newskoseli.Com

चितुवाको डरले घरभित्रै दिसापिशाब !

दर्जनौं गाउँमा बासोवास गरिरहेका नागरिकले घरभित्रै दिसापिसाब गर्ने गरेका छन् भन्ने सुन्दा अचम्म नमान्नुहोला । तर, यो कुरा साँचो हो । अहिले यसै गर्न बाध्य छन् बैतडीको तल्लो स्वराडका बासिन्दा ।

राज्य पक्षबाट समेत हेपिएको भनिने बैतडीको दक्षिणी क्षेत्र तल्लो स्वराडमा ५ वर्षयता चितुवाले २१ को ज्यान लिइसकेपछि डरका कारण स्थानीय बासिन्दाले घरभित्रै दिसापिसाब गर्ने गरेका हुन् ।

एकपछि अर्काे गर्दै चितुवाले बालबालिका र महिलामाथि आक्रमण गर्न थालेपछि यस्तो बाध्यता आइलागेको हो । गत वर्ष वैशाख ६ गते आँगनमा खेलिरहेका बेला आफ्नै आँखा अगाडि चितुवाले आक्रमण गरी ७ वर्षिय नाति शिवराज साउदको ज्यान लिएको घटना सम्झँदै उदयदेव– ४ का कृष्ण साउदले भने– “नातिलाई आक्रमण गरेको त्यो क्षणको स्मरण ताजै छ ।”

गएको वर्ष शिवराज मारिनुअघि चितुवा तल्लो स्वराडमा मानव वस्तीतिर देखिएको थिएन । त्यसैले स्थानीय बासिन्दा समेत त्रासबाट मुक्त भइसकेका थिए । तर, केही दिनअघि साँझ एक्कासि आएको नरभक्षी चितुवाले उदयदेव मकैल ब्याल्धमका हिरा चन्दकी ७ वर्षिया छोरी चञ्चला चन्दलाई आँगनमा खेलिरहेका बेला आक्रमण गरेपछि स्थानिय बासिन्दा त्रसित बनेका छन् । उनको मृत शरीर घरभन्दा करिव ७ सय मिटर टाढा खोलामा फेला परेको थियो ।

“दिउँसो तथा रातिको समयमा हँसिया, खुकुरीलगायतका सामग्री बोकेर मात्रै घरबाट निस्कने गरेका छौं,” उदयदेव– ४ का शिवराज साउदले भने– “महिलाहरु घाँसदाउरा तथा खरफागला गर्न समेत समूहमा जाने गरेका छन् । ” बालबालिकालाई विद्यालय पठाउँदा समेत पाको मान्छे सँगसँगै जानुपर्ने अवस्था छ ।

तल्लो स्वराडकै विशालपुर– ७ का जनक भट्टका भतिजा ७ वर्षिय नवीन भट्टको पनि ४ वर्ष पहिला चितुवाकै आक्रमणबाट ज्यान गएको थियो । एकपछि अर्को गर्दै लगातार चितुवाले आक्रमण गर्न थालेपछि वस्तीमै भय व्याप्त हुन पुगेको छ ।

महाकाली– ६ का मोहनबहादुर चन्द भने वन विभागले चितुवा मार्न स्थानीय बासिन्दालाई अनुमति नदिँदा यस्तो घटना दोहोरिँदै आएको बताउँछन् । उदयदेवका स्थानीय बासिन्दा वीरेन्द्र महताले राज्यले जहिले पनि तल्लो स्वराड भनेर हेप्ने गरेकाले समस्या विकराल बन्दै गएको बताए ।

“केन्द्रबाट सुदूरपश्चिम भनेर हेपियो, सुदूरपश्चिमका सदरमुकाम तथा सुगम ठाउँका जनताले सधैं तल्लो स्वराड भनेर हेपे । त्यसैले समस्या थपिँदै गएको हो”, उनले भने– “यो समस्या समाधान गर्न अब राज्य नै तयार हुनुपर्छ ।”

चितुवाले घरभित्रै पसेर आक्रमण गरेपछि स्थानीय बासिन्दा बढी त्रसित भएका हुन् । “घरआँगनै असुरक्षित भएपछि ढुक्क भएर विद्यालय पठाउन सक्ने अवस्था छैन”, चन्दले भने– “बालबालिकामाथि आँखैअगाडि आक्रमण हुँदै आएको छ ।”

प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले यो घटना दुःखदायी भएकाले यसबारे छिट्टै पहल थालिने बताए । उनले भने–“पीडित पक्षलाई तत्काल राहत वितरण गर्छौं र त्यसपछि चितुवा नियन्त्रणको अभियान थाल्छौं ।”

तल्लो स्वराडको कुलाउ, विशालपुर, आमचौरा, महाकाली, पञ्चेश्वर, शर्माली, उदयदेव लगायतका गाविसमा चितुवाको आक्रमणबाट अहिलेसम्म २१ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । चितुवाले विशेष गरी साँझतिर बालबालिका र महिलामाथि बढी आक्रमण गर्ने गरेका छन् ।

वि.सं. २०६८ देखि चितुवाले तल्लो स्वराड क्षेत्रमा आक्रमण गर्न सुरु गरेको तथ्याङ्क छ । जिल्ला वन कार्यालय बैतडीको तथ्याङ्कअनुसार चितुवाले तल्लो स्वराडमा २०६८ मा ४, २०६९ मा ११, २०७० मा ३ र २०७१, २०७२ तथा २०७३ मा १–१ को ज्यान लिए ।

मृत्यु हुनेमध्येमा विशालपुर गाविसका ९, पञ्चेश्वर र आमचौरा गाविसका ३–३ , उदयदेव गाविसका ३ र कुलाउ, गिरेगाडा तथा शर्माली गाविसका ११ जना रहेको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए । मृत्यु हुने २१ मध्ये १८ जना १५ वर्षमुनिका बालबालिका छन् ।

जिल्ला वन कार्यालयकै तथ्याङकअनुसार ५ जना चितुवाको आक्रमणबाट घाइते भएका छन् । घाइते हुनेमा गुजर– ४ का १८ वर्षिय बासुदेव पन्त, रेडिदेवल– ५ की लीला भण्डारी, उदयदेव– ७ की कमला महता, उदयदेव– ५ की ललिता साउद र महाकाली गाविसका सचिन साउद छन् ।

स्थानीय बासिन्दाले पटकपटक चितुवा नियन्त्रणको माग गर्दै आएका छन् । वि.सं. २०६९ असोजयता वन कार्यालयले पटकपटक हिंस्रक चितुवा नियन्त्रणमा लिने प्रयास गरे पनि असफल हुँदै आएको छ । चितुवाले महिनैपिच्छे ज्यान लिएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले २०६९ मा चितुवा मार्न नेपाली सेना र प्रहरी परिचालन गरेको थियो ।

अनुसन्धान गर्न आएको चितवन राष्ट्रिय निकुञ्जका विशेषज्ञ टोलीले आहारको कमी, घरआँगनमा राति उज्यालो नहुनु जस्ता कारण चितुवाले मानवसिकार गर्न थालेको औंल्याएको थियो ।

जिल्ला वन कार्यालयले गत वर्षदेखि कैलाश पवित्र भूपरिधि संरक्षण र विकास कार्यक्रमको सहयोगमा चितुवाका लागि आवश्यक पर्ने बासस्थानको संरक्षण, चितुवाले खाने वन्यजन्तुको अवैध शिकारमा रोक, वासस्थानको खण्डीकरणमा रोकलगायत चितुवाको आक्रमणबाट जोगिन अपनाउनुपर्ने उपायहरुका बारे प्रभावित क्षेत्रका १६ वटा सामुदायिक वनका प्रतिनिधिहरुलाई ३ स्थानमा सचेतना गोष्ठी सञ्चालन गर्दै आएको छ ।

कार्यालयले चितुवाकाे आक्रमणवाट आफन्त गुमाएका २० परिवार र केही घाइते परिवारलाई गत वर्ष सौर्यबत्ती वितरण गरेको जनाएको छ ।
यसैबीच, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोगसम्बन्धी निर्देशिका, २०६९ अनुसार १४ मृतकका परिवारलाई प्रतिपरिवार १ लाख ५० हजार रूपैयाँका दरले र ६ मृतकका परिवारलाई ३ लाख रूपैयाँका दरले राहत उपलब्ध गराइएको जिल्ला वन कार्यालय बैतडीले जानकारी दिएको छ । गम्भीर घाइते २ जनालाई ५० हजार रूपैयाँका दरले र सामान्य घाइते भएका ३ जनालाई १० हजार रूपैयाँका दरले राहत उपलब्ध गराइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर