नेपालको राजनीतिक इतिहासमा बीपी कोइरालाका नामले चर्चित व्यक्तित्वको पूरा नाम हो– विश्वेश्वरप्रसाद कोइराला । ऐतिहासिक राजनीतिक व्यक्तित्वका बीपी त्यसमा मात्रै सीमित थिएनन्, झन् विराट साहित्यिक व्यक्तित्वका रूपमा समेत स्थापित छन् । राजनीतिक क्षेत्रमा ‘बीपी’ नामबाटै चर्चित उनी साहित्यिक क्षेत्रमा भने ‘विश्वेश्वरप्रसाद कोइराला’ नामबाटै सुविख्यात छन् ।
रामेछाप र काभ्रेपलाञ्चोकको सङ्गमस्थलस्थित सिन्धुली जिल्लाको सीमावर्ती गाउँ दुम्जा उनको थातथलो हो । उनका बाबु कृष्णप्रसाद कोइराला त्यहीं जन्मे तापनि बीपी कोइराला भने ८ सेप्टेम्बर, १९१४ (२४ भदौ, १९७१ वि.सं.) मा वाराणसी (भारत) मा जन्मेका हुन् बीपी । २१ जुलाई, १९८२ (६ साउन, २०३९ वि.सं.) मा काठमाडौंमा निधन भएका बीपीको जीवनकाल जम्माजम्मी ६८ वर्षको रह्यो ।
सन् १९३२ मा वनारसबाट उच्च माध्यमिक शिक्षा पूरा गरेका उनले वनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरे । त्यसपछि कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गरेपछि बीपीले केही वर्ष दार्जिलिङ बसेर कानुन व्यवसायीका रूपमा त्यहीं काम समेत गरे ।
सन् १९३० ताका भारतमा चलिरहेको ‘स्वतन्त्रता आन्दोलन’ मा सहभागी भएर त्यसै बेलादेखि बीपीले राजनीतिक जीवन सुरु गरेका हुन् । उनी समेतकै पहल र नेतृत्वमा सन् १९४७ मा भारतमै स्थापित ‘नेपाली राष्ट्रिय काङ्ग्रेस’ पछि गएर ‘नेपाली काङ्ग्रेस’ मा रूपान्तरित भएको हो । काङ्ग्रेस राजनीति अगाडि बढाउने सिलसिलामै उनी राणाविरोधी ‘प्रजातान्त्रिक’ आन्दोलनका अग्रणी नेता बन्न पुगे । ‘राष्ट्रिय मेलमिलापको नीति’ का प्रयोगकर्ता बीपी नै नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री (सन् १९५९–६०) हुन् ।
नेपाली कथामा मनोवैज्ञानिक धाराका प्रवत्र्तक विश्वेश्वर सिग्मण्ड फ्रायडको मनोवैज्ञानिक–मनोविश्लेषणात्मक मान्यताबाट प्रभावित लेखनका कारण ‘फ्रायडवादी’ लेखकका रूपमा समेत चर्चित रहे । विश्वेश्वरका चर्चित उपन्यास, कथासङ्ग्रह, संस्मरणात्मक कृति र कवितासङ्ग्रह प्रकाशित छन् । उनका केही निबन्ध र समालोचनात्मक रचनाहरू समेत प्रकाशित छन् ।
‘तीन घुम्ती’ (२०२५), ‘नरेन्द्र दाइ’ (२०२७), ‘सुम्निमा’ (२०२७), ‘मोदीआइन’ (२०३६), ‘हिटलर र यहुदी’ (२०४२) र ‘बाबु, आमा र छोरा’ (२०४५) विश्वेश्वरका औपन्यासिक कृतिहरू हुन् । ‘दोषी चस्मा’ (२००६), ‘श्वेतभैरवी’ (२०४४) र ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा’ (२०५०) उनका कथासङ्ग्रहहरू हुन् । ‘आफ्नो कथा’ (२०४०), ‘जेल जर्नल’ (२०५४) र ‘विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त’ (२०५५) उनका जीवनी–आत्मकथात्मक कृति हुन् । ‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ (२०५९) नामक उनको कवितासङ्ग्रह समेत प्रकाशित छ ।
विश्वेश्वरप्रसाद कोइरालाका अधिकाङ्श कथाहरूमा यौनाकर्षण र त्यसबाट उत्पन्न हुने कुण्ठाको जीवन्त प्रस्तुति प्रष्फुटित छन् । उनले नारी–पुरुषबीचको आकर्षणभावलाई कथात्मक ढाँचामा प्रस्तुत गरेका छन् । ‘रिक्सा तान्ने’, ‘सिपाही’, ‘हरिदत्त’ जस्ता केही कथाबाहेक अन्य अधिकाङ्श कथामा पुरुषप्रति नारीहरूको यौनाकर्षण प्रस्तुत गरिएको छ ।
सामान्य हिसाबले बुझ्न खोज्दा यौनमनोविज्ञानमा आधारित कथाहरू अश्लील, अशिष्ट, अनैतिक र समाजका निम्ति अपाच्य समेत हुन सक्दछन् । कथाकार कोइरालाले भने यौनलाई समेत शिष्ट, श्लील, सभ्य, नैतिक र समाज–ग्राह्य ढङ्गबाट प्रस्तुत गरेका छन् । दमित यौनेच्छा वा कामवासनाबाट पीडित पात्रहरूका मनको विश्लेषण नै कोइरालाका अधिकाङ्श कथाका मुख्य विषयवस्तु हुन् ।
‘स्कुल मास्टर’, ‘महाराजको सवारी’, ‘एकरात’, ‘राइटर बाजे’, ‘सान्नानी’ आदि कथामध्ये ‘राइटर बाजे’ नारी मनोविज्ञानमा आधारित कथा हो भने अरु कथाहरू पुरुष मनोविज्ञानमा आधारित छन् । ‘सान्नानी’ भने बालमनोविज्ञानमा आधारित कथा हो ।
‘दोषी चश्मा’, ‘शत्रु’, ‘होड’ आदि भने मनोविश्लेषणयुक्त कथा हुन् । ‘बिहा’, ‘पुस्तक’, ‘कथा’, ‘सिपाही’, ‘दुलही’, ‘हरिदत्त’, ‘द्वन्द्वप्रेम’, ‘बौलाहा’, ‘प्रेम (दोस्रो)’, ‘रिक्सा तान्ने’ आदि पुरुष यौनमनोविज्ञानमा आधारित मनोवैज्ञानिक कथा हुन् । त्यस्तै, ‘मधेसतिर’, ‘चन्द्रवदन’, ‘कर्नेलको घोडा’, ‘पवित्रा’, ‘श्वेतभैरवी’, ‘स्वेटर’, ‘सखी’ आदि नारी यौनमनोविज्ञानमा आधारित मनोवैज्ञानिक कथा हुन् ।
गहिरो वैचारिक एवम् सैद्धान्तिक अध्ययन गरेका विश्वेश्वर आफूले युनिभर्सल कल्चर (विश्व संस्कृति) मा विश्वास गर्ने गरेको बताउँथे । ‘साहित्य सभ्यताको प्रतीक हो’ भन्ने बुझाइका उनी ‘सङ्गीत र भावको सम्मिश्रणबाट जन्मेको उच्चतम् दर्शन नै साहित्य हो’ भन्ने मान्यता राख्दथे । उनी आफू अर्थविद् वा आर्थिक विशेषज्ञ नभएको बताउँथे तर ‘जुन विकासले ग्रामीण जनतालाई पछाडि छाडिदिन्छ, त्यो ‘विकास’ विकास नै होइन’ भन्दथे । ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरिरहेसम्म राष्ट्रको जग मजबुत हुँदैन’ भन्ने उनको दृष्टिकोण थियो ।
‘कसैले कसैको आलोचना गर्दा त्यो व्यक्तिगत हुनुहुँदैन, कटुताहीन र सैद्धान्तिक हुनुपर्छ’ भन्ने मान्यताका विश्वेश्वर ‘सिद्धान्त त्यागेर कसैसँग पनि सम्झौता गर्नुहुँदैन’ भन्दथे । ‘जीवन भनेकै एउटा सुनिश्चित जोखिम हो’ भन्ने उनको बुझाइ थियो ।