भर्खरै सकिएको नयाँ शक्तिको राष्ट्रिय भेलाले के–के काम गर्यो ?
यो राष्ट्रिय भेला पार्टीघोषणा भेला हो । यसअघि हामीले औपचारिक रुपमा पार्टी घोषणा गरेका थिएनौं, त्यही काम गर्याे यस भेलाले । पार्टीको आन्तरिक पाटोका अरु धेरै कामहरु समेत गर्नुपर्ने भएकाले ३० गते पार्टी घोषणा गरिसकेपछि ३१ र ३२ गते औपचारिक रुपमा तिनै विषयहरुसँग सम्बन्धित रहेर गहन छलफल गर्याैं । हामी कसरी अगाडि जान्छौं भन्नेबारे, हामीले गर्न खोजेका कामहरुको कार्यतालिकाबारे साथीहरुमा सम्प्रेषण गरेर उहाँहरुको बिदाई गर्याैं । भेलामा साथीहरुले हामीमाथि सुम्पनुभएका कामहरुको स्वामित्व लिँदै ९–१० गते सचिवालयको बैठक बसी थप योजना बनाएर हामी अगाडि बढ्छौं ।
भेलाले नीति–सिद्धान्तबारे चाहिँ के–कस्ता निर्णय गर्यो ? तपाईंहरुको पार्टीले अँगाल्ने विचारबारे पनि समाजमा ठूलै प्रश्नचिह्न छ नि ?
विचार भन्ने कुरालाई मानिसको जीवनमा परिवर्तन ल्याउने र मान्छेलाई खुशीसाथ अगाडि बढ्न प्रेरित गर्ने शिक्षाको अर्थमा बुझ्नुपर्छ । विचार धर्मग्रन्थ वा आस्थाका रुपमा मात्रै मान्ने कुरा होइन । समाजलाई परिवर्तन गर्न सक्ने विचारलाई पार्टीले ग्रहण गर्नुपर्ने हुन्छ । हामीले प्रारम्भिक रुपमा ‘५–स’ भनेर सार्वजनिक गरेका छौं, त्यो पनि विचार नै हो । हामी इमानदार हुनुपर्छ, सरल हुनुपर्छ, राष्ट्रियता र सार्वभौमिकतालाई माया गर्नुपर्छ, हाम्रो प्रणाली लोकतान्त्रिक हुनुपर्छ, समावेशी–समानुपातिक प्रतिनिधित्वसहितको व्यवस्था हुनुपर्छ भन्ने कुरा नै हाम्रो विचारको सार हो । अन्ततः हामी पुग्ने भनेको समृद्ध समाजवादमा नै हो । यो नै हाम्रो पार्टीको विचार हो । यिनै मान्यताको वरिपरि रहेर नै हामीले छलफल चलायौं । कसैले ठ्याक्कै एक वाक्यमा भन्नोस् भनेर सोध्छ भने समाजवादउन्मूख वाम–लोकतान्त्रिक प्रणालीसहितको दृष्टिकोण नै हाम्रो विचार हो ।
भडकिलो र आक्रामक प्रचारशैली अनि तपाईंहरुले सार्वजनिक गर्नुभएको आय–व्यय विवरणबीच पटक्कै तालमेल देखिएन भन्नेहरुले कसरी गलत भने ?
हामीले प्रचारको शैली ‘सिफ्ट’ गरेकै हो । देशकै ठूलो पार्टी बनाउने, राष्ट्रको शासन प्रणालीसम्म पुग्ने, आर्थिक समृद्धि ल्याउने, बीस वर्षभित्रै नेपाललाई अन्तर्राष्ट्रियस्तरको विकासमा पुर्याउने लक्ष्य लिएको पार्टीले सानो दिमागले सोचेर हुँदैन । हामी ‘एग्रेसिभ्ली’ नै जान खोजेका हौं । प्रचार पनि त्यही ढंगले गर्याैं, अभियान पनि त्यही रुपमा गर्छौं, कार्यक्रम पनि सोही रुपमा गर्छौं । राष्ट्रिय भेलाका लागि पार्टी प्यालेस वा अरु साना ठाउँ सोचेनौं, रंगशाला सोच्यौं । हिजो पोस्टर टाँसेर सयौं–हजारौं साथीहरुलाई हप्तौंसम्म परिचालन गरेर भित्तामा लेख्दै प्रचार गर्थ्यौं । त्यसमा पनि खर्च त हुन्थ्यो नै । मान्छेहरुमा सूचना पुर्याउने त्यसखाले पुरानो तरिकालाई अहिले हामीले छाडिदियौं । सोचाइ, प्रक्रिया र प्रविधिमा आएका नयाँ–नयाँ परिवर्तन र भएका विकासअनुसार पुरानो विधिमा गरिने खर्चलाई नयाँ विधिमा केन्द्रित गरेका हौं । आय–व्यय विवरण पनि सार्वजनिक गरेका छौं । कतिपय कुरामा त प्रचार गर्नेले पनि सहयोग गर्न सक्छन्, त्यो अर्थमा पनि बुझ्नुपर्छ । प्रचार गर्नेहरुले हामीलाई सहयोग गर्नै नहुने वा गर्न नपाउने भन्ने त छैन नि ! पार्टी सदस्य नै एक लाखभन्दा बढी भएपछि झन्डै डेढ करोड त सदस्यता शुल्कबाट मात्रै जुट्ने भैहाल्यो । हामी सबैले ५–१० हजार स्वैच्छिक रुपमा हालेका छौं । केही साथीहरुले थप सहयोग पनि गर्नुभएको छ । अरुले पनि सहयोग गरेका छन् । यति ठूलो पार्टी बनाउन लागिपरेकाहरुका निम्ति दुई–चार करोड उठ्नु र खर्च हुनु ठूलो कुरा हुँदै होइन ।
एमाओवादीबाट छुट्टिनुभएका तपाईंहरु र अरु विभिन्न पृष्ठभूमिबाट आएका मान्छेहरु मिलेर आज नयाँ शक्ति बन्यो । हिजो एमाओवादीभित्र रहँदा तपाईंहरुको विचारसमूहमै रहेका थुप्रै नेता–कार्यकर्ताहरु त तपाईंहरुले मार्क्सवाद नै छाड्नुभयो भनेर उतै बसे नि ?
त्यस्ता साथीहरु जो–जो, जहाँ–जहाँ हुनुहुन्छ– त्यहीं–त्यहींबाट खुशीसाथ देश र जनताका निम्ति काम गर्नुहुन उहाँहरुलाई हाम्रो शुभकामना छ । हामीसँगै यहाँ नआउने स्वतन्त्रता पनि त उहाँहरुलाई छ । हिजो कुनै प्रसंगमा बनाइएको विचारसमूहमा रहनुभएका साथीहरु सबै जहिले पनि हामीसितै हुनुपर्छ भन्ने कुनै बाध्यता छैन । त्यो विचारसमूह बाहेकबाट अरु चाहिँ यहाँ आउनै हुँदैन भन्ने पनि त बाध्यता छैन । हामीले हिजो एउटा आवश्यकतामा जुन विचार, दृष्टिकोण र शैली अपनायौं– त्यही नै सधैं भइरहनुपर्छ भन्ने पनि छैन । समय–परिस्थितिअनुसार विचार र व्यवहारलाई समृद्ध पार्दै जाने कुरा हो ।
तपाईंहरुले मार्क्सवाद छाडेको चाहिँ हो कि होइन ?
हामीले मार्क्सवाद छाड्यौं भनेर कहीं पनि भनेका छैनौं र अस्वाभाविक रुपले ‘मार्क्सवाद–मार्क्सवाद’ भन्दै भट्याएर हिँडेका पनि छैनौं । त्यतिबेलाको समाजमा मार्क्सले जे–जे कुरा प्रतिपादन गर्नुभएको थियो, ती कुरामध्ये कति आजको युगमा कार्यान्वयन गर्ने र कामकाजी हुने खालका छन् भने कतिलाई विकसित गरेर अहिलेको युगअनुसार अगाडि बढाउनुपर्ने आवश्यकता छ । ती विषयहरुलाई हामीले अलग पारेर हेर्नुपर्ने हुन्छ । मार्क्सवादका सार्वभौम विषयहरुलाई हामी छाड्दैनौं । त्यतिबेला मार्क्सले बनाउनुभएका कार्यक्रमहरुका कतिपय कुरालाई अहिले तीन सय वर्ष अगाडि बढिसकेको विश्वमा पुनर्विचार गर्नुपर्छ । हामीले भनेको यत्ति हो । हाम्रा समर्थक वा आलोचक वा जो–कसैले पनि यी–यी विषय लिए र यी–यी छाडे भन्नुभन्दा पनि हाम्रा दस्तावेजहरु र व्यवहारलाई हेरेर बोल्दा राम्रो हुन्छ ।
माओवादी र गैरमाओवादी पृष्ठभूमिका नेता–कार्यकर्ता मिलेर बनेको पार्टी हुनाले नीति निर्धारण र संगठनात्मक सिद्धान्तको विकास तथा प्रयोगमा तपाईंहरुभित्र ठूलै अन्तर्द्वन्द्व र समस्या सिर्जना भएको कुरा पनि साँचो होइन र ?
यो प्रचारवाजी खालि ‘चियाको कपमा तूफान’ भन्ने नेपाली उखानजस्तै मात्र हो । हामीले भर्खरै पार्टी घोषणा गरेका छौं तर पार्टी घोषणा हुनुपूर्व नै आलोचकहरुले अनेकथरी अनुमानहरुको प्रचार थालिसकेका थिए । यताबाट यो लगेका छन्, उताबाट ऊ ल्याएका छन् त्यसकारण उनीहरुको पार्टी नै बन्दैन भनेर ज्योतिषीले भनेजस्तो वा नेपालकै भाग्य र भविष्यको ‘भविष्यवाणी’ गरेजस्तो उहाँहरुले प्रचार गर्नुभो । वास्तवमा हाम्रो पार्टीभित्र त्यसखाले अन्तर्द्वन्द्व र समस्या सिर्जना भएको कुरा साँचो होइन । हाम्रो पार्टी नै नबनोस् भनेर इच्चा गर्ने साथीहरुले त्यस प्रकारको हल्ला गर्दै हिँड्नुभएको हामीले देखे–सुनेका छौं । पहिलो कुरा यही हो । दोस्रो कुरा, मानिसहरुका बीच छलफल–बहस, क्रिया–प्रतिक्रिया हुनु स्वाभाविक कुरा हो । एउटै मार्क्सवाद–लेनिनवाद–माओवाद, जनवादी केन्द्रीयता, असाध्यै केन्द्रीकृत नेतृत्व प्रणाली र सबै कुरा एकै हुनुपर्छ भन्ने मान्छेहरुका बीचमा त कुरो मिलेन र टुक्रा–टुक्रा हुनुपर्याे भनेदेखि विविधताहरुबीच कुरा मिलाएर अगाडि लाने कुरा त्यति सहज र स्वाभाविक छैन । यद्यपि हामीले यसलाई अत्यन्तै कुशलतापूर्वक व्यवस्थापन गरेका छौं, गर्दै अगाडि बढिरहेका छौं । पार्टीभित्र अलिअलि विविधता देखिनु लोकतन्त्रको प्रचलित मान्यता नै हो । विविधता हुनुपर्छ, विविधताका बीच प्रतिस्पर्धा हुन्छ, छलफल हुन्छ, बहस हुन्छ, क्रिया हुन्छ, प्रतिक्रिया हुन्छ । यो समाजको नियम हो, ब्रह्माण्डभरिकै नियम हो । व्यक्ति–व्यक्तिबीच पनि अन्तर्विरोध अभिव्यक्त हुनु लोकतान्त्रिक प्रणालीको मेरुदण्ड नै हो । यही कुरामाथि टेकेर हाम्रो पार्टीभित्र मतभेद बढ्यो, अन्तर्द्वन्द्व चर्कियो भनेर गरिएको प्रचार गलत हो । विचारका हिसाबले, संगठनका हिसाबले, कसरी जाने भन्ने कार्यक्रम र योजनाका हिसाबले हाम्रा विविधताहरु अभिव्यक्त हुन सक्छन् । यी कुरामा हामी महाधिवेशनसम्म छलफल गर्दै जान्छौं, महाधिवेशनमै पनि बहस गर्छौं । तर, हाम्रो पार्टी र हामीबारे अहिले जे–जसरी प्रचार गरियो, त्यस्तो चाहिँ बिल्कुलै होइन ।
सत्ताधारी गठनबन्धनबीच अबको डेढ वर्षभित्रै स्थानीय, प्रान्तीय र संघीय गरी तीनवटै चुनाव गरिसक्ने कार्यतालिकामा सहमति भइसकेको चर्चा छ । भर्खरै घोषणा भएर निर्वाचन आयोगमा दर्ता गर्नै बाँकी तपाईंहरुको पार्टीले चुनावको कसरी सामना गर्छ र आफूलाई ठूलो पार्टी सिद्ध गर्न सक्छ ?
पहिलो कुरा त डेढ वर्षभित्रै तीनवटा चुनाव गराउँछौं भनेर सरकार र सत्ताधारी दलहरुले हास्यास्पद कुरा गरिरहेका छन् । राष्ट्र र जनताको जिम्मेवारी लिएर संयोजनकारी भूमिका निर्वाह गरिरहेको ठाउँबाट यसखाले अशोभनीय आश्वासनहरु बाँडिनु नितान्त गलत कुरा हो । पहिलो कुरा त सरकारले यो जवाफ दिनुपर्याे कि जारी भएको संविधान लागू कहिलेदेखि र कसरी हुन्छ ? संविधान जारी भएको छ, लागू भएको छैन । प्रदेशहरुको नामांकन र सीमांकनको विषय नै नै अल्झेको छ, टुंगो लागेकै छैन । यी कुराहरु टुंगो नलागीकन सबै निर्वाचनहरु डेढ वर्षभित्रै गर्छु भन्नुमा कुनै तादात्म्यता छैन । दोस्रो कुरा, संविधान घोषणा हुने बेलादेखि नै आफ्नो स्वामित्व र अपनत्व छुट्यो भनेर निरन्तर आन्दोलनरत पक्षहरुको व्यवस्थापन नगरीकन संविधानको पूर्ण कार्यान्वयन र निर्वाचन गर्ने कुरा त्यति सहज हुँदैन । तेस्रो कुरा, नेपाली कांग्रेसजस्तो संसदभित्रको सबभन्दा ठूलो पार्टीको सहमति र स्वीकृतिविना जबर्जस्ती चुनाव गर्ने कुरा सहज हुँदैन । सरकार र सत्ताधारी दलहरुले पहिले यी विषयहरुको टुंगो लगाएर मात्रै चुनावको कुरा गर्न थाल्नु उचित हुन्छ ।
यी त बहसका कुरा भए, चुनावै भयो भनेचाहिँ के गर्नुहुन्छ ?
उहाँहरुले कुन मोडलमा स्थानीय चुनाव गर्ने ? संविधानको प्रावधानअनुरुप कि अर्कै प्रकारले ? संसदको चुनाव कुन प्रावधानअनुसार गर्ने ? २४० स्थानका लागि गर्ने कि १६५ स्थानका लागि ? हामीले सीमांकन कुन आधारमा, कसरी गर्छौं ? नगरपालिका कुन–कुन हुन्छन् ? कमसेकम यी कुराको टुंगो नलागी चुनाव गर्ने प्रचार गर्नु भनेको पुरानै मोडलतिर फर्कने प्रयास हो । संविधान एकातिर, उहाँहरुको सोच अर्कैतिर भएपछि कहींकतै तादात्म्यता मिल्दैन । यी सबैका बाबजुद पनि ‘स्टेप’ मिलाएर चुनाव गर्छौं भनेर कहींबाट जबर्जस्ती निर्णय नै भएर आयो भनेचाहिँ सबैखाले चुनावको सामना गर्न हामी तयार छौं । हामी मानसिक रुपले चुनावका निम्ति तत्पर छौं र मानसिकता बनाएका छौं कि चुनाव आउँदा जति सक्छौं– अगाडि बढ्छौं र राम्रै सफलता प्राप्त गर्छौं ।
हामीले नसोधेका, तपाईंले भन्न खोजेका केही कुरा छन् कि ?
देश र जनतासँग अब अरु कुनै विकल्प र बाटा छैनन् । तपाईं–हामी सबै नेपालीहरुका सामु अबको बीस वर्ष चाहिँ फेरि पनि विचार, दर्शन, दृष्टिकोणमा बढ्ता माथापच्ची गर्नुभन्दा जीवनमा परिवर्तन ल्याउनका निम्ति समृद्धिको बाटोमा हिँड्नुको विकल्प छैन । समृद्धिको बाटोमा हिँड्नु, रोगजारीका निम्ति पहल लिनु, नागरिकहरुले आफूलाई स्वावलम्बी, आत्मनिर्भर र सार्वभौम–स्वतन्त्र बनाएर अन्तर्राष्ट्रियस्तरमा उठाउन लागिपर्नुको विकल्प छैन । सबैले यही विचारलाई आत्मसात गरेर अगाडि बढ्नु अहिलेका निम्ति देशको आवश्यकता हो । यहाँको सञ्चार माध्यमले पनि देशलाई त्यही बाटोमा लैजानका निम्ति विनापूर्वाग्रह भूमिका निर्वाह गरोस् ।
(जनजिब्रो साप्ताहिकबाट, प्रस्तुति : केदारनाथ गौतम )