धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक मंगलबार फेरि ओरालो लागेको छ । सोमबार झिनो अङ्कले बढेको परिसूचक मंगलबार भने सोही लयमा घटेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.८१ विन्दुले घटेर १ हजार १ सय ३९.४५ मा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक ०.३९ ले घटेर २ सय ५०.१२ मा पुगेको छ । नेप्से झिनो अङ्कले ओरालो लागे पनि कारोबार रकममा भने आइतबार र सोमबारको तुलनात्मक सुधार देखिएको छ । मंगलबार कूल १ सय ६२ कम्पनीको १० लाख ५८ हजार ८ सय ९६ कित्ता शेयर २८ करोड ४४ लाख ७२ हजार ५ सय १ रुपैयाँ मूल्यमा खरिद–बिक्री भयो ।
क–कसकाे कति घटबढ ?
कारोबार भएका कूल १२ उपसमूहमध्ये ४ उपसमूहको शेयर उकालो लाग्दा ७ उपसमूहको शेयर भने ओरालो लागेको छ । १ उपसमूह तटस्थ देखिएको छ । स्टकका अनुसार बैङ्किङ ०.४, उत्पादन १६.५२, लघुवित्त १ र सामूहिक लगानी कोष ०.१७ अङ्कले बढ्दा व्यापार उपसमूह तटस्थ रह्यो । यस्तै, होटल ६.३९, विकास बैङ्क ०.५२, जलविद्युत् ३.२, फाइनान्स ३.५७, निर्जीवन बीमा २८.३३, अन्य ३.०५ र जीवन बीमा १४.९६ विन्दुले घटेका छन् ।
कारोबार रकमका आधारमा प्रभु बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैङ्कको शेयर ३ करोड ९४ लाख २३ हजार २४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको २ करोड ६३ लाख २० हजार, प्रभु बैङ्कको १ करोड ५६ लाख ४५ हजार ७ सय ७५, एभरेस्ट बैङ्कको १ करोड ४६ लाख ४६ हजार ४ सय ३५, नबिल बैङ्कको १ करोड २४ लाख ७४ हजार १ सय २५ र मुक्तिनाथ विकास बैङ्कको संस्थापक शेयर ९२ लाख रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार ग्लोबल आएमई सम्मुन्नत स्किम– १ का शेयरधनीले १० प्रतिशत, सिभिल लघुवित्त वित्तीय संस्थाले ५.६२, नयाँ नेपाल लघुवित्त विकास बैङ्कले ५.०७, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले ४.८२, गुडविल फाइनान्सले ४.५८ र हिमालयन डिस्टिलरीका लगानीकर्ताले ३.९९ प्रतिशतले कमाए ।
यस्तै, सिनर्जी पावरका लगानीकर्ताले १० प्रतिशत, दिव्यश्वरी हाइड्रोपावरले ५.७६, रिलायन्स फाइनान्सले ५.०४, नेसनल हाइड्रोपावर ३.७७, आँखुखोला जलविद्युत् कम्पनी ३.६३, सिर्जना फाइनान्स ३.१५ र कर्णाली डेभलपमेन्ट बैङ्कका शेयरधनीले २.९७ प्रतिशत गुमाएको खबर राससले प्रेषित गरेको छ ।