‘धोका दिनेलाई, के भनौं र खै !… तिमी हाँस भो, मै बाँचौंला रोर्इ…’, ‘हङकङ मलाया, मायाले मै टाढा भए’नि चिठी चलाए…’, ‘लालुपाते नुग्यो भुइँतिर, कि लाऊ माया मैतिर, कि लाऊ उहीतिर, निर नलाऊ दुईतिर…’
यी र यस्तै असङ्ख्य लोकगीत गाएर पारखीमाझ ख्याति कमाएका गायक राजु परियार अचेल भने साङ्गीतिक संसारमा त्यतिसारो देखिँदैनन् । वि.सं. २०३७ असार १५ मा लमजुङको गाउँसहर गाविस– ९ मा जन्मेका राजुले ७ वर्षको उमेरदेखि नै जानेर–नजानेर गीत गाउन थालेका हुन् ।
साङ्गीतिक र शिक्षा क्षेत्रका गुरु जीवन घिमिरेको प्रेरणाबाट उनले ७ वर्षको उमेरदेखि गीत गाउन थाले । बालककालदेखिकै मोहले साङ्गीतिक क्षेत्रमा होमिएका राजुले पहिलोपटक १९ वर्षको उमेरमा ‘लाली चढेछ…’ भन्ने गीतिएल्बमका लागि ‘किसिमकोटमा लाली चढेछ’ भन्ने गीतमा पहिलो पटक आफ्नो स्वर रेकर्ड गराए ।
उनले आफ्नै रचनाका सय बढी गीत गाएका छन्, हजार बढी अरुका शब्दमा स्वर दिएका छन् । उनी भन्छन्– “मैले कति गीत गाएँ भन्ने बारेमा अहिले मानिस लगाएर खोजी गरिरहेको छु ।”
उनको गीतले धेरैको मन र मुटु छोएको छ, धेरै प्रशंसक पनि कमाएको छ । धेरैले उनको स्वर र गीत मन पनि पराएका छन् तर उनी आफैंलाई भने ‘सुनपानीले छर्क मायालु…’, ‘रुमाल धोको छु…’, ‘वनमा काँडा छ…’, ‘मौरी फूलमाथि…’, ‘दरौं सिरुबारी…’, ‘जानेलाई जान देऊ माया…’, ‘मिर्मिरेको घाम…’, ‘हङकङ मलाया…’, ‘धोका दिनेलाई के भनौं र खै…!’ ‘लमजुङ जाने दाइ…’ जस्ता गीतहरू बढी मन पर्छन् ।
झन्डै दुई दशकको गायन–क्रियाशीलताले उनलाई केवल प्रशंसक मात्र हाेइन, पुरस्कार पनि दिलाएको छ । राजुले पूर्वराष्ट्रपति डा. रामवरण यादवको हातबाट प्रबल जनसेवा श्री चौथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवाप्रतिभा सहित रेडियो, एफएम, स्वदेश र विदेशका विभिन्न सङ्घसंस्थामार्फत थुप्रै सम्मान र पुरस्कार पाइसकेका छन् ।
परियार पहिले र अहिलेको गीतमा फरक पाउँछन् । उनी भन्छन्– “पहिले मौलिक खालको शब्द, गीत र शैली थियो तर अहिले गायनको पूरै ढर्रा परिवर्तन भएको छ, शायद सर्जक टाठाबाठा भएर हो कि !”
उनको गीत नेपालकै हिमाल, पहाड र तराईमा मात्र गुञ्जिएको छैन, उनले धेरै पटक भारत, चीन, बेलायत, जापान, इजरायल, साउदी अरब, दुबई, कतार, बहराइन, मलेसिया, सिङ्गापुर, हङकङ, कोरिया र युरोपेली मुलुकमा पुगेर समेत गीत गाइसकेका छन् ।
अहिलेसम्मको बुझाइमा लोकभाका गाइने तर लोकगायक नै बन्न चाहिँ गाह्रो हुने राजुको अनुभव छ । “शब्दचयन, गायनप्रतिको समर्पण र निरन्तर साङ्गीतिक अभ्यासविना साङ्गीतिक क्षेत्रमा टिक्न गाह्रो हुन्छ”, राजु भन्छन्– “अग्रज र गुरुले स्वरमा निखार ल्याउन दिनुभएको निर्देशन र मेरो गीतप्रतिको आफ्नै रुचिले मलाई एउटा सफल गायकका रुपमा उभ्याएजस्तो लाग्छ ।”
नयाँ पुस्तालाई मेहनत, परिश्रम र गीत–सङ्गीतको मर्मअनुसार प्रतिस्पर्धा गर्न सक्ने गरी मात्रै यस क्षेत्रमा लाग्न सुझाव दिने उनी आफैं भने गीत गाएर अझै थाकेका छैनन् । उनको नयाँ लोकगीत छिट्टै बजारमा आउँदैछ, जसको शब्द छ– “बग्यो कालीगण्डकी, बल्लबल्ल दियाै प्रभु नयाँ साथी, नयाँ जिन्दगी…”