
नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले मुलुकमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बिहीबार कुराकानी गर्दै संयोजक डा. भट्टराईले मधेसी र थारुले उठाएका सीमाङ्कनको मागलाई समाधान गरेर मुलुकमा राजनीतिक स्थिरता कायम भएपछि मात्रै निर्वाचन गराउन सुझाव दिए।
संविधान संशोधन गरेर मधेसको समस्या समाधान गर्नुपर्ने विषयमा जोड दिँदै उनले संविधानसभाबाट संविधान जारी भइसकेको अवस्थामा अब संविधानको पुनर्लेखन असम्भव रहेको स्पष्ट पारे।
मधेसका समस्या समाधान नगरी स्थानीय निकाय, प्रादेशिक र सङ्घीय संसद्को निर्वाचन हुन नसक्ने भएकाले संविधान संशोधन गरी समस्या समाधान गर्नुपर्ने डा. भट्टरार्इले औंल्याए ।
संयोजक डा. भट्टराईले मुलुकमा राजनीतिक स्थिरता कायम नभएसम्म विकास निर्माण र आर्थिक समृद्धि सम्भव नभएको बताउँदै उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको बताए ।