newskoseli.Com

‘ढिकी’, ‘जाँतो’ र ‘हाते मुसल’ लोप हुँदै

पछिल्लो समय ग्रामीण भेगबाट ढिकी–जाँतो र हाते मुसल लोप हुँदै गएका छन् । गाउँघरमा भित्रिएका टुकटुके मिल र पानीघट्टको प्रचलन बढ्दै गएपछि कुटानी–पिसानी गर्ने ढिकी–जाँतो ग्रामीण भेगबाट लोप हुँदै गएका हुन् ।

ढिकी–जाँतो लोप हुँदा बिहान र बेलुकीपख ढिकी–जाँतोले गुञ्जायमान हुने गाउँघरका वस्ती सुनसान हुन थालेका छन् । ढिकी–जाँतोको आवाज नसुनिँदा गाउँघरमा अन्न उत्पादन हुनै पो छाडेको हो कि भन्ने भान हुन्छ । गाउँका सबै मानिस तराईको चामलमा भर परेर क्रमशः परनिर्भर बनेका पो हुन् कि भनेर आँकलन गर्न सकिन्छ ।

बिहानैको मिर्मिरेमा भालेको डाकसँगै उठेर कुटानी–पिसानी गर्नुपर्ने बाध्यता भोगेका गाउँका महिला आजभोलि गाउँघरमा भित्रिएका पानीमिल र आधुनिक घट्टले गर्दा सुविधा भएको बताउँछन् । ‘पहिले ढिकी–जाँतो र हाते मुसलले गर्दा हामीलाई दुःख हुन्थ्यो, आधुनिक घट्ट र टुकटुके मिल आएपछि सुविस्ता भएको छ,’ पश्चिम दैलेखस्थित ठाटीकाँध गाउँपालिका– १ की नैना शाहीले भनिन्– ‘कुटानी–पिसानीबाट बचत भएको समयलाई बालबच्चाको सरसफाइ र तरकारी खेतीमा लगाउने गरेका छौं ।’

आधुनिक घट्ट र टुकटुके मिलले गाउँमा पाइने जैविक अन्नको स्वाद भने फरक बनाइदिएको सोही ठाउँका ९० वर्षीय भगे कामीले बताए । ‘महिलाका दुःखमा कमी भए पनि खानाको स्वाद नै बिगार्‍यो, ढिकी र जाँतोमा कुटानी–पिसानी गरेका अन्नमा पाइने स्वाद पाइनै छाडेको छ’– उनले भने । गाउँमा आउने पर्यटकलाई आधुनिक मिल र पानीघट्टले रिझाउन नसक्ने दुल्लु नगरपालिका– ९, धामीगाउँका शेर्वानाथ योगीले बताए । उनका अनुसार घट्ट र मिलसँगै परम्परागत यन्त्र लोप हुन नदिने योजना सम्बन्धित निकायले ल्याउनुपर्छ ।

चामुण्डा बिन्द्रासैनी नगरपालिका– ८ की मनिषा शाही भने आधुनिक यन्त्रले किशोरी र महिलाका दुःख हटेकाले परिवर्तन आएको बताउँछिन् । ‘सात–आठ वर्ष पहिले विद्यालय जानुभन्दा अघि कुटानी–पिसानी गर्नुपर्थ्यो, अहिले स्कुल बिदाका दिन पानीघट्टमा गएर पिठो पिसेर ल्याइहाल्छम्’– उनले भनिन् । आधुनिक यन्त्रले गर्दा गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागी हुन पाउँदा केही चेतना जागेको उनले सुनाइन् ।

ग्रामीण भेगमा घट्टमा पिसानी गरेको शुल्क माना–पाथी दिइने चलन छ । तीस केजी गहुँ वा मकै पिसेको तीन माना गहुँ वा मकै तिर्नुपर्छ । मिलमा कुटानी–पिसानी गर्दा भने रकम तिर्ने गरिन्छ । महिलालाई केही सुविधा भए पनि आधुनिक मिल वा घट्टमा अहिले पनि महिलाकै उपस्थिति छ । जहाँ, जसरी काम भए पनि यस्ता जोखिमयुक्त काममा पुरुषको सहभागिता बढाउनुपर्नेमा आठबीस नगरपालिकाकी उपप्रमुख दीपा बोहोराको जोड छ । ‘हामीले आधुनिक परिवर्तनसँगै महिलाका दुःख देखेर पानीघट्ट बनायौं तर संस्कार बचाउनकै लागि ढिकी–जाँतोलाई हटाउनैपर्छ भन्ने अडान लिएका छैनौं ।’

उनका अनुसार स्वादिलो खानाका लागि हाते मुसल र ढिकी–जाँतो लोप हुन दिनुहुँदैन । उनले भनिन्– ‘पछिल्लो समय गाउँवस्तीबाट हाते मुसल र ढिकी–जाँतो लोप हुँदै गए पनि यहाँका वासिन्दा संस्कार बचाउन र खानाको स्वाद कायम राख्न पाहुनालाई भने ढिकी–जाँतोमै कुटानी–पिसानी गरेर तयार पारिएको खाना खुवाउने गर्छन् ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर