
पाण्डव सुनुवार, लाखौं नेपालीको मनमा बस्न सफल कला र आवाजका धनी । एक सफल लोकगायक र एक सफल रेडियो प्रस्तोता ।
रेडियो नेपालमा कार्यरत रहँदा मास्टर रत्नदास प्रकाश, शिवशङ्कर, नातिकाजी, तारादेवी, हिरण्य भोजपुरे आदिको सङ्गत र हौसलाले सङ्गीत क्षेत्रमा लागेका चर्चित लोकगायक पाण्डव सुनुवारको जन्म वि.सं. २००९ पुस ९ मा ओखलढुंगाको साविक रगनी गाविसमा भएको हो । उनको प्रारम्भिक शिक्षा ओखलढुंगाको रगनीमा नै भएको थियो ।
उनका छोरा सिमोस सुनुवार कुनै समय संगीतकर्ममा नै आबद्ध थिए तर हाल उनी म्युजिक भिडियो–चलचित्र निर्देशक र एनिमेटरका रुपमा चर्चित छन् । दिवंगत सुनुवारकी छोरी पनि बाबुकै पदचाप पछ्याउँदै संगीतमा लागेकी छन् ।
२०३० तिर सपनाभरि हाँसिरहन्छु‘ बोलको गीत गाएर गायनक्षेत्रमा प्रवेश गरेका सुनुवारको ‘ऐंसेलुको पात…, सक्यो नानी सक्यो नानी…, सहरै जाउँला नि धन कमाइ ल्याउँला…, भिज्यो तिम्रो रातो पछ्यौरी… ‘ जस्ता दर्जनौं गीतहरू आज पनि जनजिब्रोमा झुन्डिएका छन् । एक समय सुनुवार र बासुदेव मुनालको जोडी नेपाली गायनक्षेत्रमा खुबै छाएको थियो । दुवैको संयुक्त स्वरमा पाँच दर्जन जति गीत रेकर्ड भएका छन् । उनको ‘फ्याफुल्ला’ गीति अल्बम र ‘रेडियो प्रसारणका आरोह–अवरोह’ नामक पुस्तक समेत प्रकाशित छन् ।
रेडियो नेपालका ‘फोन–इन’, चौतारी, झरना र झङ्कार, सुनगाभा, इन्द्रेणी जस्ता कार्यक्रममार्फत् रेडियो श्रोतामाझ अत्यन्त प्रिय बनेका सुनुवारको आवाजमा एक खालको जादु नै थियो । कुनै बेला रेडियो नेपालको सर्वाधिक लोकप्रिय कार्यक्रम ‘फोन इन’ को सुरुआत उनैले गरेका थिए । दुई दशकअघि कोरिया र हङकङका रेडियोको सिको गरेर उनले नेपालमा सुरु गरेको ‘फोन–इन’ को लोकप्रियताको फाइदा अहिलेका एफएम रेडियो र टेलिभिजनहरूले पनि लिइरहेका छन् । त्यस्तै, चौतारीमार्फत् उनले गाउँघरका प्रतिभाशाली कलाकारहरूको आवाजलाई रेडियोमा गुञ्जिने अवसर दिलाएका थिए ।
पाण्डव सुनुवारले नेपाली साङ्गीतिक दुनियाँमा हत्तपत्त नमेटिने पहिचान मात्र बनाएका थिएनन्, मीठो आवाजको रेडियोकर्मी तथा संस्कृतिविदका रूपमा श्रोतामाझ मजैले छाएका थिए उनी । पाण्डव सुनुवारको आवाजको लोकप्रियतालाई शारीरिक रूपसँग दाँजेर कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ठट्यौली कथन बनाएका थिए– ‘अनुहार न दनुवार पाण्डव सुनुवार !! आफ्ना बारेमा यसरी उखानै बनेको देख्दा उनलाई ‘गर्व’ को अनुभूति हुन्थ्यो ।
रेडियोको आवाज, ठेट शब्दयुक्त लोकगीत र यस्तै उखानहरूमार्फत् सुनुवार कुनै न कुनै रूपमा सुनिन्थे, चर्चा–परिचर्चाको विषय बनिरहन्थे । उनका कमजोरी, आनीवानी र आलोचनाका कुरा यी विशेषताका अघि निष्प्राण देखिन्थे । ‘हेल्लो… कहाँबाट, को बोल्दै हुनुहुन्छ ? अनि, त्यहाँको मौसम कस्तो छ नि ?…’ जस्ता प्रश्नहरूबाट सुनिने रेडियो वार्ताहरूले सदैव उनलाई सम्झाइरहने छन् ।
कलेजोसम्बन्धी रोग ‘सिरोशिष’ बाट पीडित सुनुवारको पोकली, ओखलढुंगामै जन्मेका अर्का चर्चित लोकगायक नविन ढुंगेलसँग टिपिकल पुर्वेली लोकभाकाको अल्बमको तयारी गर्दैगर्दा उपचारका क्रममा वि.सं. २०६२ असोज २१ मा लण्डनस्थित किङ्गस कलेज हस्पिटलमा निधन भएको थियो ।
पाण्डव सुनुवारका चर्चित लोकगीतहरू हुन्– ‘भिज्यो तिम्रो रातो पछ्यौरी नि लै लै…, बाबरी फूलको बोट…, बाइरोडको बाटोमा ट्याक्सी गुडाउँदै…, यो दाजुको मिर्मिरे आँखा…, साउने खोला उर्लेर आउँदा…, म रक्त हुँ यो देशको… ऐंसेलुको पात…, सक्यो नानी सक्यो नानी…, सहरै जाउँला नि धन कमाइ ल्याउँला…