newskoseli.Com

‘महिला हक– कागजमा होइन, व्यवहारमै देखिनुपर्छ’

बेलाबखत प्रतिभासम्पन्न बालबालिका भेटिन्छन् । मात्र खोज्दै जानुपर्छ, वरपर धुले बाटोमा, धुलैसँग लट्पटिएका पनि हुन सक्छन्, कुटो–कोदालोसँग जुध्दै गरेका पनि भेटिन्छन् । अग्रजले वातावरण मात्र दिनुपर्छ, उनीहरू देवकोटा, वाग्नर र नाइटिङ्गेल बन्न सक्छन् । यस्तै प्रतिभा र सोचले युक्त एक छात्रा–चेलीको कुरा आजको आलेखमा समेटेको छु ।

गोलबजार नगरपालिका– ११, बलकवा, सिरहा निवासी पिता रामनारायण सिंह र माता पवित्रीदेवी सिंहकी एक मात्र सुपुत्रीका रूपमा २०५८ माघ ११ मा जन्मेकी मञ्जुकुमारी सिंह हाल श्री जनता मावि, गोलबजारमा कक्षा १० मा पढ्छिन् ।

मञ्जुले जेठा काका श्याम सिंहको संरक्षणमा काठमाडौंको जोरपाटीस्थित उइस् एकेडेमीबाट प्रारम्भिक शिक्षा आरम्भ गरेकी हुन् । त्यसपछि गोलबजारको जेबीएम स्कुल हुँदै कक्षा २ देखि ५ सम्म माउन्ट एभरेस्ट स्कुलमा अध्यययन गरी कक्षा ६ देखि जनता माविकी छात्रा बनेकी हुन् । गाउँले दिदी मनिषा, सविता सिंहहरूको भनाइमा लागेर र सरकारी स्कुलबाट पढेका विद्यार्थीले जागिरमा प्रोत्साहन पाउँछन् भन्ने ठानेर आफू सरकारी स्कुल पढ्न थालेको उनी बताउँछिन् ।

लेखक नन्दलाल आचार्य

हजुरबुबा प्रभु सिंहको छत्रछायाँ नपाए पनि हजुरआमा असियादेवी सिंहकी प्रिय नातिनी बनेकी थिइन् । असियादेवीले नै हात पक्रेर स्कुलसम्म छाड्ने र छुट्टी भएपछि घर लाने गर्थिन् । परिवारको जेठो छोराकी जेठी सन्तान भएकी र छोरैछोरा जन्मेन परिपाटी रहिआएकोमा छोरी जन्मिएकीले मञ्जु जन्मदा लक्ष्मी जन्मेको ठानी परिवारमा खुशीयाली छाएको थियो । त्यस बखत तराई÷मधेसको समाजमा दाइजोका कारणले छोरी जन्मँदा बाबुआमा आफैँलाई धिकार्थे । त्यस घडीमा मञ्जुको उपस्थितिमा मनाइएको त्यो रौनकता दुर्लभ थियो । यसले समाजलाई यो सन्देश दिइरहेको थियो– छोरी सम्पत्ति नास गर्न हैन बचाउन जन्मेका हुन् । छोरी जन्मँदा सानो मन बनाउनु किमार्थ बुद्धिमानी होइन । छोरीले पनि खान्दानको इज्जत धान्न सक्छन् । अब रामनारायणकी छोरी मञ्जु हैन मञ्जुका पिता रामनारायण भनेर पुकारिने गरी परिचय बन्नुपर्छ ।

समाजमा रोग, भोक र शोकले पीडित दुःखी मानिसको सेवा गरी मानव कल्याणमा नाइटिङ्गेल अर्थात् नर्स बन्ने चाहना राखेकी मञ्जुको आजको शिक्षा, शिक्षण पद्धति र विद्यार्थी वर्गलाई यस्तो सुझाव छ–

सबै वर्गले आ–आफ्नो कर्तव्य रिठ्ठो नबिराई गर्नुपर्छ । विद्यार्थीले तोकिएका पाठ्यपुस्तक बाहेक अन्य सन्दर्भ पुस्तक (गाइड, गेसपेपर) को स्वाध्यायन गरी आफूमा भएको अज्ञानता र अबुझता मेट्नुपर्छ । आफू खोजयात्रा ननिस्ककन शिक्षककै मात्र भर पर्दा सिकाइ दिगो हुन्न । पहिले आफैँ सिक्ने, सम्भवै नभए मात्र शिक्षककहाँ पुग्ने गर्नुपर्छ । अभिभावकले आफ्ना नानीले पढे न पढेको रेखदेख गरी मार्गनिर्देश गर्न चुक्नुहुन्न । जे गर्छ उसले आफ्नै लागि गर्छ भनेर स्वतन्त्र छाड्नुहुन्न । शिक्षकले आफ्ना विद्यार्थीलाई आफ्नै सन्तान ठानी जिम्मेवार भएर सिकाउनुपर्छ । विद्यार्थीले पनि शिक्षकलाई आफ्नै शुभचिन्तक पितामाता ठान्नुपर्छ । अनि मात्र दिगो सिकाइ सम्भव हुन्छ ।

प्रस्तुत छ, मिति २०७५ असोज ४ गते बिहीबारका दिन गोलबजारस्थित अतिथि सदनमा भएको अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा छात्रा मञ्जुकुमारी सिंहले दिएको वक्तव्यको हुबहु पूर्ण अंश–

“संविधान दिवस २०७५ लाई भव्यताका साथ मनाउने क्रममा गोलबजार नगरपालिका, शिक्षा शाखाद्वारा आयोजित यस भव्य एवं मनोरम सभाका सभाध्यक्षज्यू, हामी बालबालिकाहरूको प्रतिभालाई प्रोत्साहन दिन पाल्नुभएका श्रद्धेय प्रमुख अतिथि एवं अन्य अतिथिज्यूहरू, हामी वक्ताहरूको बोलीमा ध्यान केन्द्रित गरी निष्पक्ष मूल्याङ्कन गर्न कापी–कलमका साथ निर्णायकको आशनमा विराजमान भइरहनुभएका आदरणीय निर्णायक मण्डलका सदस्यहरू आफ्ना अनगिन्ती कामहरू छाडेर हामी बालबालिकाहरूलाई प्रोत्साहन दिन पाल्नुभएका माननीय शिक्षक, अभिभावक एवं अन्य विशिष्ट बुद्धिजीवी तथा सम्पूर्ण महानुभावहरू, यस प्रतियोगितामा भाग लिएका मेरा प्यारा प्रतियोगी साथीहरू एवं सम्पूर्ण अप्रतियोगी विद्यार्थी साथीहरू !

श्री जनता मावि, गोलबजार–४, सिरहाको प्रतिनिधित्व गर्दै म कक्षा १० की छात्रा मञ्जु सिंह “महिला अधिकार तथा दाइजो उन्मूलनमा शिक्षाको महत्त्व” शीर्षकको वक्तृत्वकला प्रतियोगितामा आफ्ना मनका काँचा–कलिला एवं अपरिपक्व विचारहरू यहाँहरू समक्ष व्यक्त गर्न अनुमति चाहन्छु ।

समाजमा महिलालाई सृष्टिकर्ताका रूपमा हेरिन्छ । त्यसैले महिलालाई जननी, माता, आमा आदिले पुकारिन्छ । सृष्टिकर्ताविना कोही पनि पैदा नहुने हुनाले महिला अर्थात् आमाको स्थान गहन भएको पुष्टि हुन्छ ।

नेपालको संविधान २०७२ ले धारा ३८ मा ‘महिला हक’को सुनिश्चित गरेको छ । संविधानमा भनिएको छ– “प्रत्येक महिलालाई लैङ्गीक भेदभावविना समान वंशीय हक हुने छ । प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ सम्बन्धी हक हुने छ । कुनै महिलालाई कुनै पनि आधारमा शारीरिक, मानसिक तथा यौनजन्य कार्य गरिने छैन । यस्तो कार्य कानुनबमोजिम दण्डनीय हुनेछ । पीडितलाई क्षतिपूर्ति पाउने हक हुने छ । राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने छ । प्रत्येक महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदमा विशेष अवसर प्राप्त गर्ने हक हुने छ । सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने छ ।

यसरी संविधान र सोहीबमोजिम बनेका मुलुकी ऐन र अन्य कानुनले समेत महिला अधिकारको ग्यारेण्टी गरेका छन् । तर, दुर्भाग्य ! ती महिला अधिकारका कुराहरू कागजमा मात्र सीमित छ । व्यवहारमा पूर्णरूपमा लागू हुन सकेको छैन । त्यसैले दाइजो प्रथाजस्तो मानवताविरोधी प्रथाहरू समाजमा देखापरेका छन् ।

दाइजो एक सामाजिक रोग हो । यसले नेपाल र भारतका मानिसहरूमा जरा गाडेको छ । दाइजो प्रथा समाजबाट हटाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमै अभियान सञ्चालन गरिएको छ । ‘दहेज मुक्त मिथिला’ जस्ता संघसंस्थाहरूले विशेष गरी मधेसमा महिला अधिकार, महिला मुक्ति, महिला सशक्तिकरण तथा दाइजो उन्मूलन जस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

प्रदेश नं. २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ भन्ने कार्यक्रम ल्याएर जनचेतना जागरण गर्ने कार्य गर्दै आएको छ । सरकारी तवरबाट महिला विकास मन्त्रालय नै खडा गरिएको छ । महिलाहरूको सबै तहमा पहुँच पुगोस् भनेर सरकारी निकायबाट महिला आरक्षण कोटा कायम गरिएको छ । राजनीतिमा समेत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । यी कार्यहरू महिला वर्गका लागि सकारात्मक पाटा हुन् ।

हाम्रो समाजमा चेलिबेटीलाई शिक्षा दिने कुरामा अहिले पनि सङ्कुचित विचार रहेको छ । छोरीलाई शिक्षा दिनुहुन्न । दिए पनि बढी पढाउनुहुन्न भन्ने धारणा विद्यमान रहेको पाइन्छ । यही प्रवृत्तिले गर्दा नै हाम्रो समाजका महिलाहरू पछाडि परेका छन् । हाम्रो समाज र देशको उन्नति हुन सकेको छैन ।

महिलालाई अहिले पनि घरको कामकाजमा नै सीमित राख्न खोजिएको छ । एकातर्फ फुस्रो गफ छाँटिन्छ कि नरनारी भनेको रथका दुई पाङ्ग्रा हुन् । तर समानताका दृष्टिले हेर्दा महिलाप्रति घोर अन्याय गर्ने काम भइरहेको छ । महिलालाई शिक्षा दिनु आजको आवश्यकता मात्र होइन, अनिवार्य छ भन्न सकिन्छ । किनकि एउटा पुरुषलाई पढायो भने एक्लैले पढेर अगाडि बढ्छ तर एउटी आमा शिक्षित भइन् भने पूरै परिवार शिक्षित हुन्छ । स्वस्थ हुन्छ । स्वस्थ नागरिकले नै देश विकास गर्न सक्छ । चारैतिर उज्यालो छर्न सक्छ । साहित्यकार, कलाकार, वैज्ञानिक, डाक्टर आदि बनेर संसारकै श्रेष्ठ नागरिक बन्न सक्छ । मेरा विचारहरू सुनिदिनुभएकोमा हजुरहरूप्रति आभार व्यक्त गर्दै यस मञ्चबाट बिदा हुन्छु । हवस् त धन्यवाद ! नमस्कार !!”

(लेखक आचार्य श्री जनता मावि, गोलबजार– ४, सिरहाका शिक्षक हुन्)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर