
जताततै–जहाँसुकै रमणीय एवं पर्यटकीय स्थलहरुले भरिपूर्ण र प्राकृतिक सुन्दरताका वैभवपूर्ण दृश्य र स्थलहरुले सजिएको देश हो हाम्रो नेपाल ।
लामो समयसम्मको कुशासन, अस्तव्यस्तता र राज्यको बागडोर समाल्नेहरुको अयोग्यता, नालायकीपन र बदनियतका कारण नेपाली जनता आजसम्मम ‘स्वर्गको बासमा नर्कको भोगाइ’ सहन बाध्य हुँदै आएका छन् ।
सधैंजसो तानातान र कुदाकुदको अस्तव्यस्त राजनीतिक जीवनका बीच केन्द्रीयस्तरका झन्डै आधा दर्जन नेताहरुले सुनकोशी नदीमा डुंगाशयरको मजा लिइरहेको एउटा भिडियो सामाजिक सञ्जालमा देखिएको छ । राजधानीबाट रामेछापको सदरमुकाम मन्थली जाने बाटोमा अवस्थित काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संगमस्थलमा पर्ने दुम्जास्थित सुनकोशी नदीको भिडियो–दृश्य हो यो ।
सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं युवानेता युवराज चौलागाईंले शेयर गरेको उक्त भिडियोमा उनीसहित सोही पार्टीका केन्द्रीय नेताहरु नारायण दाहाल, आनन्द पोखरेल, गंगा कार्की, दिलिप प्रजापति, श्रीकृष्ण अधिकारी, कमल चौंलागाईंलगायतले डुंगाशयर गरेको मनोरम दृश्य देख्न पाइन्छ ।
यो दृश्यले ‘सदुपयोग गर्न जाने कीरालाई हीरामा बदल्न सकिन्छ, नजाने हीरा समेत कीरा भैदिन्छ’ भन्ने हाम्रा पूर्खाहरुको लोकोक्तिलाई सम्झाइदिएको छ । अव्यवस्थित मानसिकता र अव्यवस्थित जीवनशैली भएका राजनीतिक नेता–कार्यकर्ताहरुले सधैंजसो ‘फुर्सद भए पो मनोरञ्जन लिनु र रिफ्रेसमेन्ट हुनु’ भन्ने गुनासो गर्ने गरेको पाइन्छ । तर, यी नेताहरु र उक्त भिडियो शेयर गर्ने युवानेताले त्यो गुनासो चिर्ने प्रयास गरेको अनुभूत हुन्छ ।