newskoseli.Com

बन्दको आह्वान गर्‍यो चन्द माओवादीले

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले जेठ २१ मेची, पश्चिम ताम्सालिङ र कर्णाली तथा जेठ २७ गते नेपाल बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।

चन्द माओवादीका प्रवक्ता प्रकाण्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द घोषणा गरिएको जानकारी गराएका हुन् । प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्– ‘हाम्रो पार्टी स्थापनाकालदेखि नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको जनवादी राजनीतिक अधिकारका निम्ति संघर्षरत पार्टी हो । यो बीचमा पार्टीको नेतृत्व र आह्वानमा नेपाली जनताले राष्ट्रियता र जनवादको पक्षमा ठूलठूला संघर्ष गर्दै आएको कुरा आम नेपाली जनतामा विदितै छ । नेपाल राष्ट्रको पूर्ण स्वाधीनता र नेपाली जनताको जनवादी राज्यव्यवस्था स्थापना नगर्दासम्म हाम्रो पार्टी निरन्तर संघर्षरत रहिरहने छ ।’

‘हाम्रो पार्टीले राष्ट्रिय अतिक्रमणकारी र राष्ट्रघाती दलाल तत्वहरुका विरुद्ध संघर्ष गर्दा, नेपाली जनताको जनवादी राजनीतिक अधिकार तथा जनजीविकाको पक्षमा संघर्ष गर्दा र देशमा डरलाग्दो रुपमा मौलाएको भ्रष्टाचार, कालोबजारी, कमिसन, कृत्रिम अभाव, आकासिँदो मूल्यवृद्धिलगायत नेपाल राष्ट्र, नेपाली जनताको राजनीतिक अधिकार र जनजीविकाको पक्षमा संघर्ष गर्दा कथित संघीय लोकतान्त्रिक गणतन्त्रका शासकहरुले हाम्रो पार्टीका नेता–कार्यकर्ता र समर्थक जनतालाई झुट्टा मुद्दामा फसाउने, गिरफ्तार गर्ने र जेल हाल्ने फासिस्ट हर्कतहरु गरिराखेका छन्’, प्रवक्ता प्रकाण्डले अगाडि उल्लेख गरेका छन्– ‘हालसम्म झापा जिल्ला पार्टी सचिव क. बाबुराम राई, जिल्ला सदस्यहरु क. चमनलाल माझी र क. पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नविन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद प्रमुख क. रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहरु क. कृष्ण खतिवडा र क. हरिशरण नेपाललाई जेलमा हालिराखेको छ । सरकारको यो निरंकुश रबैयाको पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ ।’

प्रवक्ता प्रकाण्डले विज्ञप्तिको अन्त्यमा लेखेका छन्– ‘झापा, जुम्ला र धादिङ जिल्लामा गिरफ्तार गरी जेलमा हालिएका नेता र कार्यकर्ताको विनाशर्त रिहाका निम्ति हाम्रो पार्टीले जेठ २१ गते मेची, पश्चिम ताम्सालिङ (चितवन, धादिङ, नुवाकोट, रसुवा) र कर्णाली ब्युरोहरु बन्द र जेठ २७ गते नेपाल बन्दको कार्यक्रम आयोजना गरेको छ । उक्त बन्दलाई सफल पार्न न्यायप्रेमी नेपाली जनतामा हाम्रो पार्टी हार्दिक अपिल गर्दछ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर