newskoseli.Com

कांग्रेसको नीतिमा कम्युनिस्टहरु आए : महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले कांग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्टहरू आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन् ।

मंगलबार धनगढीमा आयोजित कांग्रेस कार्यकर्ता भेलामा महतले कांग्रेसले अगुवाइ गरेको बहुलवादी सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक्रममा कम्युनिस्ट र दक्षिणपन्थी दल आएको बताएका हुन् ।

पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले भने– “२०४८ देखि कांग्रेसले अघि सारेका आर्थिक सुधारका कार्यक्रमकै कारण लामो द्वन्द्व र पटकपटकको राजनीतिक अस्थिरताका बाबजुद देशको अर्थव्यवस्था टिकेर बसेको छ ।”

राज्यनियन्त्रित आर्थिक पद्धतिले देशको आर्थिक विकास हुन नसक्ने बताउँदै उनले ५ नम्बर प्रदेशका जनाताको अभिमतअनुसार सो क्षेत्रको प्रदेश सीमाङ्कन गर्नुपर्नेमा जोड दिए । कांग्रेसका नेता एवम् वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले स्थानीय चुनावलाई ध्यान दिएर सङ्गठनमा लाग्नुपर्ने बताए ।

कांग्रेसका अर्का नेता एवम् सांसद रामकृष्ण यादवले एमाले र मधेसी मोर्चाको अतिवादमा अहिले देश फसेको उल्लेख गर्दै यसलाई निकास दिन कांग्रेस सक्षम रहेको बताए । सांसदद्वय पुष्करनाथ ओझा र चन्द्रा जोशीलगायतले संविधान कार्यान्वयनमा दलहरु गम्भीर हुनुपर्ने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर