newskoseli.Com

कथा : आलिङ्गन प्रेम

साथीलाई भेट्न भनेर आरआर क्याम्पसको गेटबाट भित्रिँदै थिएँ । कतैबाट सुरिलो स्वर मेराे कानमा प्रतिध्वनित हुँदै थियो– ‘नमस्कार सर ।’

‘नमस्कार ।’

नमस्कारको प्रतिउत्तर त दिएँ तर मान्छे चिन्न सकिनँ ।

उनलाई ठम्याउँन नसकेर म दोधारमा थिएँ । दोधारमा परेको चाल पाएर उनले भनिन्– ‘रुविना घिमिरे । एडिसी ट्युसन सेन्टरबाट । रबिन्द्र सरसँग आउनुभएको थियो नि तपाईं । त्यस बेलादेखि मैले तपाईंलाई चिनेकी थिएँ ।’

बल्ल ठम्याएँ । म एडिसी ट्युसन सेन्टरमा कम्प्युटर पढाउँथें, उनी भर्खर रिसेप्सनिस्टमा जागिर गर्न थालेकी थिइँन् ।

उनलाई नियालेँ मैले । लगभग २०–२१ वर्षकी हुँदिहुन् । गहुँगोरो वर्णकी । चम्किलो बाटुलो अनुहार । सर्लक्क परेको कपाल । क्षेत्रीबाहुनकै छोरी हुनुपर्छ । सुखैमा हुर्किएजस्ती । नाक र कान छेड्दा शरीरमा लागेका चोटबाहेक अरू केही चोटपटक नलागेजस्तो । यति चम्किलो अनुहारका नाक र कान छेडेर झुन्डिएका फुली र मुन्द्राको बारेमा म सोचिरहेको थिएँ ।

‘रमेश सर !’ उनको मुखबाट एक्कासि आवाज आयो ।

म गेटको छेउमा टाँसिएको नोटिसबोर्डमा आँखा जुधाएजस्तो गरेर टोलाइरहेको रहेछु । बल्ल होसमा आएँ ।

‘हजुर’, मैले आत्तिँदै जवाफ दिएँ ।

‘हिँड्नुहोस् जाउँ बसेर चिया पिउँदै परिचय गरौँला’, मैले असहज मान्दै भनेँ ।

‘हस् ।’

म अगिअगि । रुविना र उनकी साथी पछिपछि लागेका थिए । चिया खानु त थियो । मैले पसलमा गएर मेन्यु नै नहेरी तिन कप ब्ल्याक टी अर्डर गरेँ । हामी परिचय आदानप्रदानमा लाग्यौँ ।

‘तपाईंको घर कहाँ हो नि ?’ मैले नै परिचयको सुरुआत गरेँ ।

‘सर्लाही ।’

‘अध्ययन ?’

‘बिए पहिलो वर्ष ।’

‘कुन कलेज ?’

‘त्रिचन्द्र ।’

‘बसाइ कहाँ नि ?’

‘ताचहल ।’

‘कोसँग बस्छ्याै ?’

‘म र दिदी ।’

‘अनि तपाईंको परिचय नि ?’ उनले सोधिन् ।

मैले तपसिलमा सोधेका प्रश्नको लिस्टअनुसार एकैमुष्ठमा उत्तर दिएँ– ‘नामः रमेश भण्डारी । घरः खोटाङ । अध्ययनः बिए सकाएर बिसाउँदै । अर्को वर्ष मास्टर पढ्ने सुरसारमा । कलेजः आरआर । अब कुन कलेज पढ्छु, थाहा छैन । कोठाः मैतीदेवी । मसँग भाइ र बहिनी बस्छन् ।’

‘कुन ब्याचको विद्यार्थी हो तपाईं ?’ आरआर कलेजमा त मेरी दिदीले पनि पढ्नुभएको थियो’, मेरो परिचय सुनिसकेपछि उनले सोधिन् ।

‘दिदीको नाम के हो नि ?’ मैले सोधेँ ।

‘रमा घिमिरे ।’

‘ए मैले चिनेँ । उनी मेरै ब्याचकी छात्रा हुन् । एकदम मिहेनेती विद्यार्थी थिइन् । बिए सकाएर बसिरहेकी छन् । एउटा पत्रिकामा रिपोर्टिङ र मार्केटिङमा काम गर्छिन् । हामी पढ्दा विशेषतः उनको र मेरो सम्झौता नै भएको थियो– साहित्यिक पुस्तक किनेर पढ्न सम्भव हुँदैन ।

विद्यार्थी सयममा पैसा हुँदैनथ्यो । कुनै साहित्यिक किताब हातमा पर्यो भने हामी दुईमा आदानप्रदान गरेर पढ्ने अवसर पाउँथ्यौँ । अहिले उनी कता, म कता’, मैले रुविनालाई भनेँ ।

‘रमेशसँग भेट भएको थियो, उसले सम्झेको छ रे भन है तिम्री दिदीलाई’, मैले भनेँ ।

‘हवस् ।’

‘तिम्रो रुचि केमा छ नि ?’ कुराकानीलाई निरन्तरता दिएँ ।

‘पत्रकारिता तथा साहित्य अध्ययन ।

‘ए त्यसो भए त कुनै साहित्यिक कार्यक्रममा बोलाइए जान्छ्याै होला नि है ?’

‘जान्छु नि, रमाइलो लाग्छ तर साथी नभएकाले जाने गरेकी छैन ।’

‘साहित्यिक जमघट हुँदा तिमीलाई बोलाउँछु नि ।’

‘हवस् ।’

कुरैकुरामा मैले रुविनासँग आएकी उनकी साथीसँग परिचय गर्न भुलेँछु ।

‘अनि तपाईंको परिचय नि ?’ मैले रुविनाकी साथीलाई सोधेँ ।

‘नामः अञ्जना शर्मा । घरः बाइसधारा । उनले छोटो परिचयमै औपचारिकता पूरा गरिन् ।

मैले भनेँ– ‘हवस् । भेट भएर खुसी लाग्यो अब छुट्टिऔँ ।’

‘सरको मोबाइल नम्बर दिनुस् न’, अञ्जनाले भनिन् ।

मोबाइल नम्बर दिएँ । त्यहाँबाट हामी छुट्टियौँ ।
– – – – – –
हप्ता दिनपछि मेरो मोवाइलमा अपरिचित नम्बरबाट फोन आयो ।

‘सर नमस्कार । म रुविना । एडिसी इन्स्टिच्युटबाट । म बिरामी परेर आज आउन सकिन । नजिकैको पुस्तक पसलमा अफिसको साँचो छाडेको छु । अफिस खोलेर बस्दै गर्नुहोला ।’

‘हस् । स्वास्थ्यको ख्याल राख है ।’ मैले भनेँ ।

म बिहान एडिसी इन्सटिच्युट र दिउँसो पब्लिकेशनमा काम गर्थेँ । बिहानको कक्षा सकाएर पब्लिकेशन गएँ । प्रथमतः फेसबुक लगइन गरेँ ।

नयाँ फ्रेन्ड सिक्वेस्ट आएको रहेछ । नाम हेरेँ, घिमिरे रुवि । म नचिनेको जोसुकैको रिक्वेस्ट आएपनि एसेप्ट गर्थेँ त्यो पनि गरेँ । केटाको सिक्वेस्ट आएको भए चासो हुन्नँ थियो होला । केटीको भएकोले को रहेछ भनेर प्रोफाइल क्लीक गरेँ । उनै रुविना घिमिरे मित्रताको सूचीमा थपिएकी थिइन घिमिरे रुवि बनेर ।

हाम्रो फेसबुकमा हाइ–हेलो, सञ्चो–विसञ्चो आदान–प्रदान हुनथाल्यो । साथीको बहिनी भएकोले म रुविनासँग कमै बोल्थेँ । बहिनीकै रूपमा हेर्थें ।

दस–पन्ध्र दिनपछिको कुरा हो । मेरै अफिसबाट प्रकाशित भएको मेरो साथीको उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानबाट बिमोचन हुनेभयो ।
मैले उनलाई झट्ट सम्झिएँ र फोन डायल गरेँ । ‘म आउँदै छु एकछिन पर्खनुहोस् ।’ उनले भनिन् ।

हामी अफिसका साथी दुईजना, ऊ गरी चार जना भयौँ । मेरा अफिसका साथी अगाडि–अगाडि रुविना र म पछाडि–पछाडि गफिँदै गयौँ ।

साथीहरू आफ्नै गतिमा हिडिरहेका थिए । हामी पनि गफमा मस्त थियौँ । बाटो साँघुरो भएकोले सँगै एउटै गतिमा हिँड्न सम्भव थिएन । कोही मान्छे आएभने अरूलाई साइड दिँदा कहिले उनी अगाडि त कहिले म अगाडि हुने गर्थ्यौं । बटुवाको आवतजावतले हामीलाई बाधा पुर्याईरहेको थियो । लाग्थ्यो एकछिन मान्छे ओहोरदोहोर नगरिदियोस् । हामी मस्तसँग गफिँदै हिँड्न पाए हुन्थ्यो ।

बिमोचन समारोहमा हामी चारजना एउटै लाइनमा बसेका थियौँ । उनि फरासिली थिइन । मेरा साथी उनका लागि नयाँ थिए । उनलाई बोल्न लाज लागेर हुनुपर्छ, कमै बोलिन् ।

रुविना र मसँग बसेका थियौँ । घरिघरि म चोर आँखाले उनलाई चिहाउँथे । उनलाई कुनै अवरोध हुन्नथियो किनकि उनि वक्ताका मन्तव्य ध्यानमग्न भएर सुनिरहेकी थिइन । म धित मरुञ्जेल उनको मुहार पढ्न चाहन्थेँ । चोरी आँखाले विस्तारै चिहाएँ । प्रज्ञा भवनका कुर्सीहरूलाई रातो खोल ओडाइएको थियो । रातो कुर्सीमा उनको मुहार प्रस्ट खुलेको थियो । कतै चेहरामा छलकपटको छायाँ देखिँदैनथ्यो । बाहिरबाट जे देख्यो भित्री मन पनि त्यस्तै होलाजस्तो । हामी दुईघण्टाको विमोचन समाप्तिपछि आ–आफ्नो कार्यलयतिर लाग्यौँ ।
– – – – –
कार्यलय पुगेर फेसबुक लगइन गरेँ ।

‘सर तपाईं त असल मान्छे हुँनुहुँदो रहेछ ।’ उनले पहिले नै म्यासेज छाड्न भ्याइसकेकी रहिछिन ।

‘थ्याङक यु मेरो रूपले तिम्रा आँखालाई राम्रैसँग भ्रममा पार्न सफल भएकोमा ।’ मैले रिप्लाइ गरेँ ।

‘साँच्चिकै सर ।’

‘के रे ?’ रिसाएको भान गर्दै प्रश्नचिह्न उभ्याएँ ।

‘किन रिसाउनु भएको ? मन पराउन पनि नपाउनु त ?’

‘पाइन्छ तर… ।’

‘के तर नि ?’

‘केही होइन ।’

‘ओक नभन्नुस् । आफ्नो कुरा आफैँसँग राख्नुस् ।’

‘भन्छु समय आएपछि ।’

‘त्यो समय कहिले आउँछ नि हजुर ?’

‘आउला कुनै दिन । प्रतिक्षा गर प्रतिक्षाको फल मीठो हुन्छ ।’

‘प्रतिक्षा गर्दा–गर्दै फल कुहिएर झ¥यो भने नि ?’

‘कुहिनुभन्दाअगाडि नै चखाउँला नि तिमीलाई ।’

‘ओके ! ओके !’

उनी के भन्न अघिनै देखि म्यासेज टाइप गर्दैथिइन । मैले उनको म्यासेज आउनुभन्दा पहिले नै भनिदिँए । ‘बाई । अहिले यति नै । पछि कुरा गरौँला । म व्यस्त छु ।’ उनले टाइप गर्दै गरेको म्यासेज डिलिट गरेर ओके मात्र भनिन् । बनावटी भएपनि म त्यसदिन व्यस्त भइदिइ टोपलेँ ।
भोलिपल्ट अफिस गएर सबैभन्दा पहिले फेसबुक नै खोलेँ । लत नै बसिसकेछ । अफिस पुग्ने बित्तिकै फेसबुक चलाउने । त्यसमा पनि विशेष म्यासेजको नोटिफिकेसन हेर्ने ।

म्यासेज आएको रहेछ, ‘हाइ डियर मिस यु ।’ मैले अड्कल गरेँ आज गफ गर्ने मुड चलेजस्तो छ फुच्चीलाई ।

‘ओ थ्याङ्क । सेम टु यु ।’

‘सर म आज एक्लै छु । बोर लागिरहेको छ ।’ उनले प्रसङ्ग मोड्दै बोलिन ।

‘म के गरौँ त ?’

‘मेरो अफिसमा साथी आउनुस् न । निद्रा पनि लागेको छ ।’ उनले जिस्काउँने पाराले भनिन ।

‘म किन आउनु नि ? निद्रा लागे सुत न त !’

‘तपाईंकै काखामा मलाई सुत्न मन छ । तपाईं मेरो कपाल सुमसुम्याउँदै काखामा सुताउनु । म मस्तले निदाइदिन्छु काखैमा । हा… हा… हा…’ उनबाट प्रेमिल म्यासेज आयो ।

‘गफाडी । त्यति मात्र ?’ मैले उनको मनको परीक्षा लिने विचार गरेर भनेँ ।

‘के गर्न मन छ त सर ?’ उनले प्रतिप्रश्न गरीन ।

‘गर्न त धेरै मन थियो नि ! के गर्नु नमिल्ने भन्ने बित्तिकै ।’ मनमनै टाइप गरेँ तर फेसबुकबाट सेन्ट गर्न सकिन । रिसाउँछिन कि जस्तो लाग्यो ।

‘हामी दुई मात्र एकान्तमा हुँदा के गरिन्छ, अनि तिमी के गर्दा खुसी हुन्छौ त्यही ।’ अलि नरम म्यासेज पठाएँ ।
– – – – –
बेलुका रुममा पुगेर फेसबुक खोलेको उनी पनि अनलाइन रहिछिन् । उनले नै एसएमएस को सुरुआत गरिन ।

‘नमस्कार सर ।’

‘नमस्कार रुवी ।’ मैले उनको फेसबुके सर्टकर्ट नामले सम्बोधन गरेँ ।

‘सर आज केही कुरा गर्ने मुडमा छु । नरिसाउने भए भन्छु ।’

‘ओके भन ।’

‘लभ यु सर !’

‘ह्वाट ?’

‘आइ लभ यु । म तपाईंसँग जीवन बिताउन चाहन्छु । एस अर नो ?’ उनले उत्तरको हतारो गरिन ।

‘तिम्रो र मेरो सम्बन्ध कसरी सम्भव छ ? तिमी मेरो साथीकी बहिनी ।’ मैले भनेँ ।

‘ह्या किन नि ? साथीको बहिनी पो त ! तपाईंको आफ्नै बहिनी त हैन नि ।’

‘ओक ! तर, मैले अहिलेसम्म केही सोचेको छैन । मलाई दुई–तिनदिन सोच्ने समय देऊ ल ?’

‘ओके । राम्ररी सोचेर उत्तर दिनुहोला । म पोजेटिभ रेस्पोन्सको प्रतिक्षामा रहनेछु ।’

‘ओक । आइ व्हील ट्राइ फर पोजेटिभ आनसर ।’

‘भोलि बिहान छिटै आउनु होला तपाईंसँग केही कुरा गर्नुछ ।’

‘ओके । बाइ ।’ मैले भनेँ ।

‘ओके वाई । सि यु टुमाउरो ।’
– – – – – –

रुविना तिन दिनसम्म अफिस आइनन् । तेस्रो दिन दिउँसो उनले फोन गरिन ।

‘आज खाजा खान बाहिर आउनुस् है । केही कुरा गर्नु छ ।’ उनले आत्तिँदै भनिन् ।

‘के कुरा ? कुन समय नि ?’

‘भेटमा सब कुरा भन्छु । तपाईंको खाजा खाने समय । मलाई फोन गरेर निस्किनु होला ।’

‘हस ।’

मैले खाजा खाने समयमा फोन गरेँ । हामी नजिकको खाजा पसलमा पुग्यौँ । एक प्लेट चाउमिन, एक प्लेट मःमः र दुई कप व्लाक टि अर्डर गरेँ । सामान्य गफगाफ भयो ।

‘सर मलाई तपाईंको साथ चाहिन्छ दिनुहुन्छ नि ?’ केही समयको गफगाफ पछि उनले लामो सास ताँन्दै हिम्मत बटुलेर भनिन ।

‘ओके म पोजेटिभ छु ।’

‘प्रमिस !’ भन्दै उनले आफ्नो हात टेबुलमाथि राखिन् ।

‘यो मेरो हात र साथ जिन्दगीभर तिमीलाई भयो । जिन्दगीभर साथ दिनेछु । यो मेरो बचन भयो ।’ मैले उनको हातमाथि हात राख्दै भनेँ ।
त्यस खाजा पसलमा अरू कोही पनि ग्राहक थिएनन् । साहुसाहुनी र हामी जोडीमात्रै थियौँ । भित्र छिर्दा–छिर्दै दाहिने कुनामा हामी बसौँ । जहाँ बस्दा हामीलाई कुराकानी गर्न अरूले बाधा नपुर्याउन र हाम्रा गफ अरूले नसुनुन भनेर ।

हामी हाम्रै प्रेमिल बातमा व्यस्त थियौँ । पसले दाईदिदी लगभग पैँतिस–चालीसको होलान् । हाम्रा प्रेमिल बात सुनेर उनीहरू कानेखुसी गर्न थाले । म मनमनै लजाएँ तर ती पसले जोडीतिर फर्केर हेर्ने हिम्मतसम्म गरीन । सुनिरहेँ तिनीहरूको अस्पष्ट कानेखुसी आवाज ।

त्यसदिनपछि दिनहुँ जसो फेसबुक, फोन र भेटघाटमा प्रेमील बात बाक्लिन थाले । कहिले सामान्य भनाभन, कहिले घुर्की, कहिले बोलचाल बन्द, कहिले म्यासेज नै ब्लक गर्नेसम्म । यस्तै गर्दै हाम्रो सम्बन्ध अगाडि बढिरहेको थियो । कहिल्यै पछाडि फर्केको भान भएको थिएन ।

सोच्थेँ मेरो जीवनमा यति नजिक आजसम्म कोही थिएन । म खुसी थिएँ । उनी पनि खुसी नै थिइन् । उनी मेरो धेरै ख्याल गर्ने गर्थिन् । म कतै अल्मलिएँ भने छिटो रुम जानु । म बहिनीलाई फोन सोध्छु भन्थिन् । पर्दैन म नै रुम गएर बहिनीको मोबाइलबाट मिस कल गर्छु । मैले समयमै रुम पुग्नुपर्थ्यो । मैले नत्र थर्काइ खानुप¥थ्र्यो ! तर, मायालु ।

भोलिपल्ट बिहानै इन्टिच्युट आइन । म पहिल्यै पुगिसकेको थिएँ ।

म बसेको सिट पछाडिबाटै अँगालो मार्दै भनिन, ‘सर आइ लभ यु ।’

‘लभ यु टु ।’ मैले भने ।

कुर्सीहरूमा रातो रङका खोल हालिएका थिए । टेवुलपनि प्लाइ भित्तामा जडान गरेर बनाइएको थियो । भुइँमा ओछ्याउने कार्पेट टाँसेर दुःखमा काम चलाइँदै थियो ।

मेरो कुर्सी नजिकै उनले अर्को कुर्सि ल्याएर बसिन । उनले अङ्कमाल गर्दै निधार र गालामा चुम्बन गरिन । मैले पनि चुम्बनको प्रतिव्रिmया चुम्बनले नै गरिदिएँ ।

एकछिन पछि, बसिरहेको कुर्सिबाट उठेर मेरो काखमा आएर बसिन । उनलाई मैले काखमा राखेँ । काखमा बसेर उनले फेरि अङ्कमाल गरिन ।

अङ्कमाल गर्दा, उनको ओठले मेरो ओठमा स्पर्श गरेको अनुभूत भइरहेको थियो ।

म पनि फिलिङ्गसमा आएछु । टङकिस गर्ने सुरमा उनको ओठलाई बिस्तारै चुम्न पुगेँछु । एकछिनको चुमाइपछि पनि उनीबाट कुनै प्रतिव्रिmया आएन ।

उनी नतमस्तक, प्रतिक्रिया विहीन भएर मौन समर्थन मात्र गरिरहेकी थिइन् । मलाई केही असहज लाग्यो । मैले उनको ओठबाट मेरो ओठ हटाउँदै भनेँ, ‘के भयो तिमीलाई ?’

‘केही नाइँ सर ।’ उनले सुस्तरी दबिएको सासमा फुस्फुसाइन ।

‘ओके । म अब अफिस गएँ । अहिलेलाई वाई ।’

‘ओके । बाई ।’
– – – –
दिउँसोको अफिसमा गएर फेसबुक अकाउन्ट अगइन गरेँ । एसएमएस आएको थियो ।

‘सर तपाईंले बिहान मेरो ओठ चुम्नु भएको हो ?’

‘हो । टङकिस गर्न खोजेको थिएँ । तिमीले प्रतिक्रिया नदिएपछि जबर्जस्ती गर्न मन लागेन ।’

‘सर मेरो पहिलो अनुभव हो । मलाई त कस्तो–कस्तो अनभूति भइरहेको थियो । मेरो त होस हवास नै हराएछ । शरीर पनि लठ्ठ भएको थियो ।

के गर्ने के नगर्ने भन्ने पत्तो नै पाइन ।’

‘ओके ! ओक !! अर्को पटक म सिकाउँला नि ! है ? हा… हा… हा… ।’

‘है ! भइहाल्छ नि । बदमास !’ उनले भनिन् ।

‘फुच्ची सरी है ।’

‘ल ! केको सरी नि फेरि ?’

‘बदमासी गरेकोमा नि !’

‘पर्दैन ! पर्दैन ! फ्रेन्डसिपमा नो सरी ! नो थ्याङ्क ! ओके ?’ उनले भनिन् ।

‘ओके । हजुरको जो आदेश ।’ मैले भनेँ ।

‘सर ! पहिले हजुरले अरूलाई टङकिस गर्नु भएको थियो ?’

‘थिएन । तिम्रो ओठले मेरो ओठमा स्पर्श गरेकोले इमोसनमा आएँछु । त्यसैले ट्राइ गरेको थिएँ ।’

‘ए ।’
– – – – –
बेलुका दुईओटा साइकिलको कार्टुन म्यासेज आयो । एउटा साइकल केटी मान्छेले चलाउँदै गरेको र अर्को रित्तो ।

‘सर भोलि हामी घुम्न जाने है ?’ उनले भनिन् ।

‘कहिले ? किन ? कहाँ ? के का लागि ?’ मैले प्रश्नहरूको ओइरो लगाइदिए । सायद उनी रिसाइन क्यारे । चुपचाप बसिरहिन ।

‘यो एउटा रित्तो साइकल कसको लागि नि ?’ उनीबाट कुनै म्यासेज नआएपछि मैले नै फेरि म्यासेस सेन्ट गरेँ ।

‘हजुरका लागि नि !’

‘म जाँदिन तिमी एक्लै जाऊ ।’ मैले रिसाएको भान पार्दै घुर्की लगाएँ ।

‘फेरि के भयो हजुरलाई ? किन रिसाउनु भएको ?’

‘तिमीले मलाई घुमाउन लाने । अनि फरक साइकलमा । एक्ला–एक्लै जानेभए  तिमीसँग किन जानुप¥यो नि ? एक्लै गए भइहाल्यो नि ।’ मैले भनेँ ।

‘ओके सरी । म तपाईंलाई मेरै साइकिलको पछाडि हालेर लान्छु अब त हुन्छ नि ?’

‘ओके ! हुन्छ । डन ।’

‘कहाँ लाने ?’ उनले सोधिन ।

‘हा… हा… हा… । तिमीले मलाई लाने कि मैले तिमीलाई ?

‘ओ यस । आइ नो । आइ नो । अलि टाढा जाने जहाँ तपाईं र मेरो मात्र सामिप्यता होस् ।’ उनले कुरा बुझेको भावमा बोलिन ।

‘हुन्छ नि जहाँ लान्छै म तयारै छु ।’ मैले भनेँ ।

‘ओके फुच्ची गुड नाइट । मलाई निद्रा लाग्यो ।’

‘ओके गुड नाइट ।’

हाम्रो घुम्न जाने कुरा त्यतिकैमा रोकियो ।
– – – – –
भोलिपल्ट बिहानै उनी इन्टिच्युट आइन ।

‘सर गुड मोर्निङ ।’ भन्दै मलाई अँगालो मारिन ।

‘तिमी कति माया गर्छौ है मलाई ?’ मैले भनेँ ।

उनले गला अवरुद्ध पार्दै सुस्तरी कानमा भनिन्, ‘सरी सर । म तपाईंकी जीवन सङ्गीनी हुन सकिनँ । मेरोलागि दिदीले अरू नै कोही केटा खोज्नु भएको छ रे । म परिवारको विपरित केही गर्न सक्दिनँ । परिवारले सरकारी जागिरे र तराईमा घर भएको केटासँग मात्र बिवाह गरिदिन्छन् ।

म छाँगाबाट खेसेजस्तो भएँ । उनका कुराले मलाई सपनामा पुर्याए जस्तो भयो । मैले ब्युँझिएजस्तो गरेर फेरी सोधे, ‘के भनेकी रे तिमीले ?’

‘हो मैले अगि जे भने यो सब सत्य हो ।’ उनले मन्द स्वरमा भनिनँ ।

यो सब सुनेर मेरो बाहुपास लल्याक लुलुक हुँदै गए । यौवन नसाले उम्लिएको शरीर एकाएक हिउँजस्तै चिसो भयो । म निशब्द उभिरहेको थिएँ । मलाई चक्कर लाग्ला जस्तो भयो ।

संसारमा अहिलेसम्म प्रेम नाप्ने एकाइ पत्ता लागेको छैन । म बुझ्न सक्दिन । यो कहाँको परिपाटी हो । प्रेम पनि तराईको घर र सरकारी जागीरसँग तौलिन थालियो । आज सम्पत्ति भन्दा प्रेमको तौल कम भएको प्रमाणित गरिँदै छ ।

मैले अनुभव गरेँ । अब जबरजस्ती मेरो बाहुपासमा उनलाई बाँध्नुको केही अर्थ छैन । बाहुपासबाट मुक्त गराउँदै भने, ‘रुबि तिम्रो पछाडि कोही चिच्याओस्, कराओस्, उफ्रिओस्, बिन्ती भाउ बिसाओस्, हात जोडोस, पाउ परोस् । त्यसको मतलब नगर । किनकि पछाडि फर्केर हे¥यौ भने मेरो मायाले तिमीलाई कमजोर बनाउनेछ । तसर्थः अगाडि बढ्ने पाइला गन्तव्यमा नपुगी रोकिनेछन् । प्रिय रुवि ! मुटु दरो बनाउ । मलाई मेरै हालतमा छाडिदेऊ । यदि कुनैदिन तिम्रो जीवनमा रमेशको अभाव खड्कियो भने निसङ्कोच गर्वका साथ फर्केर आउन सक्नेछौ । मेरो जीवनको मूल ढोका तिम्रोलागि सधैँ खुला हुनेछ । उनका आँखाबाट आँसुका ढिका गालाहुँदै तलतिर झर्दै थिए । मैले आँसु झर्न नदिइ बिचमै पुछिदिएँ ।

‘जाऊ प्रिय ! निस्किहाल तिमी ! नरोक तिम्रा पाइला । अगाडि बढ् ।’ मैले भनेँ । उनी विस्तारै मेरो बाहुपासबाट अलगिइन । चुपचाप चुपचाप ढोका खोलेर बाहिरिइन । म चक्कर लागेर भुइँमा थचक्क बस्न पुगेँछु ।

पछि उठेर हेर्दा ढोका बन्द थियो । उनका पदचापको चालचुल थिएन । शून्य थियो अफिस । उनी बाहिरबाट ढोका तानेर बाहिरीसकेकी थिइन् । टाढिइन अफिसबाट सदाका लागि… र मेरो जीवनबाट पनि….

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर