हँसिया, बञ्चरो, भालाजस्ता औजारको धार तिखारे वापत खलो अर्थात् धान, गहू मकै जस्ता अन्न लिएर परिवारिक खर्च चलाउँदै आएका आरन व्यवसायी बजारकेन्द्रित भएका छन् ।
केही वर्ष पहिलासम्म खलो वा अन्नलाई ज्यालाको रुपमा लिने आरन चलाउने मानिस हाल आएर भने गाउँघर छोडेर जिल्ला सदरमुकाम तथा बजारमा व्यावसायिक रुपमा कामको थालनी गरिरहेका पाइन्छन् । एउटा हँसियामा धार तिखारेबापत रु. २० सम्म लिने गरेको समैजी गाविस सदरमुकाममा आरन व्यवसाय गरिरहेका सोही गाविस–७ कोटेलीका राम ताम्राकारले भने नयाँ बनाएर बेच्दा भने रु १०० सम्ममा बेच्ने गरेको बताए ।
व्यावसायिक रुपमा आरनको काम थालनी गरेपछि राम्रो आम्दानी भइरहेको र सम्मान पनि हुने रामले बताउनुभयो । गाउँघरमा काम गर्दा खानलाउन पनि धौधौ हुने भएपछि सदरमुकाममा नगद पैसामा काम गरेपछि छोराछोरीलाई पनि राम्रोसँग विद्यालयमा पढाउन पाएको र केही बचत पनि हुने गरेको अमरगढी नगरपालिकाका–५ सेलगाउँका शेरबहादुर ताम्राकार भन्छन् । पुख्र्यौली सीपको ठाउँमा आधुनिक सीप, तालिम पाए अझै राम्रो गर्न सकिने थियो, उनी भन्छन् । हालसम्म आरन व्यवसाय गर्ने मानिस आफ्नै पुरानो पुख्र्यौली सीपका आधारमा व्यावसायिक धन्दा गरिरहेका छन् ।
यस भेगका अधिकांश दलित जाति मध्य पनि टमटा, ताम्राकार, लुहार जातिका मानिस पुर्खौंदेखि यो पेसामा संलग्न भएपनि हाल आएर भने केही पार्की, कैनी जातिका मानिस पनि आरन व्यवसायमा लागेका छन् ।
पुरानो प्रचलनअनुसारको काम भएपनि व्यावसायिक रुपमा कामको थालनी गरेपछि दिनमा रु ४०० देखि ५०० सम्म आम्दानी हुने गरेकोले सदरमुकाममा आरन व्यवसाय गरिरहेका छन् ।
आरन व्यवसायमा आधुनिक प्रविधिको खाँचो रहेको डडेल्धुरा सदरमुकामको तोफानडाँडामा आरन व्यवसाय सञ्चालन गरेर परिवारिक खर्च चलाइरहेका एक आरन व्यवसायी आधुनिक सीपको आवश्यकता भएको बताए । रासस