सदरमुकाम कुश्मा बजारमा सञ्चालित दुईवटा क्याम्पस एकापसमा गाभिएर एउटै भएका छन् । आर्थिक मन्दी, सरकारको असहयोग र विद्यार्थी सङ्ख्या समेत वर्सेनि घट्दै गएपछि गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पस गाभिएर कुश्मा बहुमुखी क्याम्पस बनाइएको छ ।
गुप्तेश्वर क्याम्पस २०४८ देखि र शिवालय बहुमुखी क्याम्पस २०६७ देखि सञ्चालित हुँदै आएका थिए । क्याम्पस एकीकरणका लागि शिवालय बहुमुखी क्याम्पसको व्यवस्थापन समितिका पूर्वअध्यक्ष गोविन्द पहाडीको संयोजकत्वमा बनेको समितिले शनिबार अन्तिम टुङ्गो लगाएको हो । नयाँ नामकरण भएको कुश्मा बहुमुखी क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले अनुमति दिएको छ ।
यसअघिका दुवै क्याम्पस सञ्चालक समितिका पदाधिकारी, प्राध्यापक तथा सञ्चालक सदस्यको उपस्थितिमा आठ वटा उपसमिति गठन गरिएका थिए । ती समितिले दुई क्याम्पस ‘मर्ज’ गर्नका लागि कानुनी प्रावधानहरूको संशोधनदेखि क्याम्पस सञ्चालनको आगामी खाकासम्म प्रस्तुत गरेका थिए ।
गुप्तेश्वर बहुमुखी क्याम्पसमा अहिले स्नातकोत्तर सहित २ सय ६२ र शिवालय बहुमुखी क्याम्पसमा २ सय ६८ जना विद्यार्थी छन् । एकातिर क्यापसमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दै जाने र अर्कातिर क्याम्पसको प्रशासनिक र सञ्चालन खर्च बढ्दै जाने क्रम नरोकिएपछि एकीकरण गर्नुुपरेको संयोजक पहाडीको भनाइ छ । दुवै क्याम्पसका सञ्चालक समितिले क्याम्पसलाई एकीकरण गरी सबल, परिस्कृत, आधुनिक र एकीकृत क्याम्पस स्थापना गर्नु आवश्यक रहेको महसुस गरी एकीकरण प्रकिया अघि बढाइएको जनाएका छन् । एक वर्षको प्रयासपछि सबै प्रक्रिया पूरा भएको पहाडीले बताए ।
क्याम्पस एकीकरण प्रक्रिया टुङ्गिएसँगै दुवैतर्फ सञ्चालित कक्षाहरुलाई चालु शैक्षिक सत्रदेखि नै एकीकृत रूपमा सञ्चालन गरिने भएको छ । बजारमा रहेको शिवालय बहुमुखी क्याम्पस र करिव दुई किलोमिटर टाढा छमर्केमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसमा सञ्चालित कक्षाहरुलाई विद्यार्थी तथा प्राध्यापकहरूको अनुकूलताअनुसार सञ्चालन गरिने उनले बताए । दुवै क्याम्पस समुदायद्वारा नै सञ्चालन भएका थिए ।
पर्वतभर १२ सामुदायिक क्याम्पस सञ्चालनमा छन् र ती सवैजसो क्याम्पसमा विद्यार्थी सङ्ख्या न्यून छ । विद्यार्थी सङ्ख्या न्यून हुँदा अधिकांश क्याम्पस बन्द हुने अवस्थामा पुगेका छन् ।