नेपाली समाजमा दिनहुँजसो हत्या–हिंसा र बलात्कारजस्ता दुःखद् घटनाहरु घट्ने गरेका छन् । रेडियो–टेलिभिजन या सामाजिक सञ्जालहरुमार्फत यस्ता घटनाहरुबारे हामी जानकारी पाउँदछौं । कतिपय घटनाहरु त समाजमा हाम्रै वरिपरि पनि हुने गरेका छन्; हामीले प्रत्यक्ष देख्नु–भोग्नु समेत परेको छ ।
हत्या–बलात्कारजस्ता घटनाहरु मात्र होइन, दुर्व्यसनीहरुका कथा–व्यथाको पनि यहाँ कमी छैन । ‘सानो होउन्जेल मर्ला भन्ने पीर, ठूलो भएपछि मार्ला भन्ने पीर’ भन्ने उखान त्यस्ता परिवारलाई चरितार्थ हुन्छ यहाँ, जो कुलतको दुर्व्यसनमा फसेका हुन्छन् । त्यस्तो दुर्व्यसनीले आमा–बुबा वा परिवार कोही पनि भन्दैन । उसको एउटा मात्रै उद्देश्य हुन्छ– आफ्ना लागि लागू औषधको आपूर्ति । उसको सोही क्रियाकलापका कारण परिवारमा कति ठूलो बज्रपात पर्ने गरेको हुन्छ, उसलाई पत्तो समेत हुँदैन ।
दुर्व्यसनमा फसेकाहरुलाई उपचारका लागि भन्दै प्रशस्त ‘रिह्याव सेन्टर’ हरु खुलेका छन् । त्यहाँ पुगेपछि काेही सुध्रिन्छन् त काेही भने त्यहीं लामो समय बसेर निस्किएपछि पनि फेरि सोही बाटोमा लागेका उदाहरणहरु पनि थुप्रै भेटिन्छन् ।
बलात्कार तथा यौनजन्य क्रियाकलामा परिवारबाट अपहेलित भएका, विभिन्न कारणले बाबु–आमासँग छुट्टिएर बसेका, उपयुक्त यौनशिक्षा नपाएर, त्यसलाई रहस्यमय ठानेर प्रयोग गर्न उत्साहित हुनेहरु, मानसिक सन्तुलन गुमाएकाहरुबाट पनि यस्ता अपराध धेरै हुने गरेको तथ्यांकले देखाउँछ ।
कुलतमा लागेका छोरा–छोरी, ‘बलात्कारी’ वा ‘हत्यारा’ को परिवार अझ भनौं आमा बन्न निकै कठिन हुन्छ । त्यो कुरा भोग्नेलाई मात्रै थाहा हुन्छ । पीडितले त सहानुभूति समेत पाउँछ, पीडकको परिवारलाई समाजले सहजै स्वीकार गर्दैन । दोषी एक जना हुन्छ तर उसका आफन्तहरु आमा–बाबु, दाजु–भाइ, दिदी–बहिनी, छोरा–छोरी इत्यादि निर्दोषहरुलाई चाहिँ समाजमा बाँच्न नै चुनौती सिर्जना हुन्छ ।
अझ पछिल्लो समय फस्टाएका सामाजिक सञ्जालहरुमा ‘अपराधी’ को तस्बिर सार्वजनिक गरिँदा र समाचारहरुमा उसको नाम–ठेगाना सार्वजनिक हुँदा उसका परिवारजन थप समस्यामा पर्छन् । देशका कुनै कुनाकाप्चामा घटेका घटनासँग जोडेर ‘अपराधी यही हो’ भन्दै तस्बिरसहित सार्वजनिक गर्नेहरुले उसका निर्दोष परिवारजनमा पर्न जाने नकारात्मक असरप्रति गम्भीर ध्यान पुर्याउनु जरुरी हुन्छ ।
यस्ता घटना अशिक्षित र आर्थिकरुपले विपन्नहरुमा बढी हुने गरेको पाइन्छ । सरकारी तवरबाट नै अपराधीलाई कडाभन्दा कडा कारबाही नगरिनु र समुचित कानुनी व्यवस्था नहुनुले अपराधीहरुको मनोबल बढ्ने र एउटै अपराधीले बारम्बार अपराध दोहोर्याइरहने अवस्था पनि समाजमा छँदैछ ।
यस्ता घटना हुन नै नदिनका लागि पहल गर्नु आजको अवश्यकता रहेको प्रेरणा महिला विद्यालयकी संस्थापक अध्यक्ष राधा तिमल्सिनाको भनाइ छ । ‘बलात्कारविरुद्ध स्वतन्त्र अभियान’ नै सञ्चालन गरेर त्यसको अगुवाइ गर्दै आएकी उनी भन्छिन्– ‘विभिन्न ओहोदामा रहेर समाजमा योगदान पुर्याइरहेका समाजसेवीहरुलाई एकीकृत गरी बलात्कार–हत्या तथा लागू पदार्थ दुव्र्यसनीविरुद्ध समाजमा कसरी कदम चाल्न सकिन्छ भन्नेबारे हामीले बारम्बार र पटक–पटक छलफल गर्दै आएका छौं ।’
समाजमा घटेका आपराधिक घटनाहरुलाई सानैदेखि नजिकबाट नियाल्दै आएकी तिमल्सिनाले आजको दिनसम्म आइपुग्दा त्यस्ता आपराधिक धेरै घटनामा संलग्नहरुका बाबु–आमासँग प्रत्यक्ष–अप्रत्यक्षरुपमा घुलमिल हुन पाइन् । उनकै विद्यालयमा पढ्ने एक आमा दुव्र्यसनमा लागेको छोरालाई रिह्याव सेन्टरमा पठाएर विद्यालय आई विक्षिप्त भएर रुँदा आफूले काँध दिनुपरेको समेत अनुभव छ उनीसँग । ‘बलात्कारीकी आमा’ हुनुपर्दा सामाजिक तिरस्कारका कारण विक्षित भएर मानसिक सन्तुलन गुमाउन पुगेकी आमाको वास्तविक घटना पनि सुनाइन् उनले ।
‘पानी लिन धारामा जाँदा समेत ‘बलात्कारीकी आमा आई’ भन्ने र छिःछिः र दूरदूर गर्ने, छोरा–छोरीलाई विद्यालयमा साथीभाइहरुले हेला गर्ने र समाजबाटै बहिष्कार समेत गर्ने गर्दा अन्ततः ती आमा मानसिक सन्तुलन नै गुमाउन पुगिन्’– तिमल्सिनाले सुनाइन् ।
‘हत्यारा, बलात्कारी छोराकी आमालाई कस्तो पीडा हुन्छ भन्ने मैले महसुस गरेकी छु, देखेकी छु’, उनी भन्छिन्– ‘आमाहरु बिलौना गरेर रोएका, डिप्रेसनमा पुगेका र पागलजस्तै भएका घटना त कति छन्, कति । म नाम लिन्न, त्यो बिजोगपछि म आफैंले अस्पताल पुर्याएकी एक जना आमाको । अहिले उहाँ स्वस्थ हुनुहुन्छ तर उहाँले लामो समयसम्म डिप्रेसनको औषधि नै खानु परेको थियो ।’
यात्राका क्रममा त्यस्ता थुप्रै आमा–दिदीहरुसँग भेटेको र उनीहरुको पीडा महसुस गरेको तिमल्सिनाको अनुभव छ । ‘त्यस्ता आमाहरुले मसँग आफ्नो पीडा बाँडेर मन हल्का पार्ने कोसिस गर्छन्,’ तिमल्सिना भन्छिन्– ‘बलात्कारपछि हत्यासम्म हुने गरेका हाम्रो समाजका घटना ज्यादै लाजमर्दा र मानवजाति भन्न पनि घीनलाग्दा अपराध हुन् ।
जानी–नजानी यस्ता अपराधमा पहुँचवालाहरुको पनि संलग्नता हुने गरेको उनको अनुभव छ । फितलो ‘कानुनी व्यवस्थाकै कारण दोषी उम्कन सफल भएका कयौं घटनाहरु हामीसामु छन्’– उनले सुनाइन् ।
समाजमा घट्ने आपराधिक घटना टाढाबाट हेर्दा सामान्य लाग्छन् तर नजिकैबाट नियाल्दा वा आफैंलाई पर्दा भने बज्रपात नै हुन्छन् । यस्ता अपराधहरु समाजमा भित्रभित्रै भुसको आगो झैं सल्किएकाले न्यूनीकरणका लागि सरोकारवालाहरुको ध्यान जानु जरुरी रहेको तिमल्सिनाको भनाइ छ । समाजमा चेतनाको आगो फुकेर आफ्ना नानी–बाबुहरुलाई आपराधिक घटनामा संलग्न हुनबाट जोगाउन सकिने उनको सुझाव छ ।
‘आफ्नो सन्तान कस्तो छ, कतातिर लाग्दै छ भन्नेबारे सबैभन्दा बढी आमालाई नै थाहा हुन्छ,’ उनी भन्छिन्– ‘त्यसपछि परिवार अनि उसले पढ्ने गरेको विद्यालय वा उसलाई पढाउने शिक्षक–शिक्षिकालाई थाहा हुन्छ । उहाँहरुले नै नजिकबाट नियाल्न र बेलैमा सचेत भइदिन सकेमा यस्ता घटनाबाट जोगाउन सकिने सम्भावना बढी हुन्छ ।’
‘त्यस्तै घटना वा दुर्घटना भइहाले उसको परिवारमा परेको बज्रपातलाई भने परिवार बसेर सरसल्लाह गरी केही कम गर्न सकिन्छ,’ उनी थप्छिन्– ‘पीडकको परिवारलाई समाजमा गरिने व्यवहारमा परिवर्तनका लागि पनि चेतना जगाउनु जरुरी छ ।’
बलात्कार–हत्याजस्ता घटना हुन नदिनका लागि नागरिकलाई कसरी तयार पार्नुपर्छ भन्नेबारे राज्यले पूर्वाधार निर्माण गर्नुपर्ने, आवश्यक तालिम दिनुपर्ने, बेला–बेलामा योग्य व्यक्तिबाट प्रशिक्षण दिनुपर्ने र यस्ता आपराधिक घटनाविरुद्ध स्कुलमा नैतिक शिक्षा प्रदान गर्नुपर्ने उनको धारणा छ । व्यक्ति, परिवार वा समाज, स्कुलहरु समेत सुसूचित र जागरुक भए राज्यलाई पनि दाबाव पुग्ने भएकाले अपराधी उम्कने सम्भावना कम हुने उनको बुझाइ छ ।
बलात्कारजस्तो जघन्य अपराध न्यूनीकरणका लागि के–कसरी अगाडि बढ्न सकिन्छ भनेर तिमल्सिनाले आफ्नै अगुवाईमा नजिकिका प्रतिष्ठित समाजसेवीहरुसँग पटक–पटक छलफल गर्दै आएकी छन् । पछिल्लो पटक शनिबार (१० पुसमा) पनि ललितपुरको जालाखेलस्थित सगरमाथा स्कुलको प्रांगणमा आफूले विभिन्न ओहोदामा रहेर समाजमा योगदान पुर्याइरहेका दर्जनबढी समाजसेवीहरुसँग यसै विषयमा छलफल गरेको उनले बताइन् ।
उक्त छलफलमा सुशीला शर्मा, ज्योतिलाल वन, रमणलाल कर्ण, जनककुमारी चालिसे, कुमारी महरा, सरस्वती रेग्मीलगायत विभिन्न ओहोदामा क्रियाशील व्यक्तित्वहरु सहभागी थिए । सो छलफलबाट कक्षा ९–१२ सम्मका विद्यार्थीहरुसँग अन्तर्क्रिया गरी समाजिक अपराधका विषयमा सजग गराउने निर्णय गरिएको उनले बताइन् ।
तिमल्सिनाले अगुवाइ गरिरहेको अभियान स्वतन्त्र भए पनि समाजको परिवर्तनका लागि राजनीतीकरण या एनजीओकरण जेसुकै गरेरै भए तापनि देशको भित्र–भित्रसम्म पुगोस् र चेतना फैलियोस् भन्ने उनको चाहना छ । आफूले परिवर्तनका लागि सुरुआत त गरेको तर यो अभियान ‘धागोबाट चुँडिएको चंगा’ झैं टाढा–टाढासम्म पुग्न बाँकी नै रहेको उनले सुनाइन् ।
यो अभियान समाजमा विभिन्न क्षेत्रसम्म विस्तारित भई चेतना फैलियोस्, नागरिकमा परिवर्तन आओस् भन्ने उनको चाहना छ । आफ्नो यो अभियान राष्ट्रव्यापी बन्दै आपराधिक घटना न्यूनीकरणका लागि व्यापक पहलकदमी लिन सकिने उनको अपेक्षा छ ।