चियाका लागि प्रख्यात क्षेत्र हो इलाम । उत्पादनका हिसाबले मात्र नभर्इ मनोरञ्जनात्मक दृष्टिले समेत यहाँ चियाको महत्त्व ठूलो छ ।
पछिल्लो समय इलाममा चिया किन्न आउनेसँगै चियाबारीको अवलोकन गर्ने र वनभोज खानेसम्मका बाह्य तथा आन्तरिक पर्यटक भेटिन्छन् । चियाको प्रख्यात यही क्षेत्रमा पछिल्लो समय कफीको समेत व्यावसायिक खेती फस्टाउँन थालेको छ ।
‘चियाकै विकल्प (प्रतिस्थापन) का रूपमा चिनिएको कफीबाट स्थानीयवासीले लाखौं आम्दानी गर्दै आएका छन्, अन्य परम्परात खेतीभन्दा कफीखेती सजिलो भएकाले कृषकहरु यसतर्फ आकर्षित भएका हुन्’– इलाम माइजोगमाइका कफी किसान गञ्जु प्रधानले बताए ।
प्रधानले हाल वार्षिक तीनदेखि चार सय मन (एक मनमा ४० किलो हुन्छ) कफी उत्पादन गर्छन् । कफीबाट राम्रो आम्दानी हुने बुझेपछि अन्य खेतीलाई विस्थापन गरेर कफी सुरु गरेको उनको भनाइ छ । खेती मात्र नभर्इ बिक्री समेत आफैं गर्दै आएका प्रधानले गाउँघरमा कफी खेतीका बारेमा जानकारी समेत दिँदै आएका छन् ।
‘परम्परागत खेती गर्नुभन्दा कफीबाट धेरै फाइदा मिल्छ, रोपेको चारदेखि पाँच वर्षसम्ममा कफीबाट उत्पादन लिन सकिन्छ,’ प्रधानले थपे– ‘हामीले जेमा पनि दुःख नगरी त हुँदैन तर दुःख गर्दा पनि आम्दानीमूलक क्षेत्रमै गर्दा राम्रो हुन्छ ।’ उत्पादन मात्र नभर्इ इलाममै बजार समेत राम्रो भएकाले यसको खेती सुरु गरिएको किसानको भनाइ छ ।
तालिम तथा दक्ष जनशक्ति भएमा खेती गर्न सहज हुने अर्का कफी किसान दीप लामाको भनाइ छ । सूर्योदय नगरपालिकामा ‘फिक्कल टी एन्ड कफी कम्पनी’ खोलेका लामाले कफीखेती मात्र नभइर् प्रशोधन पनि गर्ने गरेका छन् । उनले यहाँ कफीको प्रशोधन गरेर काठमाडौंमा बेच्ने गरेका छन् ।
बीस वर्षअघि इलामको केही ठाउँमा कफी लगाइए पनि उत्पादनले राम्रो भाऊ नपाउँदा खेती विस्तार हुन सकेको थिएन । विश्व बजारमा नेपाली कफीको माग बढेसँगै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमको ठूलो क्षेत्रमा कफी लगाइएको चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय, बिर्तामोडका प्रमुख इन्द्र अधिकारीले बताए ।
‘नेपालको उच्च पहाडी क्षेत्रमा उत्पादन भएको कफीको माग राम्रो छ,’ अधिकारीले भने– ‘पहाडी क्षेत्रमा उत्पादन भएको कफीको गुणस्तर राम्रो हुने भएकाले माग राम्रो छ ।’ नेपालमा ‘अरविगा’ जातको कफी लगाइने गरेको छ । समुद्री सतहको ८ सयदेखि १६ सयसम्मको उचाइमा कफी राम्रो उत्पादन हुन्छ ।
प्रमुख अधिकारीका अनुसार नेपालमा ५ सय मेट्रिक टन कफी उत्पादन हुन्छ भने विश्व बजारमा यहाँको ७ हजार टन कफीको माग छ । नर्सरीबाट बगैंचामा लगाइएको तीन वर्षपछि फल्न सुरु हुने कफीको बोटबाट रोपेको ५० वर्षसम्म उत्पादन हुन्छ । एउटा बोटमा वर्षेनि ५–७ किलोसम्म कफी फल्छ । अहिले कफीको दाना प्रतिकिलो ५० देखि ८० रुपियाँसम्ममा किनबेच हुने गरेको छ ।