबाट नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्व विकास भएको हो । हाम्रो पार्टीले १० वर्षको जनयुद्धको रक्षा र नेपालमा क्रान्तिको पूर्णताको उद्देश्यले एकीकृत जनक्रान्तिको कार्यदिशा विकास गरेर क्रान्ति सञ्चालन गरिराखेको छ । यसको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवादको स्थापना हो । अहिलेको दुनियाँलाई उत्तरसाम्राज्यवादी व्यवस्थाको विकल्पमा साम्यवादी विश्वव्यवस्था दिने राजनीतिक लक्ष्य हो ।
जब हाम्रो पार्टीले नेपाली राजनीतिमा एकीकृत जनक्रान्तिमार्फत् यो महान् कार्यको सुरुआत गर्यो, यसका विरुद्ध वर्तमान दलाल पुँजीपति वर्ग, त्यसको सत्ता र सत्ताका सञ्चालकहरु आइलागेका छन् । हाम्रो पार्टी र यसका कार्यक्रममाथिको प्रतिबन्ध त्यसैको निकृष्ट उदाहरण हो । हाम्रो पार्टीमाथिको प्रतिबन्धले चार वटा विषयलाई निर्दिष्ट गरेको छ– पहिलो, शान्ति प्रक्रियाको आवरणमा देश र नेपाली जनतामाथि प्रतिक्रान्ति थोपरिएको कुरा; दोस्रो, वर्तमान सत्ता, व्यवस्था र सत्तासीन वर्ग दलाल, पुँजीपतिवर्ग भएको कुरा; तेस्रो, प्रचण्ड समूहको दलाल पुँजीवादमा पतन भएको कुरा र चौथो, सर्वाधिक महत्त्वपूर्ण कुरा, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी हो, यसले दलाल पुँजीपति वर्ग र त्यसको वर्तमान राज्यसत्ताका विरुद्ध नेपाली श्रमजीवी जनताको वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न एकीकृत जनक्रान्ति सञ्चालन गरिराखेको छ भन्ने कुरा ।
केपी ओली सरकार र ओली–प्रचण्डको नेकपाले हाम्रो पार्टी र क्रान्तिविरुद्ध लगाएको ‘प्रतिबन्ध’ ले सरकार र सरकारी पार्टी प्रतिक्रान्तिकारी, फासीवादी, हत्यारा, निरंकुश, भ्रष्टाचारी, राष्ट्रघाती र दलाल तत्त्व भएको कुरा राष्ट्रिय राजनीतिमा लाटोले पनि बुझ्ने गरी उदांगो पारिदिएको छ । विश्वराजनीतिमा श्रमजीवी जनताको आक्रोश र घृणाको भुमरीमा परेर यो सत्ता एक्लिएको छ । हाम्रो पार्टी र जनक्रान्तिले ‘प्रतिबन्ध’ को सुविचारित प्रतिरोध गरिराखेको छ; आम नेपाली जनतामा स्थापित भएको छ; नेपाली जनताको आशा, विश्वास र विकल्प बन्दै गएको छ । हाम्रो पार्टी नेपाली कम्युनिस्ट आन्दोलनका खराबीहरुबाट मुक्त हुँदै सुदृढ र विस्तार हुँदै गएको छ । यस बीचमा हाम्रो पार्टी, नेतृत्व र क्रान्तिको अतर्राष्ट्रिय छवि र उचाइ निकै बढेको छ । अतः ‘प्रतिबन्ध’ ले दलाल पुँजीपति वर्ग र त्यसको सत्तालाई विघटनको संघारमा पुर्याएको छ भने हाम्रो पार्टी र जनक्रान्तिलाई विजयको दिशातिर अगाडि बढाइराखेको छ ।
अहिले विश्व परिवेश र राष्ट्रिय सन्दर्भ हेर्दा तपाईंहरुले सोचेजस्तो क्रान्ति सफल हुन्छ भन्ने लाग्छ ?
अहिलेको विश्व विकसित र नयाँ ठाउँमा छ । शीतयुद्धको समाप्तिपछि अमेरिकी साम्राज्यवादको विश्वव्यापी हैकम र दबदबा भएको विश्व नब्बेको दशकपछिको र एक्काईसौं शताब्दीको सुरुको दशकको जस्तो एकध्रुवीय विश्व छैन । एक्काईसौं शताब्दीको पहिलो दशकको अन्त्यतिरबाट अमेरिकी साम्राज्यवादी एकध्रुवीय विश्व दुई ध्रुवतिर प्रवेश गर्द दोस्रो दशकको अन्त्यतिर आउँदा मूलभूतरुपमा बहुध्रुवीय विश्वमा बदलिएको छ । यो अहिलेको विश्वको बहुध्रुवीय चरित्र हो । अमेरिकी साम्राज्यवादका विरुद्ध रसियाकेन्द्रित, चीनकेन्द्रित, मध्यपूर्वकेन्द्रित, युरोपियन युनियनकेन्द्रित र दक्षिण एसियाकेन्द्रित ध्रुवहरु खडा भएका छन् भने थुप्रै उपकेन्द्रहरु पनि सतहमा आएका छन् ।
विश्वको अहिलेको बहुध्रुवीय विशेषताले साम्राज्यवाद राजनीतिक, आर्थिक, सैन्य, प्रविधि र सांस्कृतिक दृष्टिले पनि विभक्त भएको पुष्टि गर्दछ । अमेरिकी साम्राज्यवाद प्रतिध्रुवको अन्तर्विरोध, सैन्य एवं व्यापारयुद्ध र प्रतिद्वन्द्वितामा डरलाग्दो गरी फसेको छ । ऊ चाहेर पनि त्यसबाट उक्सिन सक्दैन । अमेरिकी साम्राज्यवादले चाहे पनि विश्वमा उठेका घटनाहरुमा एक्लै फैसला गर्न सक्दैन । यसैलाई हाम्रो पार्टीले लेनिनले संश्लेषण गरेको साम्राज्यवादमा विकास भएर ‘उत्तरसाम्राज्यवाद’ बन्न पुगेको निष्कर्ष निकालेको हो । उत्तरसाम्राज्यवादी अहिलेको विश्वमा क्रान्तिका निम्ति विश्वपरिवेश अनुकूल बन्दै गएको पुष्टि हुन्छ ।
यसर्थ, एक्काईसौं शताब्दीको दोस्रो दशकको विश्वको विशेषता भनेको ‘उत्तरसाम्राज्यवाद र श्रमजीवी जनताको क्रान्तिको विश्व’ हो । यो महान् लेनिनले भन्नुभएको साम्राज्यवाद र सर्वहारा क्रान्तिको विश्वको विकसित र नयाँ आयाम हो । कुनै पनि समाज क्रान्तिविना न अस्तित्वमा रहन सक्दछन्, न बाँच्न सक्छन् । पुरानाको अन्त्य र नयाँको सिर्जना गतिशील समाजको अनिवार्य नियम हो । नेपाली समाजको पछिल्लो कालखण्डको विकासक्रमलाई मात्र हेर्यौं भने प्रमाणित हुन्छ– १०४ वर्षे राणा शासनका विरुद्ध क्रान्ति नभएको भए राणा शासन र राणाकालीन समाज व्यवस्थाको अन्त्य हुँदैनथ्यो; २००७ को परिवर्तन पनि हुँदैनथ्यो । ३० वर्षे पञ्चायती निरंकुशताका विरुद्ध २०४६ को जनआन्दोलन नभएको भए नेपाली समाजले सामन्तवादबाट लोकतान्त्रिक यात्रामा पाइला चल्दैनथ्यो । १० वर्षको महान् जनयुद्ध नभएको भए सामन्ती प्रतिक्रियावादी व्यवस्थाको अन्त्य हुँदैनथ्यो । क्रान्ति समाजको गति र नयाँ जीवन हो ।
नेपालमा दलाल पुँजीपति वर्ग, दलाल सत्ता, दलाल संसदीय व्यवस्था, दलाल केपी ओली नेतृत्वको सरकार, छोटो समयमा राष्ट्र र नेपाली जनताको जीवनमा देशद्रोही र अपराधी सावित भइसक्यो, जसले जनयुद्ध र जनआन्दोलनमा जीवन–मरणको संघर्ष गरी जनताले प्राप्त गरेका राजनीतिक अधिकार खोसेर जनताको राजनीतिक पार्टीमाथि ‘प्रतिबन्ध’ लगाएर दमन गरिरहेको छ; नेता–कार्यकर्ता र जनताको घोषित हत्या गर्दै हिँडेको छ; राजनीतिक आस्थाका कारण बेलगाम गिरफ्तारी र झुटा मुद्दा लगाइराखेको छ । भ्रष्टाचार, कमिसन र ठगीले राष्ट्रिय अर्थतन्त्र धराशायी भएको छ । सरकार र सरकारी पार्टीको आडमा राज्यको सम्पत्ति निजीकरण गरिँदैछ । राज्यको जग्गा कथित लिजका नाममा प्रधानमन्त्री ओलीकरण गरिँदैछ । शिक्षा र स्वास्थ्य माफियाहरुको व्यापार र लुटका हतियार भएका छन् । राज्यलाई ओली–प्रचण्डको गुटकरण गरिँदैछ । सामाजिक सुरक्षा, महिला बेचबिखन, लागूऔषध, व्यापार, बेश्यावृत्तिले देश आक्रान्त छ । महँगी वृद्धिले नेपाली जनता मर्नु न बाँच्नुको दोसाँधमा छन् । १५० रुपैयाँ किलोमा पाइने लसुनको मूल्यवृद्धि भई ६५० रूपैयाँ पुग्नुले मात्र पनि यसको पुष्टि हुन्छ । देशलाई यो अवस्थाबाट बचाउने अरु केही उपाय छैन, एक मात्र उपाय भनेको एकीकृत जनक्रान्ति हो, त्यो अनिवार्य सफल हुन्छ ।
तपाईंहरुको नेतृत्वमा पार्टी गठन भएको पनि ६ वर्ष पूरा भइसकेको छ, तपाईंहरुले भनेजस्तो क्रान्ति कहिले सम्पन्न हुन्छ ?
हामीले नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरेको ५ वर्ष पूरा भएर मंसिरदेखि छैटौं वर्षमा प्रवेश गर्यो । पहिलो कुरा त कुनै पनि देश र त्यहाँका जनतालाई मुक्ति दिलाउने, स्वाधीनता स्थापित गर्ने र अधिकारसम्पन्न बनाउने अचुक हतियार भनेको क्रान्ति नै हो । देश र जनताको जीवनमा क्रान्ति हुनु भनेको एउटा ठूलो राजनीतिक सवाल हो । यसका निम्ति देश र जनाताको हितमा राजनीतिक कार्य गर्ने सिद्धान्त भएको राजनीतिक प्रतिनिधि पार्टी हुनुपर्छ । अहिलेसम्म नेपाली जनताले दुःखको सामना गर्नुको र राष्ट्रले एकपछि अर्को घात व्यहोर्नु पर्नाको मुख्य कारण नेपाली जनता र देशको प्रतिनिधित्व गर्ने पार्टी नहुनु नै हो । नेपालको राजनीतिक आन्दोलनमा केही पार्टीहरुले प्रारम्भिक चरणमा देश र जनताको पक्षमा आफूलाई खडा गर्ने प्रयास गरे पनि पछिल्ला दिनमा विचलित भए । प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) यसको पछिल्लो जिउँदो उदाहरण हो । एउटा बडो खुशीको कुरा के छ भने आन्तरिक जीवन र बाह्य वस्तुस्थितिका भीषण प्रतिकूलताको सामना गरेर नेपाली जनता र हाम्रो देशले आफ्नो प्रतिनिधित्व गर्ने एक मात्र सच्चा राजनीतिक पार्टी पाएको छ, त्यो नेपाल कम्युनिस्ट पार्टी हो । हाम्रो पार्टी बनेदेखि एकीकृत जनक्रान्तिको नेतृत्व गरिराखेको छ ।
पछिल्लो दिनमा केपी ओली सरकारको ‘प्रतिबन्ध’, हत्या, आतंक, गिरफ्तारी, झुट्टा मुद्दालगायतका सबै षड्यन्त्रका तानाबानासहित दमन गर्दा पनि हाम्रो पार्टी र क्रान्ति प्रभावशाली र शक्तिशाली बन्दै गएका छन् । अझ यो तीव्रतामा बढ्दै जानेछ । यसलाई दुनियाँका कुनै पनि नवफासीवादले रोक्न सक्नेछैन । अहिले देशमा दलाल, पुँजीपतिवर्गको सामाजिक दलाल मुखुण्डो धारण गरेको केपी ओली सरकार र ओली–प्रचण्डको सरकारी नेकपाले कम्युनिस्ट पार्टी र समाजवादको रक्षाकवजमा मुक्तिकामी नेपाली जनता र सार्वभौम राष्ट्रका विरुद्ध नेपालको राजनीतिक इतिहासमा निरंकुशतावादी र फासीवादीहरुलाई माथ गर्दै बेलगाम अपराध गरिराखेका छन् । त्यसले एकीकृत जनक्रान्तिको सफलतालाई झन् निकट तुल्याएको छ ।
तपाईंहरुको आगामी रणनीतिबारे केही बताउन मिल्छ ?
उत्तर साम्राज्यवादले हाम्रो जनक्रान्तिलाई रोक्न, षड्यन्त्र गर्न र भ्रम छर्न ओली–प्रचण्डको सामाजिक दलाल अनुहार खडा गरे पनि दलाल सत्ता र संसदीय व्यवस्थाको पतन र विघटन रोक्न पूर्णतः असफल भए । हाम्रो पार्टी र जनक्रान्तिलाई ‘प्रतिबन्ध’ लगाएर ओली सरकारले मालिकको खातिरदारी गर्दा पनि झन् ठूलो भ्वाङ पार्ने बौलठ्ठीमा बदलियो । अब यसको अवशानलाई कसैले पनि रोक्न सक्नेछैन । हाम्रो पार्टीको आगामी रणनीति दलाल सत्ता, व्यवस्था र शासनको अन्त्य गर्नु रहेको छ । उक्त कार्यका निम्ति नेपाल कम्युनिस्ट पार्टी र जनक्रान्तिले पार्टीलाई सुदृढ र शक्तिशाली बनाउने, नेपाली जनता र परिवर्तनका पक्षधर शक्तिलाई एकताबद्ध पार्ने, जनक्रान्तिका मोर्चालाई गुणात्मक बनाउने र ओली सरकार एवं ओली–प्रचण्ड नेकपाको सामाजिक फासीवादी मुखुण्डो च्यातचुत पार्ने छ ।
तपाईंले भनेजस्तो नेपालमा वैज्ञानिक समाजवाद सम्भव छ भनेर जनतालाई कसरी आश्वास्त पार्नुहुन्छ ?
वैज्ञानिक समाजवाद अहिलेको विश्वका श्रमजीवी जनताको आफ्नै राजनीतिक कार्यदिशा हो; बहुसंख्यक मेहनतकस जनताको प्रतिनिधित्व गर्ने समाजव्यवस्था हो । १० वर्षको जनयुद्ध नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न सफल नहुनुकै कारण राष्ट्र एवं जनताले अहिलेको हृदयविदारक र संकटग्रस्त अवस्थाको सामना गर्नु परेको हो । देशमा विद्यमान विकराल समस्याहरुलाई पूर्णरुपले निर्मूल पार्न जनक्रान्तिको सफलता, वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना र नेपाली श्रमजीवी जनताको नेपाल कम्युनिस्ट पार्टीमार्फत् नेतृत्व सम्भव मात्र होइन, अनिवार्य आवश्यकता भइसकेको छ । यो राजनीतिक वास्तविकतालाई बुझ्न जति ढिलो गरिन्छ, त्यति नै दलाल पुँजीपति वर्ग र ओली सरकारले थप समस्या जन्माउनेछन् ।
यस अन्तर्वार्ताको पूर्णपाठ जनखबर डटकममा पढ्नोस् ।