नेपाल टेलिकमले अंग्रेजी नयाँ बर्षको पहिलोदिन अर्थात आइतवार देखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ ।
यो नयाँ सेवासँगै अब नेपाल टेलिकमका ग्राहकहरुले अहिलेको भन्दा द्रुतगतिको इन्टरनेट सुविधा पाउने भएका छन् । यो सेवा काठमाडौं र पोखराबाट सुरु हुने नेपाल टेलिकमले जानकारी दिएकाे छ ।
नयाँ बर्ष सुरुवात भएसँगै टेलिकमले यो सेवा काठमाडौंका झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले उपभोग गर्न पाउनेछन् । त्यस लगत्तै फोर जी सेवा अरु शहरमा पनि बिस्तार गरिने टेलिकमको योजना छ । यो सेवा शुरु भएपछि मोबाइलबाट अहिलेको भन्दा अति स्पिड इन्टरनेट चलाउन सकन्छ ।
साथै देश-विदेशमा भएका आफन्तसँग सहज रुपमा भिडियो चाट, फाइल ट्रान्सफर, आवश्यक फाइलहरु डाउनलोड तथा अपलोड, फेसबुक तथा ट्विटरबाट राम्रो क्वालिटीको भिडियो सहितको लाइभ प्रसारण आदि गर्न सकिनेछ ।
टेलिकमको फोरजी इन्टरनेटको स्पिड प्रतिसेकेण्ड ३५ एमबीको हुनेछ यसको मतलव अब टेलिकमको इन्टरनेटबाट प्रति सेकेन्ड ३५ एमबिसम्म डाउनलोड तथा अपलोड गर्न सकिनेछ ।
फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् ।
यो सेवा प्रयोग गर्न कम्प्याटेवल सिमको आवश्यकता पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।
फोर जी सेवा लिनका लागि मोबाइल सेट पनि फोर जी सपोर्ट गर्ने खालको चाहिन्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन । बिशेष गरि अहिले बजारमा नयाँ आएका स्मार्टफोनमा फोरजी चलाउन सकिने बताइएकाे छ भने तत्कालको लागि नेपालमा आइफोनमा समेत यो सेवा चलाउन सकिन्न ।