newskoseli.Com

हेलिकप्टरको भाडा : ‘सरकारले होइन, पार्टीले तिर्ने’

फाइल तस्बिर

पार्टीको कार्यक्रममा सहभागी हुन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रयोग गरेको सेनाको हेलिकप्टरको भाडा नेकपा हुम्लाले व्यहोर्ने जनाएको छ । नेकपा हुम्लाका अध्यक्ष लालकेस जैसीले बुधबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीसहित नेताहरू चढेको हेलिकप्टरको भाडा २ लाख ५० हजार रूपैयाँ उठेको र सो खर्च पार्टीले व्यहोर्ने जनाएका हुन् । तर, हेलिकप्टरको भाडा सरकारले पहिल्यै सेनालाई बुझाइसकेकाले पार्टीले कसलाई तिर्ने भन्ने विज्ञप्तिमा प्रस्ट छैन ।

‘पार्टी कार्यक्रममा हेलिकप्टर प्रयोग भएको भन्ने समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ– ‘इतिहासकालदेखि देश र जनताको हित र अधिकारका लागि समर्पित हाम्रो पार्टीले कुनै पनि राज्यकोषबाट खर्च नहुने गरी उक्त हेलिकप्टरवापत लाग्ने रकम २ लाख ५० हजार रूपैयाँ व्यहोर्ने जानकारी आमनागरिकलाई गराउन चाहन्छौं ।’

सुर्खेतमा आपतकालीन उद्धारका लागि प्रयोग गर्न राखिएको सेनाको हेलिकप्टर सरकारी पैसाले भाडामा लिएर मुख्यमन्त्री शाही नेकपा हुम्लाको बैठकमा आएको र दुई दिनसम्म होल्ड गरेको समाचार ९ जेठमा नयाँ पत्रिकाले प्रकाशित गरेको थियो ।

७ जेठमा मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री दल रावल, कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीसहितका नेता सिमकोट पुगेका थिए । सेनालाई अग्रिम तीन लाख रूपैयाँ बुझाएर उनीहरूले हेलिकप्टर भाडामा लिएका थिए । समाचार आएपछि जिल्ला पार्टीले बाध्य भएर खर्च व्यहोर्ने जनाएको खबर नरजन तामाङको बाइलाइनमा बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर