newskoseli.Com

माधव नेपालको पार्टीमा कार्यविभाजन : कुन–कुन जिम्मेवारीमा को–को ?

तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सो पार्टीबाट अलग भई बनेको नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको जिम्मेवारी तोक्दै कार्यविभाजन गरेको छ । सो पार्टीको स्थायी कमिटीको बैठकले मुलुकका ७ मध्ये ६ प्रदेश तथा उपत्यका विशेष प्रदेश कमिटी, प्रचार विभाग प्रमुख र प्रवास इन्चार्ज समेत तोकेको छ ।

त्यसैगरी उक्त पार्टीले वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । दस्तावेज मस्यौदा समितिका सदस्यहरुमा डा. बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, डा. विजय पौडेल, प्रकाश ज्वाला, जगन्नथ खतिवडा, केशवलाल श्रेष्ठ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, राजेन्द्र राई र गणेश विक रहेका छन् । छिट्टै आयोजना हुने राष्ट्रिय सम्मेलनमा पेस हुने दस्तावेजहरुको मस्यौदा उक्त समितिले तयार पार्ने भएको छ ।

एकीकृत समाजवादीले ६ सदस्यीय केन्द्रीय सचिवालय पनि गठन गरेको छ । सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्त राई र जीवनराम श्रेष्ठ रहेका छन् । केन्द्रीय सचिवालयको पहिलो बैठक आइतबार दिउँसो ३ बजे बस्दैछ ।

प्रदेश– १ को इन्चार्जमा घनेन्द्र बस्नेत, प्रदेश– २ को इन्चार्जमा धर्मनाथ साह, वागमतीको इन्चार्जमा केदार न्यौपाने, गण्डकीको इन्चार्जमा केशवलाल श्रेष्ठ, लुम्बिनीको इन्चार्जमा भागवत विश्वासी, कर्णालीको इन्चार्जमा प्रकाश ज्वाला तोकिएका छन् र सुदूरपश्चिम प्रदेश इन्चार्ज भने तोक्न बाँकी रहेको स्थायी कमिटीका सदस्य डा. भुसालले जानकारी दिएका छन् ।

त्यसैगरी उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशको इन्चार्जमा विजय गुरुङ, मोर्चा इन्चार्जमा डा. विजय पौडेल, प्रचार विभाग प्रमुखमा जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साह तोकिएका छन् । भदौ २ मा अलग पार्टी घोषणा गरेर निर्वाचन आयोगमा निवेदन दिएको सो पार्टीले आयोगबाट भदौ ९ मा मान्यता पाएको थियो ।

सोही पार्टीको हालसम्म दुई पटक स्थायी कमिटीको बैठक बसिसकेको छ । ती दुवै बैठकबाट नेताहरूको कार्यविभाजन टुंगिएको जानकारी डा. भुसालले दएिका हुन् । माधव नेपालको अध्यक्षतामा रहेको यस पार्टीको स्थायी कमितिटीमा अध्यक्ष नेपाल, वरिष्ठ नेता खनाल, डा. बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र केशवलाल श्रेष्ठ छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर