कति गरिब, कति धनी लोभी–पापी अनि
पसिना र पौरखले ल्याउँछ यश पनि ।
धर्तीमाता सन्तान तिम्रा बराबरी हुन् कि
अँध्यारोमा खोज्दै जाँदा पूर्णिमाको जून कि ।
बिहानीको मिर्मिरेमा भाले कराउँछ कि
डाँडामाथि आकाशमा तारा उदाउँछ कि ।
बिहानीमै खनी–खोस्री हत्केलाको माटो
सम्झी ल्याउँदा परिजान्छ मुटु मेरो गाँठो ।
धर्तीको गर्भभित्र अमृतको खानी ।
मेरी माता कस्ती रहिछेउ हृदयकी दानी ।
आशिर्वाद बाँढिरहिछेऊ सन्तान मेरा भनी
बराबरी हेरिदेऊ न नजरले गनी ।
मलाई केही चाहिँदैन बलबाहु मेरा
चौडा छाती कर्मयोगी हिम्मत मेरो शेरा ।
आशिर्वाद पाए पुग्छ मेरो प्यारो धर्ती
तोडिदिन्छु फोरिदिन्छु चट्टानको पर्ती ।
आशिर्वाद भए पुग्छ जनमजनमलाई
अरु किन चाहियो र मरिजानेलाई ।
प्रकृतिको सौन्दर्यमा छङछङ गर्ने खोला
किन मरिमेट्नु छ र मरिजाने चोला ।