विषय प्रवेश
नेपालमा पाइने स्थानीय जातका ७ किसिम गाईहरु अछामी गाई, खैला गाई, लुलु गाई, पहाडी गाई, तराई गाई, सिरी गाई र याक हुन् । यीमध्ये सुदूरपश्चिममा पाइने अछामी गाई संसारको सबैभन्दा सानो गाई हो । खैला गाई नेपालमा पाइने स्थानीय जातका गाईहरुमध्ये सबैभन्दा ठूलो गाई हो ।
त्यसैगरी नेपालमा पाइने स्थानीय जातका ३ किसिमका भैंसीहरु गड्डी भैंसी, लिमे भैंसी र पारकोटे भैंसीमध्ये गड्डी भैंसी सबैभन्दा ठूलो भैंसी हो । नेपालमा पाइने गाईभैंसीका जातहरुका लागि सुदूरपश्चिम धनी छ । ती गाईभैंसीहरुका बारे संक्षिप्तमा चर्चा गरौं–
सुदूरपश्चिममा पाइने स्थानीय गाईभैंसीका जातहरुः
१. अछामी गाई
यस गाईको उत्पत्ति अछाम जिल्लामा भएको भए तापनि बझाङ, बाजुरा र डोटीमा समेत पाइन्छ । संसारको सबैभन्दा सानो मानिएको यस गाईलाई नौमुट्ठे गाई पनि भनिन्छ । यसको रंग कालोदेखि सेतो, खैरो, खरानी, टाटेपाटे आदि हुन्छ ।
अछामी गाईको उचाई १ मिटरभन्दा कम ,शारीरिक तौल १ सय २० देखि १ सय ५० केजीसम्म, दानापानी कम खाने र रोग कम लाग्ने हुन्छ । यो करिव ४ वर्षको उमेरमा बयस्क भई ५ वर्षको उमेरमा पहिलो बेत ब्याउँछ । २ सय २५ दिनको दुहुनो अवधिमा दैनिक औसत दूध उत्पादन १ देखि ४ लिटरसम्म हुनेगरेको पाइन्छ । दुई बेतको अन्तर औसत १७ महिना हुन्छ । यसको संख्या घटदै गइरहेकाले संरक्षण गर्नु आवश्यक छ ।
२. खैला गाई
यसको उत्पत्ति सुदूरपश्चिमाञ्चल क्षेत्रको पहाडी जिल्ला खासगरी बैतडी, डडेल्धुरा, डोटीमा भएको पाइन्छ । यो कम उत्पादन क्षमता भएको गाई हो र यसले सामान्य व्यवस्थापनमा पनि उत्पादन गर्न सक्छ । यसको साँढे तथा गोरु रिसालु स्वभावको, सिङ सिधा र माथितिर फर्केको, शरीर बलियो भएको, मालसामान बोक्न र खेत जोत्नका लागि उपयुक्त हुन्छ ।
खैला गाई अन्य स्थानीय जातका गाईहरुभन्दा ठूलो शरीर भएको हुन्छ । । यो ३.५ वर्षको उमेरमा बयस्क भई ४. ५ वर्षको उमेरमा पहिलो बेत ब्याउँछ । यसको गर्भधारण अवधि २ सय ८८ दिनको हुन्छ । यसले ३ सय ५ दिनको दुहुनो अवधिमा दैनिक औसत २.५ लिटर दूध दिन्छ । दुई बेतको अन्तर औसत १८ महिना हुन्छ ।
३. गड्डी भैंसी
यसको उत्पत्ति सुदूरपश्चिमाञ्चलको पहाडी भेगमा भएको हो । यसको शरीर गाडीजस्तै ठूलो भएकाले गड्डी राखिएको मानिन्छ । यो भैंसीको रंग कालो र निधारमा सेतो थोप्ले तारो भएको कहींकतै खैरा र फिक्का रंगको हुन्छ । लामो अनुहार, फराकिलो निधार र टाउको, सिङ लामो अर्धघुमाउरो, खुट्टा छोटो, मोटो र बलियो, पीठ धेरै चौडा र पुच्छर लामो हुन्छ ।
यस्तो भैंसीको पूर्ण विकसित फाँचो र दूधका नसा स्पष्ट देखिने हुन्छ । यो भैंसी बधुवाभन्दा चरिचरनमा रमाउँछ । सामान्यतया ३ वर्षको उमेरमा बाली जाने र दुई बेतको अन्तर औसत २३ महिना हुन्छ ।
औसत शारीरिक तौल ४ सय ५२ केजी, गर्भधारण अवधि ३ सय ३० दिन र दूध दिने अवधि ४ सय २० दिन हुन्छ । दैनिक औसत ३.५ लिटर दूध दिन्छ । यो स्थानीय जातका अन्य सबैभन्दा ठूलो र बढी दूध दिने भैंसी हो । यसको संख्या घट्दो अवस्थामा रहेकाले संरक्षणमा ध्यान दिनु आवश्यक छ ।
नेपालमा पाइने स्थानीय जातका गाईहरुको विवरण
नेपालमा पाइने स्थानीय जातका भैंसीहरुको विवरण
निष्कर्ष
अछामी गाई संसारकै सबैभन्दा सानो गाई भएकाले यो पाल्न सजिलो तथा दूध उत्पादन क्षमता पनि राम्रो भएकाले सहरी क्षेत्रका लागि उपयुक्त हुन सक्छ । पहाडी क्षेत्रमा सुर्का जोत्नका लागि अछामी गाईको गोरु उपयुक्त हुनुका साथै खैला गाईको गोरु खेत जोत्न तथा गाडा तन्नको लागि समेत उपयोगी हुन्छ ।
गड्डी भैंसी स्थानीय जातहरुमध्ये सबैभन्दा ठूलो शरीर र दूध उत्पादन क्षमता पनि बढी भएकाले दूध उत्पादनका साथै मासु उत्पादनका लागि समेत उपयुक्त हुन सक्दछ । स्थानीय जातका वस्तुहरु स्वादिलो हुने भएकाले दिन प्रतिदिन बजारमा माग बढिरहेको पाइन्छ ।
हाल देशभरि गुणस्तरीय मासु उत्पादनका लागि पाडापालन कार्यक्रमको लहर तीब्र रुपमा चलिरहेको छ । पाडापालनका लागि गड्डी जातको भैंसी उपयुक्त हुन सक्छ । नेपाल कृषि अनुसन्धान परिषदद्वारा मासुका लागि पाडापालनसम्बन्धी अनुसन्धान जारी नै रहेको छ । उपर्युक्त तथ्यहरुले स्थानीय गाईभैंसीका जातमा धनि सुदूरपश्चिम भन्ने कथनको पुष्टि गर्दछ ।
(लेखक केन्द्रीय गाईभैंसी प्रबर्द्धन कार्यालय, हरिहरभवनका पशु विकास अधिकृत हुन्)