पछिल्लो समय हत्या–हिंसा र बलात्कारजस्ता जघन्य अपराधका घटनाहरु दिनानुदिन बढ्दै गइरहेका छन् । भर्खरै मात्र बझाङको मष्टा गाउँपालिका– २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भयो । कोरोनाको कहर र लकडाउनको बीचमा पनि यौनहिंसा र बलात्कारका घटनाहरु बढेर गएका देखिन्छन् । यस्ता घटनाहरु किन हुन्छन् ? यसका पछाडिको मनोवैज्ञानिक कारणहरु के–के हुन सक्छन् ?
असामाजिक व्यक्तित्व
यो प्रवृत्तिलाई ‘साइकोपाथ’ पनि भनिन्छ । यस्तो खाले मानसिक रोग लागेका व्यक्तिहरु आफ्नै घरपरिवारका र समाजका जोसुकैलाई पनि दुःख दिने, स–साना कुरामा पनि ठूलो बदला लिन खोज्ने, बलात्कार र हत्या गर्न समेत पछि नपर्ने आदिजस्ता जघन्य अपराध गर्न पछि पर्दैनन् ।
यौनको लत
यौनको लत लागेका व्यक्तिहरु यौनप्रति अति नै आशक्त हुन्छन् । जति गर्दा पनि उनीहरुमा यौनको प्यास मेटिँदैन । यस्तो यौन समस्या भएका व्यक्तिहरुले यौनको तिर्खा मेट्न आफन्त पनि नभन्न सक्छन् ।
अप्राकृतिक यौन व्यवहार
यस्तो प्रवृत्तिका व्यक्तिले यौनलाई सम्भोगको रुपमा भन्दा स्खलनको माध्यम बनाउँछन् । यस्ता व्यक्तिले अरुको भावना बुझ्न सक्दैनन् र स्वाभाविक यौन व्यवहार गर्न पनि जान्दैनन् । यस्ता व्यक्तिले बलात्कार गर्ने सम्भावना हुन्छ ।
नैतिक पतन
नैतिकरुपमा पतन भएका व्यक्तिले पशुभन्दा तल्लो व्यवहार गर्न सक्छन् । नैतिकरुपमा पतन भएका यस्ता व्यक्तिबाट आफन्त पनि बलात्कारको शिकार हुन सक्छन् ।
यौनकुण्ठा
कतिपय अविवाहित र कतिपय चाहिँ श्रीमतीबाट यौन–सन्तुष्टि लिन नसक्ने यौनकुण्ठाले भरिएका व्यक्तिले बलात्कार गर्न सक्छन् ।
यसखाले व्यक्तिहरु लागू पदार्थको सेवन गर्दा विवेक र चेतना गुमाउन सक्छन् र बलात्कार गर्न पुग्छन् ।
पोर्नोग्राफी र साइबर कुलत
पोर्नोग्राफीमा बाबुले छोरीसँग यौन सम्पर्क, दाजुले बहिनीसँग शारीरिक सम्बन्ध आदिजस्ता शीर्षकका अश्लील भिडियो धेरै भेटिन्छन् । यस्ता कुरा धेरै हेर्ने तथा यस्तै कुराको कुलत भएका व्यक्तिले नैतिकरुपमा पतन भई हाडनाता करणी गर्न सक्छन् ।
मानसिक रोग
मेनियाजस्तो कडा मानसिक रोग लागेको व्यक्ति सधैं उत्तेजित हुन्छ । उसको व्यवहार र विचार पनि अव्यावहारिक र अनौठो किसिमको हुन्छ । झट्ट हेर्दा ऊ रोगीजस्तो पनि देखिँदैन । उसको शरीरमा शक्ति पनि बढेर आउँछ । यौनको आवेग पनि तीब्र्र हुन्छ, जसलाई उसले नियन्त्रण गर्न सक्दैन र बलात्कार गर्न पुग्छ ।
शारीरिक कारण
शरीरमा यौन हर्मन बढ्दा यौनचाहना बढन गई आफूलाई यौनअनुशासनमा राख्न नसक्दा पनि बलात्कारका घटना हुन पुग्छन् ।
अति विश्वास गर्नु
घरपरिवारका सदस्यबीच चाहिनेभन्दा बढी घनिष्टता, अति विश्वास र नाताअनुसारको व्यवहार एवं अनुशासनमा बस्न नसक्दा पनि आफन्तबीच नै करणीका घटना हुन सक्छन् ।
मनोवैज्ञानिक असर
सानोमा यौन दुर्व्यवहारमा परेको व्यक्ति पनि पछि गएर यौन अपराधी हुन सक्छ ।
यौन अनुशासन नहुनु
सानैदेखि यौनअनुशासन नभएको, पतीत, विखण्डित, अनुशासनहिन र चरित्रहिन घरपरिवार तथा समाजमा हुर्केको बच्चा पछि गएर यौन–विचलिन हुन सक्छ ।
यी र यस्ता अन्य धेरै यौन समस्या (विचलन), मानसिक एवं मनोवैज्ञानिक समस्याका कारण आफन्तले नै आफन्तलाई जबर्जस्ती करणी गर्न सक्छन् ।
यस्ताे व्यक्तिलाई मानसिकरुपमा स्वस्थ व्यक्ति मान्न सकिँदैन किनकि मानसिकरुपमा स्वस्थ व्यक्तिले त समाजले स्वीकारेको मात्र काम गर्छ र काम गर्नु अगाडि परिणामको बारेमा सोच्छ; के ठीक, के बेठीक छुट्याउन सक्छ; आफ्नो आवेगलाई नियन्त्रण गर्न सक्छ; सामाजिक मूल्य–मान्यताको सम्मान गर्छ ।
यी र यस्ता गुण नभएको व्यक्ति मानसिक स्वास्थ्यका हिसाबले रोगी मानिन्छ ।
मार्क नेपाल मनाेसेवा केन्द्रका निर्देशक ढकाल मनोविद् हुन् ।